+
+

एमाले सरकारको काम जिम्मा नलिने रणनीतिमा छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १ गते १४:५८

१ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले सरकारमा भएर पनि नभएको जस्तो व्यवहार देखाएको टिप्पणी गरेका छन् ।

शनिबार नेपाली कांग्रेसको नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा थापाले एमालेले मन्त्रिपरिषदमा जुनियर मन्त्री पठाउनुका साथै सरकारको कामको पनि जिम्मा नलिएको बताए ।

‘सरकारमा उसले जुनियर मन्त्रीहरु पठाएको छ, हेर्दाखेरि मात्रै जुनियर मन्त्रीहरु पठाएको होइन । किन पठाएको हो भने सरकारमा आफू बस्नेपनि तर नागरिकको बीचमा गएर यो सरकार मेरो हो भनेर जिम्मा नलिने’, उनले भने, ‘हेर्नुस् त बजेटमा कसरी पन्छिएको ? सरकार आफ्नो छ, यो बजेट माओवादीको जस्तो देखियो । यो बजेटमा रातोरातो देखियो भनेर सर्लक्क पन्छिएको छ ।’

एमाले अबको दुई तीन वर्ष सरकारमा रहने तर सरकारको कामको जिम्मा नलिने रणनीतिमा देखिएको थापाको विश्लेषण छ । ‘अबको दुई, तीन वर्षको राजनीतिमा नेकपा एमाले सरकारमा रहिरहन चाहन्छ । सबै खेलोफड्को उसले पनि गर्छ । तर जिम्मा लिँदैन’, उनले भने ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विगतमा कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री भएको तर सरकारले राम्रो काम गर्न नसकेपछि सबै दोष कांग्रेसलाई लगाएको थापाले बताए ।

‘यो भन्दा एक वर्ष अगाडि उहाँकै प्रधानमन्त्रीत्वमा हामी सरकारमा थियौँ । त्यो बेलामा पनि राम्रो भएन तर त्यो राम्रो नभएको हिसाबकिताब उहाँले के गर्नुभयो ? उहाँले जिम्मा लगाइदिनुभयो, कांग्रेसको मानिसहरु थिए, मैले काम गर्न सकिन भनेर प्रधानमन्त्रीले पन्छाइदिएर निस्कनुभयो । त्यसैले उहाँले जिम्मा लिनुहुन्छ भन्ने पटक्कै छैन’, उनले भने ।

प्रचण्ड प्रधानमन्त्री भइरहने रणनीतिमा मात्र रहेको भन्दै थापाले किन प्रधानमन्त्री भइरहेको भन्ने जवाफ उनीसँग पनि नरहेको टिप्पणी गरे ।

‘माओवादीको प्रमुख जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको कुनै मेसो पनि छैन । किन प्रधानमन्त्री हुनुभएको भन्ने थाहा पनि छैन । के को लागि हुनुभएको हो ? के गर्ने हो ? उहाँ प्रधानमन्त्री नभए के हुन्छ अहिले ? केही पनि छैन । खेलोफड्को गर्ने, प्रधानमन्त्री यता आएपनि बन्ने । उता आएपनि बन्ने । बनिराख्ने भन्ने छ’, उनले भने ।

नयाँ राजनीतिक दलहरुको प्रवृत्ति लोकरिझ्याँइ बाहेक अरु केही नभएको भन्दै थापाले के गर्दा फेसबुक र टिकटकमा लाइक बढ्छ भन्नेतिर मात्र उनीहरुको ध्यान दिएको टिप्पणी गरे ।

‘बिहान उठेपछि सोच्ने के हुन्छ भने देशको समस्या समाधान कसरी गर्ने भन्ने होइन । आज मैले के बोल्ने होला ? आज मैले कहाँ गएर के दिने होला ? कस्तो भिडियो बनाउने होला ? त्यो गरेपछि बेलुका सुत्ने बेलामा कम्तीमा चार जना बढीले टिकटिकमा हेर्छन्’, उनले भने ।

थापाले अगाडि थपे, ‘उपप्रधानमन्त्री भएको छ, मन्त्रीहरु भएको छ, तर देशको समस्या समाधान गर्ने भन्ने होइन कि चटक गर्ने । समस्याको समाधान गर्ने होइन । खाली मानिसहरुको भावनासँग खेल्ने र सामाजिक सञ्जाल उपयोग गरेर त्यसको आधारमा मानिसहरुको दृष्टिकोण निर्माण गर्ने प्रयास गर्ने । जिम्मा लिने भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?