+
+

अर्थतन्त्रमा सुधारको संकेत : बैंकिङ र नगद कारोबार दुवै उच्च

विजय पराजुली विजय पराजुली
२०८१ असार ५ गते १६:४०

५ असार, काठमाडौं । नेपालमा बैंकमार्फत हुने कारोबार (सेटलमेन्ट) उच्च मात्रामा बढेको छ । गत वर्षको वैशाखको तुलनामा यो वर्षको वैशाखमा यस्तो सेटलमेन्ट ४० प्रतिशतले बढेको हो ।

त्यति मात्रै होइन, अर्थतन्त्रमा चलनचल्तीमा रहेको नगद नै अर्थात् नगद सर्कुलेसनसमेत गत वर्षको तुलनामा करिब १० प्रतिशतले बढेको छ । बैंकमार्फत हुने भुक्तानी र नगद सर्कुलेसन दुवै बढ्नु भनेको अर्थतन्त्र चलायमान हुँदै गएको संकेत भएको नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन् ।

आर्थिक वर्ष (आव) २०७८/७९ मा उच्च आर्थिक गतिविधि हुँदा औपचारिक आर्थिक कारोबार (बैंकमार्फत हुने सेटलमेन्ट) पनि उच्च थियो । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागको तथ्यांक हर्ने हो भने २०७९ वैशाखमा ५३ खर्ब १८ अर्बको आर्थिक कारोबार भएको थियो । सोही आवको अन्तिम महिना असारमा औपचारिक माध्यमबाट मात्रै ६२ खर्ब २३ अर्बको कारोबार भएको थियो ।

गत आर्थिक वर्षदेखि अर्थतन्त्रमा देखिएको शिथिलतासँगै औपचारिक आर्थिक कारोबार समेत घट्दै गएको थियो । तर, चालु आर्थिक वर्षको पछिल्लो केही महिना यता भने औपचारिक आर्थिक कारोबारमा सुधार देखिन लागेका छ ।

गत आव २०७९/८० को वैशाखमा औपचारिक माध्यमबाट हुने आर्थिक कारोबार (बैंकिङ सेटलमेन्ट) ३८ खर्ब ६४ अर्बमा सीमित भएको थियो ।

चालु आवको पछिल्लो चार महिनाको तथ्यांक हेर्दा हरेक महिना वित्तीय प्रणालीमार्फत हुने आर्थिक कारोबार बढ्दै गएको छ । चालु आवको माघमा ४५ खर्ब ४ अर्बको आर्थिक कारोबार हुँदा फागुनमा ५१ खर्ब ६८ अर्ब र चैतमा ५२ खर्ब ८२ अर्बको कारोबार भएको देखिन्छ । वैशाखमा अझै बढेर ५४ खर्ब ४८ अर्बको कुल कारोबार भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

गत आवको वैशाखमा बैंकिङ सेटलमेन्ट मार्फत भएको आर्थिक कारोबार ३८ खर्ब ८२ अर्ब मात्रै रहेको चालु आर्थिक वर्षमा वैशाखामा ४० प्रतिशतभन्दा माथिले वृद्धि भएको हो ।

औपचारिक बैंकिङ प्रणालीमार्फत हुने कारोबार मात्रै होइन, नगद कारोबार समेत बढेको राष्ट्र बैंकको नगद सर्कुलेसन तथ्यांकले देखाउँछ । २०७९ असारमा चलनचल्तीमा रहेको नोट ६ खर्ब १२ अर्ब मात्रै रहेको थियो । २०८० असारमा चलन चल्तीमा रहेको नोट ६ खर्ब २६ अर्ब रहेकोमा चालु आवको वैशाखमा त्यो बढ्दै गएर ६ खर्ब ८० अर्ब पुगेको छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. श्रेष्ठ चालु आर्थिक वर्षमा बैंकिङ सेटलमेन्ट र नगद सर्कुलेस बढ्दै जाँदा त्यसले आर्थिक कारोबार बढाएको बताउँछन् ।

‘तर, संकुचित भएको अर्थतन्त्रमा आम नागरिकले महसुस हुनेगरी सुधार हुन समय लाग्ने हुँदा तथ्यांकमा जनताको असन्तुष्टि कायम रहेको छ,’ उनले भने ।

मोबाइल बैंकिङ, वालेट र क्यूआरबाट हुने अधिकांश पेमेन्ट रिटेल नै भएकोले उक्त कारोबारमा वृद्धि हुँदा त्यसले पनि आर्थिक गतिविधि बढ्दै गएको देखाउने उनको तर्क छ ।

सरकारको राजस्व बढ्दै जाँदा त्यसले पनि आर्थिक सुधार हुँदै गएको देखाउने र बैंकिङ सेटलमेन्ट मार्फत भएको आर्थिक कारोबारले त्यसलाई पुष्टि गरेको उनले बताए ।

चालु आवको चैतसम्म सुस्त देखिएको घरजग्गा कारोबार पनि वैशाख र जेठमा बढेको छ । सरकारको राजस्व नै बढेको पनि घरजग्गा कारोबारमा सुधार भएको देखाउँछ । त्यस्तै, पछिल्लो समय सेयर बजार परिसूचक नेप्सेमा खासै सुधार नदेखिए पनि कारोबार रकम भने लगातार ५ अर्बमाथि रहेको छ । उक्त कारोबार रकमले बजारमा पैसा आएको संकेत गर्छ ।

बजारमा पैसाको प्रवाह बढ्दै जाँदा अर्थतन्त्रमा गतिशिलता आउँछ । यसले उपयोग बढाउने, पूँजी निर्माण गर्ने र सार्वजनिक सेवा विस्तार हुने विज्ञहरू बताउँछन् ।

एक महिनामै ५० अर्ब नाघ्यो क्यूआर पेमेन्ट

चालु अवको वैशाखमा मात्रै क्यूआरमा आधारित भुक्तानी ५० अर्ब नाघेको छ ।

गत आवको वैशाखमा बैंकिङ सेटलमेन्ट मर्फत हुने समग्र कारोबार घट्दासमेत क्यूआरमा आधारित भुक्तानी र कनेक्ट आईपीएस मार्फत हुने भुक्तानी बढेको थियो ।

चालु आवमा बैंकिङ सेटलमेन्ट मार्फत हुने समग्र कारोबार बढ्दा रिटेल पेमेन्ट औजार मार्फत हुने कारोबार झनै उच्च बढेको देखिएको हो ।

त्यस्तै, आरटीजीएस, इलेक्ट्रोनिक चेक क्लियरिङ जस्ता थोक भुक्तानी, इन्टरनेट बैंकिङ, वालेटमार्फत हुने कारोबार समेत बढेको छ ।

गत आवको वैशाखमा क्यूआरमा आधारित भुक्तानी २६ अर्ब मात्रै रहेकोमा चालु आवमा बढेर ५२ अर्ब ७६ करोड पुगेको हो । वैशाखमा आरटीजीएस मार्फत हुने कारोबार ३५ खर्ब ८० करोड पुगेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४७ प्रतिशतले बढेको हो । २०७९ वैशाखमा यस्तो कारोबार ३९ खर्ब ९८ अर्ब पुगेकोमा २०८० वैशाखमा ५४ खर्ब ३० अर्ब पुगेको थियो ।

आरटीजीएसपछि सबैभन्दा धेरै कारोबार कनेक्ट आईपीएसमार्फत भएको छ । ठूलो रकम भुक्तानीदेखि रिटेल पेमेन्टसम्मको भुक्तानी गर्न प्रयोग हुने डिजिटल भुक्तानी माध्यम कनेक्ट आईपीएसबाट मात्रै वैशाखमा ५ खर्ब २३ अर्बको आर्थिक कारोबार भएको छ । २०७९ वैशाखमा २ खर्ब ५९ अर्ब रहेको कारोबार २०८० वैशाखमा ३ खर्ब ५९ अर्ब पुगेको थियो । चालु आवको वैशाखमा ४५ प्रतिशतले बढेको हो ।

ठूलो भुक्तानीमा आरटीजीएस मार्फत हुने कारोबार बढ्दै जाँदा इलेक्ट्रोनिक चेक क्लियरिङ (ईसीसी) भने घट्दै गएको छ । २०७९ वैशाखामा नै ईसीसी मार्फत ५ खर्ब ९९ अर्बको कारोबार भएको थियो । २०८० वैशाखमा ४ खर्ब ७० अर्बमा झरेकोमा चालु आवको वैशाखमा केही बढेर ४ खर्ब ९३ अर्ब पुगेको छ ।

मोबाइल बैंकिङ मार्फत हुने कारोबार १ महिनामै ३ खर्ब नाघेको छ । ७९ वैशाखमा १ खर्ब १४ अर्बको कारोबार माबाइल बैकिङ मार्फत भएकोमा २०८० वैशाखमा २ खर्ब १० अर्ब पुगेको थियो भने २०८१ वैशाखमा आउँदा ३ खर्ब २० अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ । यस्तै वैशाखमा आईपीएस मार्फत २ खर्ब ३८ अर्बको कारोबार हुँदा एटीएम मार्फत ९३ अर्ब नगद झिकिएको छ । वालेट मार्फत हुने कारोबार पनि १ महिनामै २८ अर्ब पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।

अन्य डिजिटल बैंकिङ प्लेटफर्मको प्रयोग बढ्दै जाँदा इन्टरनेट बैंकिङ मार्फत हुने कारोबार भने घटेको छ । २०७९ वैशाखमै इन्टरनेट बैंकिङ मार्फत १२ अर्बको कारोबार भएको थियो । २०८० वैशाखमा बढेर १३ अर्ब ४५ करोड पुग्यो । २०८१ वैशाखमा आउँदा भने घटेर १२ अर्ब ७८ करोडमा झरेको छ । डिजिटल बैंकिङको विकाससँगै आर्थिक कारोबार पनि औपचारिक बन्दै गएको तथा आर्थिक गतिविधिमा समेत सुधार हुँदा बैंकिङ प्रणाली मार्फत भएको कारोबारमा वृद्धि देखिएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख श्रेष्ठ बताउँछन् ।

बढ्दै डिजिटल बैंकिङ प्रयोगकर्ता

पछिल्लो समय डिजिटल बैंकिङ प्रयोगकर्ताको संख्या पनि बढ्दै गएको छ । कोभिडपछि डिजिटल बैंकिङमा फड्को मारेकोमा हरेक वर्ष प्रयोगकर्तासँगै कारोबार पनि बढ्दै गएको हो । रिटेल पमेन्टको रुपमा प्रयोग हुने मोबाइल वालेट, मोबाइल बैंकिङसँगै कनेक्ट आईपीएस प्रयोकर्ताको संख्या उलेख्य रुपमा बढेको हो ।

२०७९ असारमा १ करोड ७६ लाख मात्रै रहेका मोबाइल वालेट प्रयोगकर्ताको संख्या २०८० वैशाखमा २ करोड २६ लाख पुगेका छन् । त्यस्तै मोबाइल बैंकिङ प्रयोगकर्ता १ करोड ८३ लाखबाट २ करोड पुगेको छ । इन्टरनेट बैंकिङमार्फत हुने कारोबार भने घट्दो देखिन्छ भने प्रयोगकर्ता पनि २०७९ असारमा १६ लाख ८४ हजार रहेकोमा २०८१ वैशाखमा करिब २० लाख मात्रै पुगेका छन् ।

त्यस्तै कनेक्ट आईपीएस प्रयोगकर्ता २०७९ असारमा ८ लाख ९६ हजार रहेकोमा २०८० वैशाखमा १२ लाख ५१ हजार पुगेका छन् ।

 

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?