+
+

छोरीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा बुबा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १४:०७

५ असार, काठमाडौं । छोरीलाई जबरजस्ती करणी र वेश्यावृत्तिमा लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरी वृत्त, सोह्रखुट्टेको टोलीले काठमाडौंको नयाँबजार क्षेत्रबाट ४४ वर्षीय व्यक्तिलाई पक्राउ गरेको हो ।

घरमै यौनशोषण भएको भन्दै काठमाडौं महानगरपालिकाको टोलीलाई सूचना आएपछि प्रहरी, महानगरपालिका र बालअधिकारकर्मी सहितको टोली पीडित १७ वर्षीया किशोरीलाई उद्दार गर्न पुगेको थियो ।

त्यसक्रममा महानगरको टोलीले किशोरीलाई उद्दार गर्‍यो भने प्रहरीले पीडितको प्रारम्भिक बयानका आधारमा उनका बुबालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

प्रहरीले मंगलबार अपराह्न नै पीडितको थापाथलीस्थित प्रसूति गृहमा स्वास्थ्य जाँच गराएको छ ।

बुधबार ती बुबाविरुद्ध हाडनाता करणी र बालबालिका ऐनमा भएको आर्थिक आर्जनका लागि बालबालिकालाई यौनजन्य क्रियाकलापमा लगाउन नपाइने कसूरमा किटानी जाहेरी दर्ता भएको छ । सोह्रखुट्टे प्रहरीका अनुसार, दिउँसो पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गर्न अदालत उपस्थित गराइएको छ ।

काठमाडौं महानगरपालिकाले आफन्त बाहेकका व्यक्तिको घरमा बसेका र यातायात क्षेत्रमा काम गरिरहेका बालबालिकाबारे अध्ययन गरिरहेको छ । त्यसक्रममा महानगरभित्रका प्रत्येक स्कुलमा पुगेर महानगरको टोलीले विवरण संकलनसमेत गरिरहेको छ ।

स्कुलमा रहेका बाल क्लब र बालबालिकाको समूहमार्फत गरिएको अध्ययनका क्रममा बालबालिकाको अवस्था अनुसार जोखिममा रहेका बालबालिकालाई महानगरपालिकाका अधिकारीहरु जुनसुकै बेला सम्पर्क गर्न सक्ने गरी व्यवस्था मिलाइएको थियो ।

त्यसक्रममा आएको सूचना अनुसार, केहीअघि उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर विदुर शिवाकोटी पनि जबर्जस्ती करणीको कसूरमा पक्राउ परेका थिए । काठमाडौं महानगरका मेयर बालेन शाहको सचिवालयका सदस्य धिरज जोशीका अनुसार, महानगरले हालसम्म बालश्रम शोषण र दुर्व्यवहारमा परेका गरी ४२ जना बालबालिकालाई उद्दार गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?