+
+

एक सातामा दुई प्रहरीको शंकास्पद मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १८:५७

५ असार, काठमाडौं । पछिल्लो एक सातामा दुई प्रहरी जवानको शंकास्पद मृत्यु भएको पाइएको छ ।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनभित्रको शौचालयमा प्रहरी जवान अजित गोले मृत अवस्थामा भेटिए । एक साताअघि ३१ जेठमा जिल्ला प्रहरी कार्यालय सिरहाको शौचालयमै अर्का प्रहरी जवान करिश्मा सुनार मृत अवस्थामा भेटिएकी थिइन् । दुबै जनाले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

आत्महत्या दुरुत्साहनको आरोपमा करिश्माका प्रेमी पुष्कर थापा मगरलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको छ ।

२५ वर्षकी करिश्मा जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तलाको शौचालयमा मृत फेला परेकी थिइन् ।

मोबाइलमा भेटिएको म्यासेजको आधारमा पुष्करलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको सिरहाका एसपी रमेश पण्डितले बताए । ‘मोबाइलमा केही दुरुत्साहन देखिने किसिमका केही प्रमाणहरु भेटिएपछि हुम्लाबाट पक्राउ गरी ल्याएर अनुसन्धान अघि बढाएका छौं’ एसपी पण्डितले अनलाइनखबरसँग भने ।

बुधबार दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोले संसद भवनको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत भेटिएका थिए । घटनास्थल मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । उनको मोवाइल पनि शौचालयमा भेटिएको छ ।

प्रेम सम्बन्धमा दरार आएपछि आत्महत्या गरेको खुल्ने किसिमका म्यासेजहरु गोलेको मोबाइलमा भेटिएको अनुसन्धान अधिकृतहरु बताउँछन् । ‘आत्महत्या गर्नुको कारण प्रेमिकासँगको सम्बन्धमा दरार रहेको खुलेको छ’, एक अनुसन्धान अधिकारीले भने ।

गोलेले आफैंले बोकेको इन्सास बन्दुकबाट १ राउण्ड गोली निधारमा हानेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

उनी बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए । प्रहरीको केन्द्रीय विशेष कार्यदलमा कपन दरबन्दी रही उनी संसद भवनमा खटिँदै आएका थिए । कार्यदलमा कमाण्डो तालिम गरेको प्रहरी रहने भए पनि उनी भने कमाण्डो तालिम प्राप्त व्यक्ति होइनन् । उनी २०७८ सालमा प्रहरी जवानमा भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?