+
+

अमेरिका र नेपाल- सँगै उज्ज्वल भविष्यको निर्माण गर्दै

विगत १० वर्षमा नेपालको ऊर्जा क्षेत्रमा उल्लेखनीय वृद्धि भएको छ। साथै, नेपाल कुनै पनि एमसीसी परियोजनामा सबैभन्दा ठूलो योगदान दिने मुलुक बनेको छ।

डायान एल. फ्रान्सिस्को डायान एल. फ्रान्सिस्को
२०८१ असार ५ गते ७:१०

यस वर्ष संयुक्त राज्य अमेरिका र नेपालले आफूहरूबीच दौत्य सम्बन्ध स्थापना भएको ७७ वर्ष मनाएका छन्। सन् १९४७ देखि हाम्रा देशहरूले खुला, उत्तरदायी र सहकार्यमूलक मित्रता स्थापित गरेका छन्, जुन निकै लामो समयदेखि बलियो सम्बन्धका रूपमा रहँदै आएको छ।

नेपालस्थित अमेरिकी दूतावासले नेपाललाई शान्तिपूर्ण, समृद्ध, उत्थानशील र लोकतान्त्रिक समाज निर्माण गर्न सहयोग पुर्‍याउने आपसी लक्ष्यका माध्यमबाट यस घनिष्ठ मित्रतालाई अगाडि बढाएको छ। यो प्रतिबद्धता अमेरिकी सरकारका कार्यक्रमभर प्रदर्शित भएको छ। उदाहरणका लागि अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)ले स्वास्थ्य, शिक्षा, लोकतान्त्रिक प्रणाली र पूर्वाधारमा केन्द्रित हुँदै सन् १९६१ मा नेपालमा काम गर्न थाल्यो। पिसकोरका प्रथम स्वयंसेवकहरू सन् १९६२ मा नेपाल आए र हालसम्म करिब ४,००० स्वयंसेवकले नेपालमा गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवाको क्षमता अभिवृद्धि र राष्ट्रको खाद्य सुरक्षा सुधारका क्षेत्रमा सेवा पुर्‍याइसकेका छन्।

अमेरिकी विदेश मन्त्रालयले लामो समयदेखि आदानप्रदान कार्यक्रम, अनुदान र सांस्कृतिक संरक्षणका लागि आफ्नो राजदूत कोष मार्फत ऐतिहासिक तथा सांस्कृतिक भवनहरूलाई सहयोग गर्दै आएको छ। हालसालै युएस फरेस्ट सर्भिस, युएस डिपार्टमेन्ट अफ जस्टिस र युएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन जस्ता अमेरिकी सरकारका अन्य निकायहरूले नेपालमा नयाँ–नयाँ साझेदारीहरू स्थापित गरेका छन्। यसै क्रमको पछिल्लो चरणमा युएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसनले कृषि र साना तथा मझौला उद्यमहरू, र त्यसमा पनि खासगरी महिलाद्वारा सञ्चालित उद्यमहरूलाई सहयोग गर्न २७ करोड ३० लाख अमेरिकी डलर बराबरको प्रत्यक्ष कोष वा ऋण पोर्टफोलियो ग्यारेन्टीका लागि प्रतिबद्धता व्यक्त गरेको छ।

समावेशी तथा दिगो आर्थिक वृद्धि मार्फत गरिबी न्यूनीकरण गर्न सन् २०११ देखि नेपालसँग सहकार्य गर्दै आएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यस अमेरिका-नेपाल साझेदारीको एक हिस्साका रूपमा रहेको छ। यस वर्ष एमसीसीको २०औं वार्षिकोत्सव पनि मनाइँदैछ। एमसीसीले आफ्नो स्थापनाका दुई दशकमा स्वास्थ्य, शिक्षा, ऊर्जा, कृषि र यातायातका क्षेत्रमा पूर्वाधार तथा नीतिगत सुधारका लागि ४७ देशमा झन्डै १७ अर्ब अमेरिकी डलर लगानी गरिसकेको छ।

सबैका निम्ति उज्जवल भविष्य

सन् २०११ मा एमसीसीको सञ्चालक समितिले नेपाललाई ‘थ्रेसहोल्ड कार्यक्रम’ का लागि छनोट गरेको थियो। मुख्यतया नीतिगत र संस्थागत सुधारलाई सहयोग गर्ने एमसीसी अनुदान कार्यक्रमलाई थ्रेसहोल्ड भनिन्छ। डिसेम्बर २०१४ मा एमसीसी सञ्चालक समितिले नेपालसँग संस्थागत सुधार तथा पूर्वाधार विकास सहितको अनुदान कार्यक्रम सम्मिलित पूर्ण आकारको कम्प्याक्ट विकसित गर्ने पक्षमा मतदान गर्‍यो। त्यसपछि सन् २०१७ को सेप्टेम्बरमा एमसीसीले नेपाल सरकारसँग ५० करोड अमेरिकी डलरको एमसीसी कम्प्याक्ट अनुदान सम्झौतामा हस्ताक्षर गर्‍यो।

एमसीसी नेपाल कम्प्याक्टले पूर्व-पश्चिम राजमार्गको एक खण्डको स्तरोन्नति गर्दै यात्रालाई कम खर्चिलो बनाउने अनि चालक तथा यात्रुका लागि वस्तुको ढुवानी सजिलो र सुरक्षित बनाउने कार्य गर्नेछ। स्तरोन्नति कार्यमा जलवायुका दृष्टिले उपयुक्त, दिगो प्रविधिको प्रयोग गरी अलकत्रालाई रिसाइकल गरिनेछ, जसले गर्दा सडकलाई मर्मतसम्भार गर्न सहज हुनेछ र यो वातावरणका लागि समेत राम्रो हुनेछ

नेपालका लागि एमसीसीकी आवासीय देशीय निर्देशकका रूपमा मलाई एमसीसीका मिहिनेती र समर्पित कर्मचारीहरूको समूहसँग काम गर्ने सौभाग्य प्राप्त भएको छ। त्यसैगरी नेपाल सरकारको तर्फबाट एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन गर्ने निकाय एमसीए-नेपालका कर्मचारीहरूसँग सहकार्य गर्न पाएकोमा पनि मलाई गर्व महसुस हुन्छ।

यस टोलीमा अत्यन्त प्रतिभाशाली इन्जिनियर, प्रबन्धक र प्रशासकहरू हुनुहुन्छ। उहाँहरूसँग नेपाली जनतालाई पूर्वाधार सफलता दिलाएको दशकौंको अनुभव छ। साथै, एमसीए-नेपाल नेतृत्व टोली र बहुविधात्मक एमसीए-नेपाल सञ्चालक समितिसँग निकट सहकार्य गर्न पाएकोमा मलाई खुशी लागेको छ। अर्थ मन्त्रालयको अध्यक्षतामा रहेको सञ्चालक समितिले कम्प्याक्टलाई पारदर्शी, वातावरणीय दृष्टिले संवेदनशील र सामयिक रूपमा कार्यान्वयन गर्न एमसीए-नेपाललाई मार्गदर्शन तथा सुपरीवेक्षण प्रदान गर्दछ।

विगत एक दशकमा लोडसेडिङ अन्त्य र समग्र विद्युत् उत्पादनमा वृद्धि गर्न नेपालको ऊर्जा क्षेत्रमा ठूलो प्रगति भएको भए तापनि नेपाली नागरिकको ठूलो हिस्साले मुलुकको दिगो, सुपथ, स्वच्छ जलविद्युत् स्रोतमा अझ भरपर्दो पहुँच पाउनुपर्छ।

भरपर्दो विद्युत्‌मा राम्रो पहुँच हुँदा उद्योग र आर्थिक गतिविधिहरू कम ऊर्जा लागतमा चौबीसै घण्टा आफ्नो सञ्चालन कार्यलाई जारी राख्न सक्दछन्, अझै बढी विद्यार्थीहरू रातको समयमा अध्ययन गर्न सक्दछन्, अस्पतालहरूले विद्युत्‌बाट चल्ने उपकरणका साथ अझै राम्रो स्वास्थ्य सेवा उपलब्ध गराउन सक्दछन् र व्यवसायहरू बढ्न अनि फस्टाउन सक्दछन्।

एमसीसी नेपाल कम्प्याक्टले नेपाललाई आफ्नो आन्तरिक ऊर्जा लक्ष्य हासिल गर्ने दिशामा प्रगति गर्न सघाउनेछ। त्यसैगरी सीमापार विद्युत् व्यापार मार्फत नेपाललाई आफ्नो आर्थिक सम्भाव्यतालाई अझै बढी साकार रूप दिन पनि मद्दत गर्नेछ।

एमसीसी नेपाल कम्प्याक्टले नेपाली जलविद्युत् स्रोतबाट उत्पादित स्वच्छ ऊर्जालाई नेपाली घरघर तथा व्यवसायमा पुर्‍याउने मात्र नभई यस क्षेत्रभर नवीकरणीय ऊर्जा निर्यात गर्ने नेपालको क्षमतामा उल्लेखनीय वृद्धि गरी नेपालको बृहत्तर समृद्धितर्फ अग्रसर गराउने पावरलाइन निर्माण गर्ने दिशामा काम गरिरहेको छ।

प्रसारण पूर्वाधारमा भएको सुधारले निजी क्षेत्रबाट थप लगानी आकर्षित गर्न मद्दत गर्नेछ। भरपर्दो विद्युत्‌को बढ्दो आपूर्तिले उपभोक्ताको ऊर्जा आवश्यकता पूरा गर्न र सबै नेपालीको उज्ज्वल भविष्य निर्माण गर्नका लागि मद्दत गर्नेछ। संक्षेपमा भन्नुपर्दा एमसीसी नेपाल कम्प्याक्ट नेपालका सडक, विद्युत् प्रसारण र भविष्यका लागि राम्रो हुनेछ। यसले नेपालको बृहत्तर समृद्धिको पक्षमा काम गर्नेछ र यसको नेतृत्वमा नेपाल आफैं हुनेछ।

अमेरिकी प्रत्यक्ष लगानीमा माथिल्लो भोटेकोशी जलविद्युत् प्लान्ट सुरु गरी अमेरिकाले सुरुताका नेपालको ऊर्जा क्षेत्रको विकासमा योगदान पुर्‍याएको थियो। उक्त प्लान्टले सन् २००१ देखि नेपालीहरूका लागि विद्युत् उत्पादन गर्दै आएको छ। यस परम्परा र सफलतालाई निरन्तरता दिंदै एमसीसी नेपाल कम्प्याक्टले नयाँ संरचना निर्माण गर्नेछ र यसले विद्युत्‌को विद्यमान सञ्जालमा आपूर्ति वृद्धि गर्नेछ।

आगामी चार वर्षमा एमसीसी नेपाल कम्प्याक्टले नेपालको फस्टाउँदो ऊर्जा क्षेत्र सँगसँगै नेपालका विकसित हुँदै जाने आवश्यकता पूरा गर्नेछ र आफ्नो ऊर्जा क्षेत्रको अथाह सम्भावनालाई सुदृढ तुल्याउनेछ भन्ने कुरामा हामी विश्वस्त छौं।

एमसीसी नेपाल कम्प्याक्टले प्रसारण मेरुदण्ड निर्माण गर्नेछ, जसले गर्दा ग्रिडमा विद्युत्‌को प्रवाह अझै कुशलतापूर्वक हुनेछ र मागलाई अझै राम्रोसँग आपूर्ति गर्न र भारत तथा यस क्षेत्रसँगको सीमापार व्यापारमा योगदान गर्न मद्दत पुग्नेछ।

एमसीसी नेपाल कम्प्याक्टले पूर्व-पश्चिम राजमार्गको एक खण्डको स्तरोन्नति गर्दै यात्रालाई कम खर्चिलो बनाउने अनि चालक तथा यात्रुका लागि वस्तुको ढुवानी सजिलो र सुरक्षित बनाउने कार्य गर्नेछ। स्तरोन्नति कार्यमा जलवायुका दृष्टिले उपयुक्त, दिगो प्रविधिको प्रयोग गरी अलकत्रालाई रिसाइकल गरिनेछ, जसले गर्दा सडकलाई मर्मतसम्भार गर्न सहज हुनेछ र यो वातावरणका लागि समेत राम्रो हुनेछ।

नेपालको विकास र समृद्धिमा योगदान पुर्‍याउने अमेरिकाको लामो परम्पराको हिस्सा हुन पाएकोमा एमसीसी गौरवान्वित छ। एमसीसीकी आवासीय देशीय निर्देशकका रूपमा नेपालमा एमसीसीको संलग्नतालाई मनन् गर्दा म नेपालमा विगत १५ वर्षमा भएको वृद्धि र विकासको झलक देख्छु।

समृद्धिका लागि ऊर्जा र सडक निर्माणको परम्परा

विश्वभरि नै अमेरिकाले आर्थिक वृद्धिलाई प्रोत्साहन दिने र लाखौंको जीवनस्तर उकास्ने परियोजनाहरू तर्जुमा गर्नका लागि एमसीसी मार्फत सरकारहरूसँग सहकार्य गरेको छ। नेपालमा एमसीसीले ऊर्जा तथा सडकमा केन्द्रित अनुदान कार्यक्रम तयार गर्नका लागि नेपाल सरकारसँग सहकार्य गर्‍यो। उक्त कार्यक्रम अर्थतन्त्रलाई उकास्न र नेपालभरका मानिसहरूको जीविकोपार्जनमा सुधार ल्याउनका लागि तर्जुमा गरिएको हो। एमसीए-नेपाल टोलीसँगको सहकार्यमा नेपालको आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने अमेरिकी प्रयासको हिस्सा हुन पाएकोमा नेपालका लागि एमसीसीको आवासीय देशीय निर्देशकका रूपमा म गौरवान्वित छु।

अर्थ मन्त्रालयको पछिल्लो आर्थिक सर्वेक्षण अनुसार सन् २०१७ यता नेपाल सरकारले ३४ हजार १०० किलोमिटरभन्दा बढी सडक निर्माण गरेको छ। गरिबी निवारण, सामाजिक समावेशीकरण र आर्थिक वृद्धिका लागि सुधारिएको सडक अपरिहार्य छ भन्ने हामीलाई थाहा छ। काठमाडौं उपत्यका बाहिर नेपालका केही प्रथम सडकहरूको निर्माणमा आर्थिक सहयोग गरेको हुनाले अमेरिकाले लामो समयदेखि नेपालमा सडकहरूको प्रभावलाई बुझेको छ।

र, नेपालको आवश्यकताप्रति उत्तरदायी हुँदै एमसीसी नेपाल कम्प्याक्टको सबैभन्दा ठूलो हिस्सा विद्युत् प्रसारण आयोजना रहेको छ। विगत १० वर्षमा नेपालको ऊर्जा क्षेत्रमा उल्लेखनीय वृद्धि भएको छ। सरकारले नेपालका घरघरमा र व्यवसायहरूमा भरपर्दो अनि सुपथ विद्युत्‌को पहुँच उल्लेखनीय रूपमा विस्तार गर्ने र बचेको विद्युत् यस क्षेत्रमा निर्यात गर्ने नेपालको सम्भावनालाई सुधार गर्ने नयाँ र महत्त्वाकाङ्क्षी लक्ष्यहरू तय गरेको छ। साथै, नेपाल कुनै पनि एमसीसी परियोजनामा सबैभन्दा ठूलो योगदान दिने मुलुक बनेको छ।

हाम्रा दुई महान् राष्ट्रहरूबीचको कूटनीतिक सम्बन्धका ७७ वर्ष मनाइरहँदा यी दशकहरूमा दुवै देशमा कति परिवर्तन भए, हाम्रो साझेदारीले दुवै राष्ट्रका आवश्यकता र प्राथमिकताहरूलाई कसरी अनुकूलन गर्‍यो र हाम्रो साझेदारी यस अवधिमा कसरी अझ बलियो बन्यो भन्ने कुरा मनन् गर्न लायक छ।

आगामी चार वर्षमा एमसीसी नेपाल कम्प्याक्टले नेपालको फस्टाउँदो ऊर्जा क्षेत्र सँगसँगै नेपालका विकसित हुँदै जाने आवश्यकता पूरा गर्नेछ र आफ्नो ऊर्जा क्षेत्रको अथाह सम्भावनालाई सुदृढ तुल्याउनेछ भन्ने कुरामा हामी विश्वस्त छौं। नेपाली जनतालाई एमसीसी नेपाल कम्प्याक्टबाट उनीहरूको अर्थतन्त्र, समृद्धि र जीविकोपार्जनका क्षेत्रमा हुने महत्त्वपूर्ण लाभका बारेमा हामी अवगत गराउँदै जानेछौं र सबै नेपालीको भविष्य उज्ज्वल बनाउन नेपालसँग साझेदारी गर्ने कार्यलाई जारी राख्नेछौं।

लेखक मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का लागि आवासीय देशीय निर्देशक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?