+
+

धनुषामा बेपत्ता भएकी रुबीको श्रीमानले हत्या गरेको पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २ गते १२:१३

२ असार, जनकपुरधाम । धनुषाको महेन्द्रनगरबाट जेठ २६ गतेदेखि  बेपत्ता भएकी महिलाको शव फेला परेको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ सखुवा महेन्द्रनगरकी २८  वर्षीया रुबी यादवको शव शनिबार राति मिथिला नगरपालिका-६ औरहीस्थित सामुदायिक वनको खोल्सामा फेला परेको हो ।

रुबीको हत्या श्रीमान् राजु यादवले गरेको पुष्टि भएको छ । श्रीमतीलाई बेपत्ता पारेको शङ्कामा राजुलाई इलाका प्रहरी कार्यालय सखुवाले गत बिहीबार नै नियन्त्रणमा लिएको थियो ।

राजुकै बयानको आधारमा शव फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले बताए । उनका अनुसार राजुले हत्या गरेको स्वीकार गरिसकेका छन् ।

जेठ २६ बिहानदेखि रुबी बेपत्ता भएपछि भोलिपल्ट माइतपक्षले प्रहरीमा उजुरी दिएका थिए । त्यही दिन बिहानै राजुले औरही बाबाको दर्शन गर्न भनी श्रीमती रुबीलाई लगेर हत्या गरेको प्रहरी निरीक्षक साहले बताए ।

रुबीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

राजु केही महिनाअघि वैदेशिक रोजगारबाट फर्किएका थिए । त्यसपछि पारिवारिक विवाद भएको थियो ।

रुबीका भाइ महोत्तरीको बर्दिवास नगरपालिका-९ का अनित यादवका अनुसार विवादको क्रममा  राजुले  रुबीलाई कुटपिट तथा यातना दिने गरेका थिए ।

बेपत्ता हुनुभन्दा पाँच दिनअघि निर्घात कुटपिट गरेपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा छलफल भएको थियो ।

माइत पक्षले दिएको कर्तव्य ज्यानको जाहेरीको आधारमा राजुमाथि कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ ।

रुबीका ६ वर्षीय छोरा अस्मित यादव छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?