+
+

जोखिमपूर्ण क्षेत्रमा खटिएका सैनिकलाई भत्ता दिन रक्षा मन्त्रालयको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २ गते १९:३२
फाइल तस्वीर

२ असार, काठमाडौं । जोखिमपूर्ण क्षेत्रमा सडक निर्माण खटिएका सैनिकका लागि दैनिक भत्ता दिन रक्षा मन्त्रालयले अर्थ मन्त्रालयसँग प्रस्ताव गरेको छ ।

कठिन भौगोलिक क्षेत्रमा खटिएका सैनिकका लागि पहिले दैनिक प्रोत्साहन भत्ताको व्यवस्था भए पनि २०७८ सालमा खारेज भएको थियो ।

तर कठिन ठाउँमा सडक निर्माणका ज्यानै जोखिममा राखेर काम गर्नुपर्ने भएकाले दैनिक भत्ताका लागि प्रस्ताव गरिएको रक्षामन्त्री हरि उप्रेतीले बताए ।

उनका अनुसार कतिपय अवस्थामा सडक निर्माणमा खटिएका सैनिकको झरेर पनि मृत्यु भएकाले त्यस्तो भत्ता मानवीय हिसाबले पनि काट्न मिल्दैन भन्ने निष्कर्षसहित फेरि सुरु गर्न पहल गरिएको हो ।

मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यका अनुसार प्रतिदिन दुई सय रुपैयाँ भत्ता दिन प्रस्ताव गरिएको हो ।

‘विकट ठाउँमा डोरीमा बाँधिएर सैनिक जवानहरू काम गरेका छन्, त्यसैले उहाँहरूको प्रोत्साहनका लागि जोखिम भत्ता दिनुपर्छ भन्ने मन्त्रालयको प्रस्ताव हो,’ उनले भने ।

नेपाली सेनाको टोली अहिले तराई–मधेश द्रुतमार्गबाहेक दुर्गम पहाडी जिल्लाको करिडोर सडक निर्माणमा पनि खटिएको छ । कर्णाली, कोशी करिडोरसँगै गोरखामा बेनिघाट–आरुघाट सडक र दार्चुला–तिंकर सडकखण्ड निर्माणमा सैनिक जवानहरू खटिएका छन् ।

सैनिक प्रवक्ता गौरवकुमार केसी रोकिएको जोखिम भत्ता फेरि सुरु गराउनुपर्ने विषयमा संसद्को राज्य व्यवस्था सुशासन समितिमा पनि प्रश्न उठेको थियो ।

‘यो फास्ट ट्याकमा खटिएकालाई दिने भन्ने होइन कि एकदमै विकट स्थानमा खटिएकालाई दिने भन्ने हो,’ उनले भने, ‘विभिन्न समितिले स्थलगत अध्ययन पनि गरेको थियो । त्यसको आधारमा फेरि जोखिम भत्ता दिने छलफल भएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?