+
+

विराजभक्तलाई धनराजले भने : तपाईंको राजीनामाले प्रधानमन्त्रीलाई अप्ठ्यारो पर्दैन

 'तपाईको राजीनामा पत्रलाई २०८४ सम्‍म सुरक्षित राख्नुस्'

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १४:२१

५ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद धनराज गुरुङले युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको राजीनामाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अप्ठ्यारो नपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै कांग्रेस सांसद गुरुङले राजीनामा पत्र खल्तीमा बोकेर हिँडेको मन्त्री श्रेष्ठको अभिव्यक्ति स्मरण गरेका हुन् ।

यही असार २ गते रास्वपा स्थापना दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको संसदीय दलका उपनेता समेत रहेका मन्त्री श्रेष्ठले राजीनामा पत्र बोकेर हिँडिरहेको र त्यसमा मिति मात्रै लेख्न बाँकी रहेको बताएका थिए । उक्त अभिव्यक्ति स्मरण गर्दै कांग्रेस सांसद गुरुङले मन्त्री श्रेष्ठको राजीनामाले प्रधानमन्त्रीलाई अप्ठ्यारो नपर्ने बताएका हुन् ।

‘उहाँको खल्तीबाट राजीनामा पत्र निस्कीहाल्यो भने कतिलाई लाग्न सक्छ-कतै प्रधानमन्त्रीलाइ अप्ठ्यारो पर्न सक्छ कि ! पर्दैन । कतिलाई लाग्न सक्छ उहाँकै मन्त्री पद जाने हो कि ! जाँदैन त्यो पनि’ कांग्रेस सांसद गुरुङले भने ।

राजीनामा पत्र २०८४ सालसम्म सुरक्षित राख्न पनि मन्त्री श्रेष्ठलाई सांसद गुरुङको सुझाव छ ।

‘उहाँको खल्त्बिाट राजीनामा पत्र फत्र्याक्क निस्किहाल्यो भने कतै पानीमा भिज्छ कि भन्ने मलाई चिन्ता हो । पानीले नभिजोस् भन्ने मेरो चिन्ता हो’ उनले थपे, ‘पानीमा भिज्यो भने त्यो च्यातिन्छ । नच्यातियोस् भन्ने मेरो चिन्ता हो । त्यसकारणले सुरक्षितै राख्नुहोस् मेरो कामना छ ।’

पानीबाट जोगाउन राजीनामा पत्रलाई पलास्टिकले कोटेट गरेर राख्न भन्दै उनले ब्यङ्ग्य गरे । ‘बरु एउटा सुझाव दिन छ मलाई-त्यो राजीनामा पत्रलाई पलास्टिक कोटेट नै बनाएर राख्नुस् । २०८४ को चुनावभरीसम्म त्यो खल्तीमा राम्रोसँग राख्नुस् भन्ने मेरो आग्रह छ ।’

राजीनामा पत्र झर्ला र च्यातिएला भनेरै आफू युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथि कडा टिप्पणी गर्ने पक्षमा नरहेको भन्दै ब्यङ्ग्य गरे ।

‘युवा तथा खेलकुद मन्त्रालयको बिभिन्न शिर्षकको सन्दर्भमा साह्रै धेरै टिप्पणी गर्न चाहन्न । किनभने युवा तथा खेलकुद मन्त्रीले खल्तिमा राजीनामा पत्रै बोकेर हिड्नुभएको छ । त्यसैले धेरै कडा बोल्न भएन यहाँबाट’ उनले भने, ‘धेरै कडा बोल्दा उहाँको खल्तिबाट खुत्रुक्क त्यो राजीनामा पत्र निस्क्यो भने गाह्रो होला भनेर पनि हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?