+
+

सुदूरपश्चिमका अर्थमन्त्री भन्छन् : बजेट विगतको भन्दा राम्रो र सन्तुलित छ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २ गते १४:१५
सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पाल ।

२ असार, धनगढी । सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट विगतको भन्दा राम्रो र सन्तुलित भएको बताएका छन् ।

आइतबार आर्थिक मामिला मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पालले बजेटमा विगतमा भन्दा सुधार गरेको दाबी गरे ।

‘मैले मन्त्रालयको जिम्मेवारी पाएको छोटो समयमा बजेट ल्याउनुपर्ने अवस्था थियो । प्रदेशका ९ वटा जिल्ला, क्षेत्र र भूगोललाई समेटेर समाानुपातिक हिसाबले बजेट ल्याएका छौं’, पालले भने, ‘यो बजेट पहिले भन्दा राम्रो हो कि भन्ने लागेको छ ।’

उनले कानुनी हिसाबले नमिल्ने, दोहोरो भएका बाहेक विषयगत मन्त्रालयहरुले सिफारिस गरे अनुसारकै योजना र कार्यक्रम बजेटमा राखिएको बताए ।

खर्च व्यहोर्ने स्रोतमा आन्तरिक आय धेरै नभएका कारण अनुदानकै भर पर्नुपर्ने अवस्थाले बजेट कार्यान्वयन भने चुनौतीपूर्ण रहेको उनले स्वीकार गरे ।

मन्त्री पालले शनिबार आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए ।

चालु वर्षको बजेट खर्चको अवस्था सन्तोषजनक नरहेका बेला झण्डै साढे २ अर्बले आकार बढाएर सरकारले बजेट ल्याएको हो ।

खर्च नहुने तर बजेटको आकार वृद्धि भइरहने प्रवृत्तिलाई आगामी वर्षदेखि निरुत्साहित गर्ने दाबी अर्थमन्त्री पालको छ । प्रदेश सभाबाट बजेट पारित भएपछि साउनदेखि ठेक्का बन्दोबस्त अघि बढाउने उनले बताए ।

‘हामी साउनदेखि खरिद प्रक्रिया थालेर असोज मसान्तभित्र ठेक्का बन्दोबस्त गर्छौं’, मन्त्री पालले भने, ‘त्यसकारण विगतमा जस्तो ढिलासुस्ती हुँदैन । बजेट कार्यान्वयनमा जोड दिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?