+
+

सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २ गते १४:१५

काठमाडौं । साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार प्रतीक्षासँगै लेखक एवं पत्रकार घनश्याम खड्का र लेखक सगुना शाहले पुस्तक लोकार्पण गरे ।

पुस्तकमाथि टिप्पणी गर्दै लेखक सगुना शाहले ‘स्व’ स्वअस्तित्वको खोजको कथा भएको बताइन् । ‘जब सप्तमले आफूलाई चिन्नलाई कोसिस गर्छ, तब उसले त्यसलाई आफ्नो अस्तित्वसँग जोडेर त्यसैको खोजीमा लागेको छ,’ उपन्यासको मुख्य पात्र सप्तमबारे टिप्पणी गर्दै उनले थपिन्, ‘बौद्ध-दर्शन र त्यसको संवरणलाई सरस्वतीजीले सप्तममार्फत उतार्नुभएको छ । बहुरुपी सप्तमको यात्रा रोचक र चित्ताकर्षक छ । कलात्मक भाषाशैली र कथावाचनले उपन्यास उच्चकोटीको बनेको छ ।’

लेखक तथा पत्रकार घनश्याम खड्काले मानिसका प्रयत्न खुसीको खोजी भएको र आफैंभित्रको यात्राबाट मात्रै त्यो सम्भव भएको बताए । ‘त्यही यात्राको खोजका निम्ति सप्तमको मनोविज्ञानलाई चित्रांकन गर्दै सरस्वतीजीले सुन्दर उपन्यास सिर्जना गर्नुभएको छ,’ उनले भने, ‘बौद्ध दर्शनको मार्गमा पात्रको मनस्थितिलाई विभिन्न तहहरूमा बुन्दै यति सुन्दर उपन्यास लेख्नु जीवनभित्रको दर्शन पनि हो । जीवनको फराकिलो फलकमा लेखिएको एक सुन्दर कृति नेपाली पाठकले पाएका छन् ।’

सात वर्षको समयावधिमा उपन्यास लेखिसकेको र आफ्नो अध्ययन, अनुभव र ज्ञानलाई उपन्यासमा चित्रण गर्ने कोसिस गरेको लेखक सरस्वती प्रतीक्षाले बताइन् । ‘यसमा समाज छ, दर्शन छ र चिन्तन पनि छ । शिल्पमा स्वेरकल्पनाको प्रयोग गरेकी छु,’ उनले भनिन् ।

सात वर्षअघि प्रकाशित ‘नथिया’ उपन्यासबाट पाठक र समीक्षकको राम्रो प्रतिक्रिया पाएकी सरस्वती प्रतीक्षाको यो दोस्रो उपन्यास हो । बुकहिल पब्लिकेसनले प्रकाशन गरेको २९६ पृष्ठको ‘स्व’को मूल्य ५९९ रुपैयाँ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?