+
+

अदालतको फैसलापछि चिकित्सा शिक्षा आयोगका ४ निर्देशक छान्ने प्रक्रिया अघि बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते ९:४२

५ असार, काठमाडौं । चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले प्रारम्भिक छनोटमा परेका १२ जनालाई अन्तर्वार्ता तथा प्रस्तुतिकरणका लागि डाकेको छ ।

उच्च अदालत पाटनले निर्देशक नियुक्ति प्रक्रिया अघि बढाउन आदेश दिएपछि प्रारम्भिक छनोटमा सफल भएका उम्मेदवारको अन्तर्वाता तथा प्रस्तुतीकरणका लागि समितिले असार ८ गते समय तोकेको हो । समितिको म‌ंगलबार बसेको बैठकले प्रारम्भिक छनोटमा परेकालाई अन्तर्वार्ता तथा प्रस्तुतिकरणका लागि  बोलाउने निर्णय गरेको हो ।

समितिले प्रारम्भिक छनोटमा परेका डा. कृष्णसागर शर्मा, प्रा.डा गुरुप्रसाद खनाल, प्रा.डा दिनेशकुमार लम्साल, डा. भीमसिंह त्रिकरी, प्रा. डा वन्दना गुरुङ शर्मा, डा. विजयचन्द्र आचार्य, प्रा. डा सरला श्रेष्ठ, प्रा.डा. सुजनबाबु मरहट्टा, प्रा.डा. सुदीप आचार्य, प्रा.डा. सुरज बज्राचार्य, प्रा.डा. स्वयंप्रकाश पण्डित, हरिप्रसाद बस्याललाई अन्तर्वार्ता र प्रस्तुतिकरणका लागि बोलाएको छ ।

चिकित्सा शिक्षा आयोग निर्देशकका ४ पद रिक्त छ । समितिले ०८० मंसिरमा माग गरेको निर्देशक पदका विज्ञापनमा २० जनाले आवेदन दिएका थिए । त्यसमध्ये १२ जनाको नाम प्रारम्भिक छनोट (सर्ट लिस्ट)मा परेको थियो ।

समितिले ०८० मंसिर १६ गते सार्वजनिक भएको उक्त सर्ट लिस्टमा चित्त नबुझेको भन्दै उच्च अदालतमा रिट परेपटि छनोट प्रक्रिया रोकिएको थियो । अदालतले ०८० मंसिर २१ गते नियुक्ति प्रक्रिया तत्काललाई यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो ।

०८१ जेठ १३ गते उच्च अदालतले नै रिट निवेदन खारेज गर्दै समितिको पक्षमा पूर्ण फैसला गरेपछि निर्देशक नियुक्ति प्रक्रिया अघि बढाउने बाटो खुलेको हो । त्यसपछि मङ्गलबार बसेको आयोगको बैठकले निर्देशक नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

समितिले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी ३ वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्नेछ ।

चिकित्सा शिक्षा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ०८०  कात्तिक २३ गते राष्ट्रिय योजना आयोगका बरिष्ठ सदस्य डा. रामकुमार फुयालको संयोजकत्वमा ३ सदस्यीय निर्देशक नाम सिफारिस समिति गठन गरेका थिए ।

सिफारिस समिति सदस्य प्रा. डा. रमेशकान्त अधिकारीले गत जेठ ३० गते राजीनामा दिएपछि र उनको स्थानमा प्रा. डा. अरुण सायमी असार २ गते सदस्य नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?