+
+

तस्वीरमा दैलेख

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २ गते १०:३५

काठमाडौं । शब्द, दृश्य, चित्र र उत्पादनमार्फत् संघीय राजधानीसँग कर्णाली जोड्ने भन्दै काठमाडौमा ‘कनेक्टिङ कर्णाली’ अभियान सुरु गरेको छ ।

मनघरी फाउण्डेशनको अगुवाइमा सुरु भएको अभियान दश महिनासम्म जारी रहने आयोजक एवं ‘कनेक्टिङ कर्णाली’का परिकल्पनाकार भरतबन्धु थापाले बताए ।

कर्णाली प्रदेशमा १० जिल्ला छन् । १० महिनासम्म चल्ने अभियान प्रत्येक महिनाको पहिलो शनिबारबाट सुरु भई तीन दिनसम्म चल्ने छ । अभियानको सुरुवातस्वरुप खस कला, संस्कृति र सम्पदाको खानीको दैलेख जिल्लाबाट गरिएको छ ।

दैलेखको प्रदर्शनी काठमाडौंको नयाँबानेश्वरस्थित एनबी सेन्टरमा असार १ गते शनिबारदेखि जारी छ । सोमबारसम्म चल्ने प्रदर्शनीमा ३२ वटा फोटो तथा ५ वटा भिडियोहरू हेर्न पाइन्छ ।

साथै, कर्णालीको उत्पादनसँग सम्बन्धित मार्सी चामल, सिमी, कोदो, फापरको पिठो, कपडा, राउटे समुदायबाट उत्पादित सामग्रीहरूलाई पनि प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा राखिएका अधिकांश तस्वीर आयोजक र विशाल सुनारले कैद गरेका हुन् । एउटा तस्विर हरिहरसिंह राठौरले कैद गरेका हुन् ।

भिडियोहरुमा दैलेखको सँस्कृति, सम्पदा, प्रकृति, सावर र पेट्रोलियम पदार्थ अन्वेषणसँग सम्बन्धित छन् ।

दैलेख जिल्लाको कार्यक्रमको सोसेक नेपाल, दैलेखी सेवा समाजको प्रवद्र्धनमा सुरु गरिएको हो ।

ज्वाला

भैरवी गाउँपालिकाको १ रावतकोटमा अवस्थित यो मन्दिर शिरस्थान खोलाको नजिकै बलिरहेको ज्वाला । श्रीस्वस्थानी व्रतकथा अनुसार महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर यत्रतत्र घुम्ने क्रममा यस क्षेत्रमा आइपुग्दा सतीदेवीको शीर पतन भएकाले यस स्थानलाई शीरस्थान भनेर पुज्न थालिएको धार्मिक कथन छ ।

गमौडीको मन्दिर

दुल्लु नगरपालिकाको वडा नं. १० गमौडीमा अवस्थित यो मन्दिर नाभीस्थान खोला नजिकै छ । स्वस्थानी व्रतकथा अनुसार यो स्थानमा सतीदेवीको नाभी पतन भएको विश्वास गरिन्छ । शीरस्थानमा जस्तै नाभीस्थानमा दुई वटा ज्वाला छन्

दुल्लु नगरपालिकाको वडा नं ८ बडलम्जीमा अवस्थित तेह्रौं शताब्दीमा निर्माण गरिएको धुलेश्वर मन्दिर परिसरमा भक्तजनहरु ।

पादुका र मूर्ति

दुल्लु नगरपालिकाको वडा नं. १० पादुकमा अवस्थित पादुकामा मूर्तिहरु छन् । यी मूर्ति चौधौ शताब्दीका भएको बताइन्छ । यो स्थानमा सतीदेवीको पाउ खसेको जनविश्वास छ । यस क्षेत्रमा केही दशक अघिसम्म अनवरतरुपमा ज्वाला बल्ने गर्दथ्यो । पादुका खोलाको बाढी पसेपछि यो क्षेत्रमा ज्वाला बलेको छैन ।

सिद्धेश्वर महादेव

दुल्लु नगरपालिकाको वडा नं. १ नाउले कटुवालमा अवस्थित कर्णाली राजमार्गसँगै जोडिएको सिद्धेश्वर महादेव मन्दिर । कर्णाली नदी र लोहेर नदीको संगम स्थलमा रहेको यो मन्दिर बाहेक कालिका भगवती, गणेश, भैरव कालसैनी, बटुक भैरव लगायत विभिन्न देवीदेवताको मन्दिर छन् ।

मन्दिर परिसरमा रहेको धुनी घरमा नाभिस्थान ज्वालाबाट अग्नी ल्याई धुनि प्रज्ज्वली गर्ने चलन छ । यदि धुनी निभेमा यस क्षेत्रमा अनिष्ट हुने, खडेरी पर्ने तथा अनिकाल र भोकमारी हुने जनविश्वास रहेको छ । दैलेख सदरमुकामबाट ६ घण्टा पैदल दुरीमा रहेको यो स्थानमा सवारी साधनबाट करिब साढे एक घण्टामा पुगिन्छ । यो मन्दिरको पुजारी कुमार हुने गर्दछन् ।

बाइस देवल 

नारायण नगरपालिका वडा नं ७ भुर्तिमा रहेको बाइस देवललाई विश्व सम्पदा सूचीकृत गर्न सन् २००८ जनवरी ३० देखि क वर्गमा राखिएको छ । यी देवलहरु चौधौ र पन्ध्रौं शताब्दीतिरको कर्णाली प्रदेशका खस मल्ल राज्यकालीन समयमा निर्माण गरिएको बताइन्छ ।

विगतमा यस स्थानमा २५ वटा देवल रहे पनि उचित संरक्षण नहुँदा अहिले २२ वटा मात्र छन् । सदरमुकामबाट पैदल २० मिनेटमा यो स्थानमा पुग्न सकिन्छ ।

दैलेखमा निर्माण भएको पुरानो डिजाइनको नौमुखे घर ।

कोतगढी

नारायण नगरपालिका वडा नं.१ मा पर्ने पुरानो बजारमा विशाल ढुगाहरुले कलात्मक ढंगले निर्माण गरिएकोे कोतगढी । गढीको किल्ला भित्र पहिले दुईवटा घर सहित हात हतियारहरु थिए ।

यो गढी विक्रम सम्वत १८४६ तिर बहादुर शाहको नायबीकालमा गोरखाली सेनाले निर्माण गरेका हुन् । यो गढीको स्वामित्व हाल नेपाली सेनामा रहे पनि उचित संरक्षण तथा हेरचाह हुन नसकेको स्थानीय बताउँछन् ।

महाबु

नौमुले गाउँपालिका दैलेख र कालीकोट जिल्लाको महाबै गाउँपालिकाको संगमस्थल हो महाबु । दैलेख जिल्लाको सबैभन्दा उच्च स्थान ४ हजार १ सय ६८ मिटर उचाइमा अवस्थित यो धार्मिक हिसाबले पनि प्रख्यात छ । यस स्थानबाट भेरी र कर्णाली जिल्लाका अधिकांश स्थान देख्न पनि सकिन्छ ।

दैलेखमा सावर बनाउँदै ।
गुराँस गाउँपालिकाको गुराँसेबाट देखिएको सैपाल हिमश्रृखला ।
महाबुम्हाबु गाउँपालिकामा अवस्थित रानी झरना ।
रोपाई गर्नु अघि पञ्चेबाजा बजाउँदै दैलेखी । यस्तो प्रचलन विस्तारै हराउँदै गएको छ ।
भोसो सँस्कृति
आठविस नगरपालिका बेलतडीबाट देखिएको दृश्य ।
दामुपालको अभिलेख : दामुपालको स्तम्भलाई नेपाली भाषामा लेखिएको पहिलो अभिलेख भन्ने गरिन्छ । यो दुल्लु नगरपालिकाको वडा नं. ७ पटाङगिनीमा अवस्थित छ ।

राउटे जाति

राउटे जाति खस आर्य समुदायअन्तर्गत पिछडिएको लोपोन्मुख आदिवासी जाति हो । दैलेख, सुर्खेत र सल्यान तथा आसपासका जिल्लाका जंगल क्षेत्रमा फिरन्ते जीवन बिताउने राउटेहरुले खस भाषा बोल्दछन् भने आधुनिक नेपाली भाषा पनि राम्रोसँग बोल्न र बुझ्न सक्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?