+
+

दयाहाङको प्रशंसा गर्दै अर्थमन्त्रीले भने- हामी मगरको घरज्वाइँ बन्नुभएको छ, शुभकामना छ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २ गते १३:१७

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘घरज्वाइँ’ले काठमाडौंको टुँडिखेलबाट प्रवर्द्धन अभियान थालेको छ । असार १ गतेदेखि टुँडिखेलमा सुरु भएको मगर समुदायको मुख्य पर्व भूमेको अवसर पारेर फिल्मको प्रचार थालिएको निर्माता जनक घर्तीले बताए ।

अनिल बुढा निर्देशित फिल्मले मगर सुमदायमा विद्यमान घरज्वाइँ संस्कृतिको कथा पेश गर्छ । भूमे पर्वको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन अर्थमन्त्री वर्षमान पुनले गरेका थिए ।

समारोहमा अर्थमन्त्री पुनले फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । ‘आज आफ्नै अगाडि दयाहाङ र मिरुनालाई देख्दा खुसी लागेको छ । दुवै भर्सटायल कलाकार भएकाले सफलताको कामना गर्छु,’ उनले भने ।

अर्थमन्त्री पुनले भने, ‘केही समयअघि दयाहाङजी जारी सिनेमामा लिम्बू समुदायको प्रतिनिधि पात्र भएर मिरुनाजीलाई तान्दै हुनुहुन्थ्यो । अहिले हामी मगर समुदायको घरज्वाइँ बन्नु भएको छ । आगामी दिनमा हरेक नेपाली समाजलाई जोड्ने सिनेमामा अभिनय गर्दै जानु होला मेरो शुभकामना छ ।’

सोही कार्यक्रममा सहभागी हुन ‘घरज्वाइँ’ टिमका तर्फबाट कलाकार दयाहाङ राई, मिरुना मगर, शिशिर बाङ्देल, भोलाराज सापकोटा लगायत टुँडिखेल पुगेका थिए ।

दयाहाङले नेपाल बहुल जाति र भाषिक देश भएकाले एकअर्काको संस्कार र संस्कृति बुझ्न जरुरी भएको बताए । आफू भोजपुरमा जन्मिएको राईको छोरो भएपनि पूर्वी रुकुमको मगर युवाको चरित्रमा फिल्म खेल्न पाएको र आफूले यो पात्रलाई न्याय दिन दिलोज्यानले लागेको बताए ।

मिरुनाले आफू सानैमा विदेश गएकाले पनि मगर संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्न नपाएको तर घरज्वाइँले यो अवसर दिलाएको उनले बताइन् । आफू पूर्वेली मगर भएकाले पनि पश्चिमको संस्कार र संस्कतिको बारेमा बुझ्ने इच्छा रहेको उनले बताइन् ।

जीएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैंले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

यो फिल्ममा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन, राज थापा, कविता आले, शिला आले, अनु थापा, विना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगरले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?