+
+

पालुङटारको नीति : बाँदर नियन्त्रण गर्न जंगलमा फलफूल

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ४ गते १७:३०

४ असार, गोरखा । पालुङटार नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार १५ औं नगरसभामा नगर प्रमुख विवश चिन्तनले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नीति तथा कार्यक्रममा पालुङटारलाई प्लाष्टिकमुक्त नगरपालिका बनाउन आवश्यक पहल गरिने भनिएको छ । छुवाछुतमुक्त पालिका बनाउन विशेष योजना बनाइने नगर प्रमुख चिन्तनले बताए ।

‘स्मार्ट सिटीको अवधारणा लागू भई विभिन्न कार्यक्रमहरु अघि बढेकाले उक्त कार्यक्रमलाई तिव्रताका साथ कार्यान्वयन गर्न जोड दिइने छ’, उनले भने । पालुङटारलाई महिलामैत्री नगर बनाउन बिशेष पहल गरिने उनले जानकारी दिए ।

नगर क्षेत्रका टेलिफोन टावर, केवल लाइन र होर्डिङ बोर्डमा कर लगाउने नीति पालिकाले ल्याएको छ । नगरपालिकाको रिङरोड, बसपार्क र रंगशालालाई पूर्णता दिने योजना अघि सारिएको छ ।

पालुङटारले ‘वनको बाँदर वनैमा’ नारा घोषणा गर्दै बाँदर, दुम्सी, मृग लगायतका वन्यजन्तुबाट बालीनालीलाई संरक्षण गर्न आवश्यक प्राकृतिक उपाय अवलम्वन गर्ने नीति लिएको छ ।

बाँदरको प्रकोप बढी भएको क्षेत्रमा बाँदरले नष्ट नगर्ने खुर्सानी, अदुवा, बेसार, जौ, टिमुर, कटहर, कागती जस्ता वालीको खेती गर्न लागि प्रोत्साहन गर्ने नगरपालिकाको योजना छ । जंगलमा फलफूलका बिरुवा रोप्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिने पालिकाले जनाएको छ ।

बाँझो जमिन खेतीका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने र नगर प्रमुखसँग लोक कल्याणकारी किसान कोष मार्फत उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालनमा गरिने नगर प्रमुख चिन्तनले बताए ।

उत्पादित कृषि उपजहरुको बजारीकरण तथा भण्डारणका लागि सुविधा सम्पन्न कोल्ड स्टोर, दुग्ध संकलन केन्द्र सञ्चालन गर्ने र दाना उद्योगलाई आवश्यक पर्ने मकै, भटमास लगायतका खेतीलाई प्रोत्साहन गर्ने नीति ल्याइएको उनले जानकारी गराए ।

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै व्यवसाय सञ्चालन गर्न चाहने युवा उद्यमी व्यवसायीलाई सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउने पालिकाको योजना छ । लगानीमैत्री पालुङटार सिर्जना गर्ने अवधारणा स्वरुप ‘इन्भेष्ट इन पालुङटार’ अभियान सञ्चालन गर्ने नीति पालिकाले लिएको छ ।

नगरभित्र रहेका धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थलहरुको संरक्षण, सम्वद्र्धन र प्रचार प्रसार हुने गरी एकीकृत कार्यक्रम सञ्चालन गर्ने पालिकाले जनाएको छ । कुमाल, गन्धर्व, र दलित लगायतका सीमान्तकृत जातिहरुका साथै विपन्न वर्गहरुका लागि विशेष कार्यक्रम सञ्चालन  गर्ने उल्लेख छ ।

सामुदायिक विद्यालयहरुलाई आवश्यकताको आधारमा स्कुल बस सञ्चालनको व्यवस्था मिलाउने, प्राविधिक धार सञ्चालन भएका विद्यालयहरुलाई बिशेष अनुदानको व्यवस्था गर्ने र साथीबाट सिक्ने र साथिलाई सिकाउने (सहपाठी सिकाई) कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने पालिकाले जनाएको छ ।

विद्यालयमा अतिरिक्त क्रियाकलापलाई व्यवस्थित गर्न झोलाविहीन शुक्रबार कार्यक्रम कार्यान्वयन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

स्वास्थ्यतर्फ गर्भवतीलाई प्रसुतिका लागि नगरपालिकाभित्रका अस्पताल वा वर्थिङ सेन्टरसम्म पुग्न निशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिने कार्यक्रम नगरपालिकाले ल्याएको छ । नगरभित्र मृत्यु भएका मृतकको शव व्यवस्थापनका लागि निःशुल्क शवबाहनको व्यवस्था गरिने नगरपालिकाको नीति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?