
४ असार, काठमाडौं । गण्डकी प्रदेश घुम्ने विदेशी नागरिकमध्ये ८० प्रतिशत भारतीय रहेको पाइएको छ ।
गण्डकी प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८१ अनुसार आव २०७९/८० मा गण्डकी प्रदेशको भ्रमणमा गएका विदेशी नागरिकमध्ये करिब ८० प्रतिशत भारतीय छन् । यस वर्ष २ लाख ४५ हजार ७४९ जना विदेशीले गण्डकी प्रदेशको भ्रमण गरेका थिए । यसमध्ये १ लाख ९८ हजार १८२ जना भारतीय छन् । यो कुल आगमनको करिब ८० प्रतिशत हो । अन्य मुलुकका पर्यटक संख्या भने मात्र ४७ हजार ५६७ जना रहेको तथ्यांकले देखाएको छ ।
आव २०८०/८१ मा यो संख्या अझ बढ्ने अपेक्षा गरिएको छ । कोभिड-१९ महामारीका समयमा समेत गण्डकी प्रदेशमा भारतीय नागरिकको आगमन बढेको थियो । यस प्रदेशमा सबैभन्दा धेरै पर्यटक पोखराले भित्र्याउने गरेको छ । यहाँ क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल समेत सञ्चालनमा छ ।
गण्डकी प्रदेशमा आव २०७५/७६ मा २ लाख ९८ हजार ९७५ जना विदेशी पर्यटक पुगेका थिए । सो समयमा भारतीयको संख्या १ लाख २० हजार ९३८ जना थियो । कोभिड महामारी सुरु भएको आव २०७६/७७ मा १ लाख २८ हजार ६४८ जनाले मात्रै गण्डकी प्रदेश भ्रमण गरेका थिए । २०७७/७८ मा ३ हजार ४१३ र आव २०७८/७९ मा १ लाख ४ हजार ४२९ जना पर्यटक गण्डकी भित्रिएका थिए ।
गण्डकी प्रदेश भित्र ३२४ वटा सामुदायिक होमस्टे सञ्चालनमा छन् । यसमध्ये सबैभन्दा धेरै तनहुँमा ५५, पर्वतमा ५१, स्याङ्जामा ५० र कास्कीमा ४७ वटा रहेको देखिएको छ । सबैभन्दा कम मनाङमा ३ र मुस्ताङमा चार वटा मात्र होमस्टे सञ्चालनमा छन् ।
प्रतिक्रिया 4