+
+
छोरीका लागि न्याय खोज्दै काठमाडौं आएकी ललिता :

‘त्यो दिनदेखि आफैं मरे झैं छु’

‘साथीहरूलाई त्यो केटाले एकदमै हैरान बनाएको छ, शुक्रबार घर गएर आमालाई भनिदिन्छु भनेकी रै’छ । शुक्रबार कहाँ हुन पायो त ?’

विकास रोकामगर विकास रोकामगर
२०८१ असार ३ गते १८:३०
ललिता थारू । तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

३ असार, काठमाडौं । कोहलपुर, रझेनाकी ललिता थारू आफ्नो गाउँ छोडेर कुनै दिन काठमाडौं पुग्छु भन्ने सोचेकै थिइनन् । उनका लागि शहर, बजार र राजधानी भनेकै घरबाट करिब १६/१७ किलोमिटर टाढा रहेको नेपालगञ्ज थियो ।

तर कहिल्यै नचिताएको पीडा आइलागेपछि काठमाडौं आएकी छन् । १२ दिनदेखि माइतीघरको सडकमा ‘न्याय’ पर्खिरहेकी छन् ।

नेपालगञ्जमै पनि ललिता छोरीका लागि न्याय माग्दै अनशन नबसेकी होइनन् । जेठ महिनाको उखरमाउलो गर्मीमा उनी बेहोस पनि भइन् । ‘त्यो गर्मीले गर्दा एकदमै कमजोर पनि भइसक्या थिएँ । बेहोस पनि भएँ, कसैले सुनेनन्’ उनी भन्छिन्, ‘त्यसपछि २३ गते काठमाडौं आएकी हुँ ।’

नेपालगञ्जमा एक हप्ता अनशन बस्दा पनि प्रशासनबाट कुनै प्रतिक्रिया नपाएपछि काठमाडौं छिरेकी ललितालाई विश्वास छ, ‘काठमान्डूमा सर्खार बस्छ । सर्खारले न्याय दिला ।’

०००

छोरा निरेन र छोरी सुमदरानी गरी २ सन्तान थिए, ललिताका । नेपालगञ्जमा भाइ निरेन थारुसँग बसेर ललिता ब्याचलर पढ्दै थिइन् । ०८० वैशाखमा दिदीभाइ बिदा मान्न घर आए ।

घरिघरि फोन गरिराख्नुपर्ने भएकाले घर आएको बेला सुमदरानी र भाइ निरेन मिलेर घरमा वाइफाई जोडे । टीभी पनि हेर्न मिल्ने र फोनमा भिडियो कल गर्न मिल्ने भनेर वाइफाई जोडेको उनी बताउँछिन् ।

‘मसँग सानो फोनमात्रै थियो । टचवाला फोन किनेपछि भिडियो कल गर्न पाइन्छ, फोनमा जस्तो पैसा पनि काट्दैन भनेका थिए’, ललिताले भनिन्, ‘खै छोरीसँग भिडियो कल कहाँ गर्न पाइयो र ?’

५ दिन बसेर ०८० वैशाख २७ गते सुमदरानी नेपालगञ्ज डेरा फर्किइन्, उनलाई छोड्न भाइ पनि सँगै आएका थिए । ललिताका अनुसार निरेन आफ्नी दिदीलाई छोडेर त्यही दिन रझेना फर्किएका थिए । ललिताले भनिन्, ‘अझै केही दिन बस् भन्याथें । पढ्नुपर्छ भनेर ऊ गइहाली ।’

सुमदरानी प्रत्येक बिहान आमालाई फोन गर्थिन् । छोरीको फोनसँगै उनको दिनचर्चा सुरु हुन्थ्यो ।

साँझ पनि फोनमा कुराकानी हुन्थ्यो । २७ गते साँझ पनि आमाछोरीको कुराकानी भएको थियो ।

तर २८ गते बिहान ललितालाई छोरी सुमदरानीको फोन आएन । ललिता आफ्नै नियमित सुसेधन्धामै लागिन् । आधा दिन बितिसक्दा पनि छोरीले नसम्झिएपछि उनले आफैं फोन गरिन्, लागेन । फेरि गरिन्, फेरि लागेन ।

ललिताकी छोरी सुमदरानी ।

छोरा निरेन र श्रीमानले ‘काम विशेषले व्यस्त भएको होला’ भनेर सम्झाइरहेका थिए । तर आमाको मन कहाँ मान्थ्यो र !

उनी फोन गर्न छोडेकी थिइनन् । छोरीको फोन नलागेपछि नजिकै बस्ने छोरीको साथीलाई फोन गरेर सोधिन् ।

‘सुरुमा त कोठामा छैन आएपछि फोन गर्न भन्छु भनेर राख्नुभो । फोन नआएपछि मैले नै फोन गरेर सोधें’, ललिताले भनिन्, ‘त्योबेला उहाँले झर्केर कति फोन गरेको, आएपछि म भन्दिहाल्छु नि भन्नुभयो ।’

साँझसम्म पनि फोन नआएपछि उनी केही आत्तिइन् । छोरीको पीरले त्यो दिन ललिताको भान्सामा खाना पाकेन । ‘त्यस्तो त कहिल्यै भएको थिएन । कताकता फोन गर्दा पनि कसैले पनि देखेको भनेनन्’, भन्छिन्, ‘त्यो रात त सुत्नै सकिनँ । घरमा खाना पनि कसैले पकाएनौं, भोकै बस्यौं ।’

भोलिपल्ट, ०८० वैशाख २९ गते बिहानै ललिता छोरा निरेनलाई लिएर छोरीको डेरातिर लागे ।

नेपालगञ्जस्थित छोरीको डेरामा पुग्दा बाहिरबाटै चाबी लागेको थियो । निरेनले आफूसँग भएको चाबीले ढोका खोले । ‘कोठा पूरै अँध्यारो थियो । सबै झ्याल खोलेर छोरो खाटमा बस्यो’, उनी भक्कानिइन्, ‘सिरकले छोपेर राखेको रैछ । त्यहाँ पूरै रगतैरगत थियो ।’

सुमदरानीको उनकै कोठामा विभत्स हत्या भइसकेको थियो ।

आफ्नी छोरीलाई बर्दियाका शैलेन्द्र चौधरीले बलात्कारपछि हत्या गरेको ललिताको दाबी छ ।

शैलेन्द्र, ललिता र निरेन दुवैका साथी थिए । उनले छोरीलाई पहिलेदेखि नै पछ्याइरहेको र उक्त दिन एक्लै देखेर ‘नराम्रो’ गरेको ललिता बताउँछिन् । भन्छिन्, ‘साथीहरुलाई त्यो केटाले एकदमै हैरान बनाएको छ, शुक्रबार घर गएर आमालाई भनिदिन्छु भनेकी रैछ । शुक्रबार कहाँ हुन पायो त ?’

शैलेन्द्र चौधरीले सुमदरानीको बलात्कारपछि हत्या गरेको भन्दै भाइ निरेनले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

सुमदरानीकी माइजू संगीता चौधरीका अनुसार हत्यापछि शैलेन्द्रले आफ्नो लुगा, हेलमेट त्यहीं छोडेर भागोक थिए । ‘आफ्नो रगत लागेको कपडा छोडेर निरेनको कपडा लगाएर गएको छ’, उनले भनिन् ।

०००

०८० वैशाख २८ मा मारिएकी छोरी सुमदरानीका लागि ललिताले कतिमात्रै गरिनन् ? यो एक वर्षभित्र कति पटकचाहिँ प्रहरी चौकी धाइनन् होला ? कति रात आरामले निदाइन् होला ?

पछिल्लो समय त उनको बास नै जिल्ला प्रहरी कार्यालय परिसरमा हुन थालेको थियो । तर, न्यायको अनुभूति पाउन सकेकी छैनन् ।

नेपालगञ्ज प्रहरीकहाँ एक वर्ष धाउँदा पनि न्याय नभएपछि उनी अहिले राष्ट्रिय महिला अधिकार मञ्चको सहयोगमा काठमाडौं आएकी हुन् । ‘हप्तामै ३/४ दिन त आमाजू चौकीमै जानुहुन्छ । कसैलाई समात्नुभयो ? बयान लिनुभो भनेर मात्रै सोध्नुहुन्छ’, ललितासँगै काठमाडौं आएकी सुमदरानीकी माइजू संगीता चौधरीले भनिन्, ‘पुलिसले नआइज भनेर गाली गर्दा पनि मान्नुभएन ।’

प्रहरीमा पुगेर सोधपुछ गर्दा मुद्दा टुंगिन १०/१५ वर्षसम्म लाग्ने बताएपछि आफू झन् अत्तालिएको ललिता बताउँछिन् । ‘छोरी मरेको दिनदेखि नै मरेको जस्तै छु । अब यो १०/१५ वर्ष त म आफैं बाँच्छु कि बाँच्दिनँ’, उनले भनिन्, ‘काठमाडौं आएपछि त न्याय पाइएला नि !’

गृहमन्त्री रवि लामिछानेबारे काठमाडौं आएपछि थाहा पाएको र उनले न्याय दिनेमा आशा बढेको ललिताले बताइन् । ‘पढालिखा भएको भए थाहा हुन्थ्यो । उहाँ (गृहमन्त्री)बारे पनि यहीं आएर थाहा पाएको हो । सबैलाई न्याय दिन्छु भन्ने गरेको सुनेको छु, मलाई पनि दिनुहुन्छ होला !’ उनले भनिन् ।

पहिचान भइसक्यो, खोज्दैछौं : प्रहरी

जिल्ला प्रहरी कार्यालय बाँके प्रमुख एसपी तुलबहादुर कार्कीले सुमदरानी हत्या प्रकरणका अनुसन्धान सकेर मुद्दा दर्ता भइसकेको बताए । घटनाका मुख्य आरोपी पहिचान भइसकेको तर, नेपालमा नरहेकाले पक्राउ गर्न नसकिएको जानकारी दिए ।

उनका अनुसार शैलेन्द्र चौधरीको मोबाइल ६ महिनाअगाडि भारतको गोवामा ‘लोकेट’ भएको थियो । ‘अहिले त्यो मोबाइल अहिले कतै प्रयोग भएको देखिन्न’ उनले भने, ‘नेपालमा भएको भए पक्राउ गर्न सजिलो हुन्थ्यो । उसले आफ्नो सबै डकुमेन्ट यतै छोडेर गएकाले पनि समस्या भएको हो ।’

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?