+
+

एक दर्जन बढी मौसमजन्य विपदका घटनाको पूर्वसूचना प्रवाहको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ४ गते ९:१५

४ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अब एक दर्जन बढी मौसमजन्य विपदका घटनाको पूर्वसूचना एसएमएसमार्फत् प्रवाह गर्ने तयारी गरेको छ ।

यसअघि बाढीको मात्र पूर्वसूचना जारी गर्दै आएको विभागले अब बहुप्रकोप सम्बन्धी पूर्वसूचना निःशुल्क प्रवाह गर्ने तयारी गरेको हो । त्यस सम्बन्धमा नेपाल टेलिकम र एनसेलसँग विभागले छुट्टाछुट्टै समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले यसअघि बाढीको मात्र पूर्वसूचना दिने गरिएकोमा अबदेखि बाढीसँगै आकस्मिक बाढी, वर्षा, पहिरो, चट्याङ, हिमताल विष्फोटन, हिमपहिरो, हिमपात/हिमआँधी, डढेलो, तातो हावाको लहर (लु), शीतलहर, वायु प्रदूषण, घुम्रपात र हावाहुरीको पनि पूर्वसूचना उपलब्ध गराइने जानकारी दिए ।

जोखिम क्षेत्रमा जनधनको क्षति हुनबाट जोगाउने उद्देश्यले मौसमजन्य प्राकृतिक प्रकोप सुरु हुनुभन्दा अगाडि नै पूर्वसूचना प्रवाह गर्ने विश्वव्यापी प्रचलन छ ।

पूर्वसूचना नपाएकै कारण कसैले पनि जनधनको क्षति व्यहोर्नु नपरोस् भनेर संयुक्त राष्ट्रसंघले सन् २०२२ मा ‘अर्ली वार्निङ फर अल’ नामको पाँचवर्षे योजना अघि सारेको थियो । सो योजना अन्तर्गत सन् २०२७ भित्र सबैलाई पूर्वचेतावनी प्रणालीको पहुँचमा पुर्‍याइसक्ने लक्ष्य छ । सोही अनुसार नेपालको जल तथा मौसम विज्ञान विभागले थप प्रयास गर्दै आएको जनाएको छ ।

विभागले २०७३ सालदेखि बाढीको पूर्वसूचना उपलब्ध गराउँदै आएको छ । विभागले एसएमएस, सामाजिक सञ्जाल र विशेष सूचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध गर्दै आएको छ ।

त्यसबाट मानवीय क्षति उल्लेख्य रुपमा न्यूनीकरण हुँदै गइरहेको विभागको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?