+
+

टी–२० विश्वकप सुपर-८ : अपराजित दक्षिण अफ्रिकाको सामना गर्दै अमेरिका

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १२:०९

५ असार, काठमाडौं – दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२४ को सुपर-८ खेलमा आज अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राती ८ : १५ मा सर भिभियन रिचर्ड्स रंगशाला नर्थ साउण्ड एन्टिगुआमा सुरु हुनेछ ।

अमेरिका समूह ए को उपविजेता र दक्षिण अफ्रिका समूह डी को विजेताको रुपमा सुपर–८ मा पुगेका थिए । सुपर-८ को ग्रुप-२ मा अमेरिका, दक्षिण अफ्रिका, वेष्टइण्डिज र इंग्ल्यान्ड छन् । सुपर–८ को ग्रुप १ मा भारत, अष्ट्रेलिया, बंगलादेश र अफगानिस्तान छन् ।

शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्ने सम्भावना बलियो बनाउन दुबै टोलीलाई जित आवश्यक पर्छ । दक्षिण अफ्रिकाले समूह चरणमा श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई ४ विकेट, बंगलादेशलाई ४ रन र नेपाललाई १ रनले पराजित गरेको थियो ।

अमेरिकाले समूह चरणमा क्यानडालाई ७ विकेट र पाकिस्तानलाई सुपर ओभरमा हराएको थियो । भारतसँग ७ विकेटले पराजित हुँदा आयरल्यान्डविरुद्ध वर्षाको कारण खेल रद्द भएपछि १–१ अंक बाँडेको थियो ।

अमेरिकाका आरोन जोन्सले क्यानडाविरुद्ध १० छक्कासहित ९४ र पाकिस्तानविरुद्ध ३६ रन बनाएका थिए । राम्रो लयमा हुँदा जोन्स दक्षिण अफ्रिकी बलरलाई पनि घातक बन्नसक्छन् ।

न्युजिल्यान्डका पूर्व क्रिकेटर कोरी एन्डरसन र दक्षिण अफ्रिकाका पूर्व खेलाडी एन्ड्रिस गौसको आगमनले अमेरिकाको ब्याटिङ मजबुत बनेको छ । तीव्र गतिका बलरमा भारतीय पूर्व खेलाडी सौरभ नेत्रवालकर र पाकिस्तानी मुलका अली खानको जोडी विपक्षीलाई घातक बन्नसक्छन् ।

यता दक्षिण अफ्रिकामा क्विन्टन डि कक, हेनरिक क्लासेन, डेविड मिलर, एडेन माक्ररम र ट्रिस्टन स्टब्स लगायत नाम चलेका टी२० ब्याटर खेलाडी छन् । ओपनर क्विन्टन डि कक र रिजा हेन्ड्रिक्सबाट दक्षिण अफ्रिका उत्कृष्ट सुरुवात चाहन्छ । दुबै ओपनरको प्रदर्शन यस विश्वकपमा राम्रो छैन । त्यसैले ओपनरमा युवा विकेटकिपर रयान रिकेल्टनलाई मौका दिनसक्छ ।

दक्षिण अफ्रिका तीव्र गतिको बलिङ आक्रामण उत्कृष्ट छ । एनरिच नोर्किया, कागिसो रबाडा, ओटनिल बार्टमान र मार्को यानसन छन् । पछिल्लो खेलमा नेपालविरुद्ध स्पिनर तबरेज शाम्सीले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिएका थिए । उनको उत्कृष्ट बलिङमा ११५ रन बनाएपनि दक्षिण अफ्रिका विजयी भएको थियो । शाम्सी प्रमुख स्पिनर केशव महराजको स्थानमा खेलेका थिए । पिच स्पिनर सहयोगी हुँदा महराज र शाम्सी दुबै खेल्ने सम्भावना हुँदा मार्को यानसन बाहिर हुनसक्छन् ।

अमेरिका र दक्षिण अफ्रिका पहिलो पटक टी२० आईमा प्रतिस्पर्धा गर्न लागेका हुन् । सुपर-८ को दोस्रो खेलमा इंग्ल्यान्ड र वेष्टइण्डिजबीच भोली बिहान ६ : १५ मा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?