+

अष्ट्रेलियाले एकै इनिङमा छाडेको ६ क्याच

२०८१ असार  २ गते १८:०३ २०८१ असार २ गते १८:०३
अष्ट्रेलियाले एकै इनिङमा छाडेको ६ क्याच

२ असार, काठमाडौं । स्कटल्याण्ड झण्डै झण्डै इतिहास रच्ने क्षणनजिक थियो । अष्ट्रेलियाको प्रदर्शन निराशाजनक थियो र उसलाई अन्तिम ७ ओभरमा प्रतिओभर १३ रन चाहिएको थियो ।

तर मार्कस स्टोइनिसले ट्राभिस हेड र पछि टिम डेभिडको मद्दतमा स्कटल्याण्डको टी–२० विश्वकपको सुपर ८ मा पुग्ने सपना चकनाचुर पारिदिए । यो नतिजाले इंग्ल्याण्डले सुपर ८ मा स्थान बनायो ।

१८१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले तेस्रो विकेटका रुपमा ग्लेन म्याक्सवेललाई गुमाउँदा टिमको स्कोर ८.२ ओभरमा ६० रन थियो । तर स्टोइनिसले आएर आक्रामक पारी खेले । १५औं ओभरको अन्तिम बलमा हेडले अर्धशतक पूरा गरे ।

लगत्तै स्टोइनिसले मात्र २५ बलमा ५० रन बनाए । व्यक्तिगत ५९ रनमा आउट हुँदा अष्ट्रेलियाको स्कोर १५५ रन थियो । बाँकी १८ बलमा २६ रन चाहिएको थियो, टिम डेभिडले आक्रामक पारी खेलेपछि अष्ट्रेलियाले अन्तिम २ बल बाँकी छँदा लक्ष्य भेट्टायो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ब्रेन्डन म्याकलमको ६० रनको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८० रन बनाएको थियो ।

फिल्डिङमा अष्ट्रेलिया अस्वभाविक रुपमा कमजोर देखिएको थियो, उसले ६ वटा क्याच मिस गर्‍यो । क्रिकइन्फोको डेटाअनुसार यो कुनै पनि टी–२० विश्वकपमा भएको सबभन्दा धेरे क्याच ड्रप हो ।

खेलमा एउटा समय त यस्तो आयो, लगातार तीन बलमा अष्ट्रेलियालाई विकेट लिने अवसर थियो । तर सबै खेर फाल्यो । पूर्व अष्ट्रेलियन क्रिकेटर एरोन फिन्चले ६ क्याच ड्रपलाई अस्वभाविक लापरवाहीको संज्ञा दिएका छन् ।

ड्रप १ : मार्स

चौथो ओभरको दोस्रो बलमा जर्ज मुन्सेले मिचेल स्टार्कको ‘हाफ भली’लाई वाइड मिडअफतर्फ अगाडि बढाए । मार्स उफ्रिए, तर ठीक समयमा उफ्रन सकेनन् । त्यतिबेला मुन्से आठ बलमा दुई रनमा ब्याटिङ गरिरहेका थिए ।

ड्रप २ : हेड

चार बलपछि ट्राभिस हेडले केही कठिन जस्तो देखिने मौका गुमाए । म्याकमुलेनले स्टार्कको दायाँतर्फ बल प्रहार गरे । हेडले डाइभ गरेर दुवै हातले बल छोए, तर समाउन सकेनन् । यतिबेला म्याकमुलेन २४ बलमा ४८ रन जोड्न सफल भए ।

ड्रप ३ : मार्स

रिची बेरिङ्टन ब्याट्सम्यानका रूपमा आए । यसपटक ग्लेन म्याक्सवेलको बलिङमा मार्स फेरि एकपटक क्याचका लागि उफ्रिएका थिए, तर बल औंलाले मात्रै छुन सके । यो बेला बेरिङ्टनले ३५ बलमा ३८ रन बनाए ।

ड्रप ४ : जाम्पा

१४ औं ओभरको अन्तिम बलमा म्याथ्यू क्रसले स्टार्कको बाउन्सलाई लङ सर्ट प्रहार गरे । एडम जाम्पाले बलको गति अनुमान नै लगाउन सकेनन् र छक्का हुन पुग्यो ।

ड्रप ५ : मार्स

मार्सले १५ औं ओभरको पहिलो बलमा तेस्रो क्याच छोडे । बेरिङ्टनले खेलेको अनियन्त्रित सटलाई रोक्न मार्सले अगाडि डाइभ गरे, तर बललाई थाम्न सकेनन् । बरु उनको औंलामा चोट भने लाग्यो ।

ड्रप ६ : वेड

मार्सको तेस्रो ड्रप पछिको अर्को बलमा म्याथ्यु वेडले स्टम्पको पछाडि कठिन मौका पाए । बल विकेटकिपरतर्फ स्वीप गर्न सफल भए पनि विकेट लिन भने सकेनन् ।

अष्ट्रेलिया क्रिकेट स्कटल्याण्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय