+

पायल्स कसरी हुन्छ ? विस्तृतमा बुझौं

२०८१ असार  ४ गते १८:०८ २०८१ असार ४ गते १८:०८
पायल्स कसरी हुन्छ ? विस्तृतमा बुझौं

पायल्स मलद्वारमा हुने समस्यामध्ये एक हो । मुख्यतया मलद्वार वरपर अर्थात् मलद्वारको भित्री वा बाहिर नसाहरु फुल्ने वा सुन्निने अवस्थालाई पायल्स भनिन्छ । पायल्स भित्री र बाहिरी गरी दुई प्रकारका हुन्छन् ।

मलद्वार बाहिरको नसा फुल्नुलाई बाहिरी पायल्स भनिन्छ भने भित्री पायल्समा भने चार चरण हुन्छ । पहिलो चरणमा दिसामा रगत देखिन्छ । दोस्रो चरणमा दिसा गर्दा मलद्वारबाट बाहिर निस्किने र भित्र पस्ने हुन्छ । तेस्रो चरणमा पायल्स मलद्वारबाट बाहिर निस्कन्छ, आफैं भित्र पस्दैन । यस्तो अवस्थामा औंलाले धकेलेर भित्र पसाउनुपर्ने हुन्छ । चौथो अवस्थालाई पोल्याप्स स्टेज पनि भनिन्छ । जुन अवस्थामा मानिसले दिसा गरेर उठेर औंलाले धकेलर भित्र पसाउँदा पनि नपस्ने र मासु बाहिर नै निस्किरहने हुन्छ ।

कसरी हुन्छ पायल्स ?

पायल्स हुनुमा एउटा मात्र कारण हुँदैन । तर मुख्य कारण खानपान हो । खासगरी मसालेदार खाना, जंकफुड, मैदाजन्य, तारेको भुटेको खानेकुराले यो समस्या ल्याउन सक्छ । किनभने यस्तो खानेकुरा सहजै पच्दैन, जसकारण पखाला वा कब्जियत हुनसक्छ । दिसा गर्दा बल गर्ने बानी, लामो समय शौचालयमा बिताउने बानीले पनि पायल्सको समस्या ल्याउन सक्छ । यस्तै गर्भावस्था, बुढ्यौली र वंशाणुगत कारणले पायल्स हुनसक्छ ।

पाचन प्रणालीमा समस्या आउँदा पायल्स हुने सम्भावना हुन्छ । प्यान्क्रियाजमा खराबी भएमा पनि पायल्स हुनसक्छ । किनभने यसले हामीले खाएको खानालाई पचाउने इन्जाइम निकाल्ने काम गर्छ । यसले खानेकुरा खाएपछि शरीरलाई चाहिने पोषक तत्व लिन मद्दत गर्छ र नचाहिने कुराहरु बाहिर निस्किन्छ ।

कसलाई हुन्छ ?

पाचन प्रणाली कमजोर वा गडबडी भएमा र ठूलो आन्द्राले राम्ररी काम नगर्दा पायल्स हुन्छ । पायल्सको जोखिम बालबालिका, वयस्क, वृद्धवृद्धालाई सबैलाई उत्तिकै हुन्छ ।

लक्षण के हुन्छ ?

सामान्यतया दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने पायल्सका लक्षणहरु हुन् ।

जटिलता के छ ?

पायल्सको समयमा उपचार भएन भने मलद्वारबाट रगत बग्ने, मासु मलद्वार भन्दा बाहिर निस्किने, आन्द्रा पाक्ने लगायत जटिलता निम्तिन सक्छ । पाल्यसको समयमा उपचार भएन भने फिसर अर्थात् मलद्वारको मुख च्यातिने र फिस्टुला हुने जोखिम हुन्छ ।

उपचार के छ ?

पायल्सको उपचार आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक विधिबाट गर्न सकिन्छ ।

एलोपेथिक उपचार

जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. प्रभाकर शाह एलोपेथिकमा पायल्सको उपचार के गर्ने भन्दा पनि के कारणले भएको त्यो पत्ता लगाउन जरुरी हुने बताउँछन् । ‘रोग पहिचान गरिसकेपछि समस्या के हो, कुन चरणमा छ र बिरामीको अवस्था बुझेर त्यसअनुसार उपचार विधि अगाडि बढाउनुपर्ने हुन्छ,’ उनी भन्छन् । कतिपय अवस्थामा सामान्य मलम लगाएर वा औषधिको प्रयोगले निको हुने र जटिल अवस्थमा शल्यक्रिया गर्नुपर्छ ।

युर्वेदिक उपचार

आयुर्वेदिक उपचार पद्धतिमा बिरामीको अवस्थाअनुसार उपचार गरिने आयुर्वेदिक चिकित्सक डा. सुवर्ण पौडेल बताउँछन् । ‘आयुर्वेदमा पहिलो र दोस्रो चरण छ भने औषधिबाट उपचार हुन्छ,’ उनी भन्छन्, ‘तेस्रो र चौथो चरणमा छ भने क्षारसूत्र विधिबाट उपचार हुन्छ ।’

क्षारसत्र के हो ?

क्षारसूत्र ‘क्षार’ र ‘सूत्र’ शब्द मिलेर बनेको हो । जसअनुसार क्षार भनेको विशेष प्रकारको खरानी हो भने सूत्र भनेको धागो हो । यही क्षार र धागोको प्रयोगबाट गरिने उपचार विधिलाई नै क्षारसूत्र विधि भनिन्छ । विशेष प्रकारको धागोलाई क्षारसूत्र भनिन्छ । पायल्सको तेस्रो र चौथो चरणमा बिरामीको मलद्वारबाट बाहिर निस्किएको मासुलाई क्षारसूत्रले काटेर सफा गरिने आयुर्वेदिक चिकित्सक डा. पौडेल बताउँछन् ।

‘यसले घाउ भर्न वा निको हुन मद्दत गर्छ । पायल्सका साथै फिस्टुलाको पनि क्षारसूत्र विधिबाट प्रभावकारी उपचार हुन्छ,’ उनी भन्छन्, ‘क्षारसूत्र विधिबाट उपचार गर्दा पायल्स पुनः बल्झिने सम्भावना न्यून हुन्छ ।’

पूर्ण रुपमा निको हुन्छ ?

एलोप्याथिक डा. शाह र आयुर्वेदिक चिकित्सक डा. पौडेलका अनुसार पहिलो र दोस्रो चरणमा रोग पत्ता लगाउन सकेमा पायल्सको समस्या सजिलै पूर्ण रुपमा निको पार्न सकिन्छ । तेस्रो र चौथो चरणको अवस्थामा उपचार अवधि लामो हुनसक्छ । चिकित्सकको सल्लाह अनुरुप चल्न सकेमा निको हुन्छ । तर फेरि बल्झिने सम्भावना हुन्छ ।

पायल्स हुन नदिन के गर्ने ?

पायल्स हुन नदिन आफ्नो जीवनशैलीमा सुधार ल्याउनुपर्छ । सकेसम्म सन्तुलित मात्रामा सजिलै पच्ने खालका खानेकुरा खाने, बेलुकाको खानामा पचाउन समय लाग्ने माछामासुजस्ता खानेकुरा सकेसम्म नखाने, बिहान समयमा उठ्ने र बेलुका समयमा सुत्ने बानी बसाल्नुपर्छ ।

रेस्टुरेन्टमा खाने बानीलाई कम गर्ने, पर्याप्त रुपमा पानी पिउने, सागपात र दैनिक फलफूल खानुपर्छ । खानपानसँगै बिहान उठ्ने बित्तिकै कम्तीमा आधा घण्टा योग तथा व्यायाम गर्नुपर्छ ।

पायल्समा के नखाने ?

पायल्स भएकाले कब्जियत हुने खालका खानेकुरा खानु हुँदैन । यसमा मैदाजन्य परिकार, माछा, मासु, अण्डा, तारेको, भुटेको, मसालेदार खाना, अदुवा, मरिच, खुर्सानी, रक्सी, चुरोट खानु हुँदैन । किनकि यी खानेकुरा सजिलै पचाउन नसकिने भएकाले कब्जियत गराउन सक्छ ।

मासु वा प्रशोधित मासुमा फाइबर (रेशा) कम हुने भएकाले पाचन प्रक्रियामा समस्या हुन पुग्छ र कब्जियतको समस्या सुरु हुन्छ । त्यसैले पायल्सको समस्या भएका व्यक्तिको मासुको सेवन कम गर्नुपर्छ ।

भुटेको, तारेको खाना खाँदा पाचन प्रक्रियामा समस्या हुन्छ । यस्ता खाना खाँदा पच्न गाह्रो हुन्छ । त्यसले यस्ता खाना पनि नखानु नै उचित हुन्छ । मादक पदार्थको सेवनले दिसा झन् साह्रो हुने भएकाले दिसा गर्ने समयमा दुखाइ झन् बढ्छ ।

अत्याधिक मसालेदार, अमिलो, पिरो खाने कुरा खानु हुँदैन । किनकि यस्ता खानेकुराले बिरामीको दुखाइ र जलन हुने समस्या बढ्छ ।

त्यसैगरी चिया, दही, कफी, कोल्ड ड्रिङ्क, पाउडरजन्य खानेकुराले पनि गर्मी गराउने भएकाले कब्जियतको समस्या ल्याउन सक्छ ।

के खाने ?

सम्पूर्ण अन्न : फाइबरयुक्त खानेकुरा प्रशस्त पाइन्छ । यसले पाचन प्रणालीलाई राम्रोसँग काम गर्न मद्दत गर्छ र पेटलाई सजिलै सफा गर्छ । त्यसैले पायल्स भएमा ओट्स, ब्राउन राइस र होल गहुँ आदिलाई आहारमा समावेश गर्नुहोस् । दालको सेवन पनि फाइदाजनक हुन्छ ।

फलफूल : प्रशस्त मात्रामा फलफूलको सेवन गर्नुपर्छ । फलफूलमा केरा, स्याउ, अंगुर, तरबुजा, नास्पाती, जामुन र सुन्तला आदि समावेश गर्नुहोस् । भिटामिन बाहेक यसमा फाइबर पनि हुन्छ, जुन पायल्समा फाइदाजनक हुन्छ ।

हरियो सागसब्जी : हरियो सागपातको सेवनले पायल्सको समस्याबाट राहत मिल्छ । यसमा धेरै प्रकारका एन्टिअक्सिडेन्ट, भिटामिन र लवण हुन्छन्, जसले पायल्सको लक्षणलाई कम गर्न मद्दत गर्छ । यसका लागि पालक, बन्दागोभी र ब्रोकाउली आदिको सेवन गर्नुपर्छ ।

प्रशस्त मात्रामा पानी पिउने : पेटको अधिकांश समस्याको उपचार पानी पनि हो । पायल्सबाट पीडित हुनुहुन्छ भने पर्याप्त मात्रामा पानी पिउनुपर्छ । यसो गर्नाले पाचन प्रणाली राम्रोसँग काम गर्छ, कब्जियत हुँदैन र पेट सफा गर्न सजिलो हुन्छ ।

सलाद : मूला, गाँजर, काँक्रोमा राम्रो मात्रामा फाइबर हुन्छ, जसले खाना पचाउन र कब्जियतको समस्याबाट राहत प्रदान गर्न मद्दत गर्छ । साथै यसमा पानीको मात्रा पनि हुन्छ ।

भेडेखुर्सानी : भेंडेखुर्सानीमा पानी र फाइबरको अनौठो संयोजन हुन्छ । यसले पेट सफा गर्न र पायल्सको समस्यालाई हटाउन मद्दत गर्छ । त्यसैले पायल्सको समस्या भएका व्यक्तिले खानामा भेंडेखुर्सानी पनि समावेश गर्नु राम्रो हुन्छ ।

मलद्वारमा हुने सबै समस्या पायल्स हुँदैन ?

मलद्वारको समस्या हुनेबित्तिकै मानिसहरु पायल्स नै भएको भन्ने ठान्छन् । तर मलद्वारको सबै समस्या पायल्स हुँदैन ।

मलद्वारमा दुखाइ छैन, रगत मात्रा गएमा पायल्स हुनसक्छ । तर मलद्वारमा दुख्ने, रगत जाने, अझ दिसा कडा हुँदा झन् बढी रगत जाने र सँगै अत्याधिक दुख्ने भएमा फिसर अर्थात् मलद्वारको मुख च्यातिएको हुनसक्छ ।

मलद्वार वरिपरि गिर्खा पलाएको छ वा घाउ भएको छ भने त्यसबाट रगत निस्किने, पिप निस्किने र कहिले पाक्ने कहिले सञ्चो हुने भएजस्तो भएमा फिस्टुला हुनसक्छ ।

त्यस्तै मलद्वारबाट पिप बग्ने, रगत बग्ने, रगत मिसिएको पखाला हुने र सिंगान मिसिएको दिसा जाने भएको छ भने अल्सरेटिम कोलाइटिस वा क्रोन्स डिजिज हुनसक्छ । यो आन्द्रा र मलाशयमा देखापर्ने एक दीर्घकालीन स्वास्थ्य समस्या हो ।

पायल्स स्वास्थ्य समस्या
लेखक
रेणु त्वानाबासु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?