+
+

सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्षका रूपमा मनाइने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ४ गते १३:५०

४ असार, काठमाडौं । पूर्वको पर्यटकीय गन्तव्य मुन्दुम ट्रेल प्रवर्द्धन गर्न सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्षका रूपमा मनाइने भएको छ । नेपाल पर्यटन बोर्डमा सोमबार आयोजित एक कार्यक्रमका बीच मुन्दुम ट्रेल भ्रमण वर्ष घोषणा गरिएको हो ।

मुन्दुम ट्रेलमा किराँती बाहुल्य भोजपुर, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभालगायत पर्यटकीय क्षेत्र पर्छन् । यो ट्रेल सहज पदमार्गका रूपमा परिचित छ । भ्रमण वर्षको मुख्य आकर्षणमा गोठस्टे, सुन्तला, धामी, साकेला उभौली र उधौली, रुद्राक्षलगायत महोत्सव आयोजना गर्ने र एक लाख बढी पर्यटक भित्र्याउने योजना आयोजकको छ ।

कार्यक्रममा पूर्व पर्यटनमन्त्री सुदन किराँतीले मुन्दुम ट्रेल अरूभन्दा फरक सांस्कृतिक मार्ग भएको उल्लेख गर्दै यसको प्राकृतिक स्वरूप नबिग्रिने गरी पर्यटन विकास गर्नु पर्ने बताए ।

उनले रैथाने र मौलिक संस्कृति सहितको पर्यटन नै नेपालको पर्यटनको विशेषता रहेको भन्दै मुन्धुमको प्रवर्द्धनले समग्र पर्यटनमा टेवा पुग्ने बताए ।

पूर्वमन्त्री शंकर शर्माले मुन्दुम ट्रेल एउटा नयाँ र मौलिक पर्यटकीय गन्तव्य भएको र यसको प्रवर्द्धनले पूर्वको पर्यटनमा नयाँ आयाम थपिने बताए ।

पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पर्यटकीय स्थानको प्रर्वद्धनमा पर्यटन बोर्डले नियमित काम गरिरहेको उल्लेख गर्दै मुन्दुम ट्रेल प्रवर्द्धनका बोर्डको साथ सहयोग रहने बताए ।

पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलाले स्थानीय तहले अपनत्व नलिएसम्म ट्रेलको प्रवर्द्धन गर्न गाह्रो हुने बताउँदै स्थानीय तहलाई यसको संरक्षण र प्रवर्द्धनको जिम्मा दिनुपर्नेमा जोड दिए ।

मैयुङ टेम्के साल्पा सिलिचुङ टुरिजम प्रोमोसन सेन्टरका अध्यक्ष रमेशकुमार राईले सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्ष मनाउने तयारी भएको जानकारी दिए ।

कार्यक्रममा गायक राजेशपायल राई, कलाकार दयाहाङ राई, अल्ट्रा धावक मिरा राई, विश्व साइकल यात्री पुष्कर शाह र माउन्टेन गाइड तथा पर्वतारोही पेम्बा वाङचु शेर्पालाई पर्यटन दूत घोषणा गरिएको थियो ।

चखेवा डाँडा, टेम्के डाँडा सोही ठाउँको टेम्के मन्दिर, हाँसपोखरी र साल्पासिलिचुङ यस मुन्धुम पदमार्गका मुख्य पर्यटकीय स्थल हुन् । भोजपुर र खोटाङको सिमानामा अवस्थित टेम्के डाँडा (३ हजार १६५ मिटर) बाट सुरू हुने पदयात्रा मैयुङ डाँडा, सिलिचुङ डाँडा हुँदै साल्पा पोखरीमा टुङ्गिन्छ । मुन्धुम पदमार्ग करीब ८० किलोमिटर रहेको छ ।

खोटाङ, भोजपुर, सोलुखुम्बु र संखुवासभाको सीमा क्षेत्रमा रहेको मुन्धुम पदमार्ग २०७५ कात्तिकमा नेपाल सरकारले घोषणा गरेको नेपालका घुम्नै पर्ने सय वटा पर्यटकीय गन्तव्यको सूचीमा यो पदमार्ग पनि परेको थियो । त्यसयता टेम्केमैयुङ साल्पासिलिचुङ शृङ्खलाको चर्चा हुनुका साथै यो पदमार्गलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने पहल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?