
१ असार, विराटनगर । काेशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३५ अर्ब २७ कराेडकाे बजेट ल्याएको छ ।
शनिबार आर्थिक मामिला तथा याेजना मन्त्री रामबहादुर मगरले चालु आर्थिक वर्षकाे भन्दा एक अर्ब कमकाे बजेट प्रदेशसभा बैठकमा प्रस्तुत गरेका हुन् ।
चालू आर्थिक वर्षका लागि कोशी सरकारले ३६ अर्ब ७४ कराेडकाे बजेट ल्याएको थियाे । प्रदेश सरकारले आगामी वर्षका लागि चालुतर्फ १४ अर्ब ४७ कराेड ३० लाख र पुँजीगत तर्फ १६ अर्ब २० कराेड र वित्तीय व्यवस्थातर्फ ४ अर्ब ५८ कराेडकाे बजेट विनियोजन गरेको छ ।
बजेटकाे स्राेततर्फ आन्तरिक आम्दानी ४ अर्ब ९८ कराेड अनुमान गरिएको छ भने बाँकी रकम संघीय सरकारको अनुदान हो ।
आगामी आर्थिक वर्षको बजेटमार्फत कोशी सरकारले कृषि उत्पादकत्व वृद्धि गर्ने, भाैतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र गरिबी निवारणलाई प्राथमिकतामा राखेको छ ।
कृषिमा व्यवसायिकरणका लागि कृषि ऋणको व्याजमा सहुलियत दिने व्यवस्था बजेटमा गरिएको छ । आगामी आर्थिक वर्षबाट कृषि अनुदान निरुत्साहित गर्ने सरकारको याेजना छ ।
कोशी सरकारले खाेरेत राेग निर्मुल गर्ने घाेषणा सरकारले गरेकाे छ । सरकारले घरेलु मदिराको ब्राण्डिङ गर्न संघीय सरकारसँग समन्वय गरेर काम गर्ने पनि मन्त्री मगरले घोषणा गरे ।
बहुबर्षीय तथा नयाँ भाैतिक पूर्वाधार विकासका लागि सरकारले १० अर्ब ५१ बजेट विनियोजन गरेकाे छ । भूमिगत सिँचाइका लागि सरकारले २० कराेड रुपैयाँ विनियोजन गरेकाे छ । विद्युतीय चार्जिङ स्टेसनका लागि ३ कराेड रुपैयाँ विनियोजन गरेको छ । सरकारले एक घर एक धाराको याेजना पनि अघि सारेकाे छ । जसका लागि एक अर्ब ३८ कराेड बजेट विनियोजन गरेकाे छ ।
प्रदेशका सबै अस्पतालबाट विशेषज्ञ सेवा दिन ६ कराेड रुपैयाँ विनियोजन भएको छ । बालबालिकाकाे उपचारका लागि सरकारले प्रदेश मातहतका अस्पतालमा मात्रै सेवा प्रवाह गर्ने घाेषणा गरेकाे छ । यसअघि केदार कार्कीले चालु आर्थिक वर्षका लागि १० वर्ष मुनिका बालबालिकाकाे उपचार निशुल्क गर्ने घाेषणा गरेका थिए ।
स्वास्थ्य क्षेत्रमा सरकारले ३ अर्ब ५८ कराेड रुपैयाँ विनियोजन गरेको छ । सरकारले सामाजिक क्षेत्रकाे विकासका लागि १ अर्ब ९८ कराेड बजेट विनियोजन गरेकाे छ ।
पढ्नुहोस् कोशीको बजेटको पूर्णपाठ
प्रतिक्रिया 4