+
+

विराजभक्तलाई समर्थन गर्दै चित्रबहादुर केसीले सुनाए झ्याउरे गीत

‘थुकम गाईंको दूध, निलम भने रम’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १५:३०

५ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले केही दिनअघि राजीनामा खल्तीमा बोकेर हिँडेका छौं भनेर दिएको अभिव्यक्तिको समर्थन गरेका छन् । उनले भेदभावपूर्ण बजेट स्वीकार गरेर सरकारमा बस्नुपर्दाको पीडा खेलकुदमन्त्रीले व्यक्त गरेको बताए ।

बुधबार प्रतिनिधिसभामा युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै केसीले विगतमा आफू पनि एक पटक सहकारी तथा गरिबी निवारण मन्त्री हुँदै यस्तै पीडा भोग्नुपरेको बताए ।

‘अहिले खेलकुदमन्त्रीले जे पीडा बोक्नुभएको छ मैले पनि त्यही बोकेका थिएँ, उहाँले त्यसै राजीनामा खल्तीमा हालेर हिँडेको छु भन्नुभएको छैन, त्यो यथार्थ हो’ उनले भने ।

पहाडतिर झ्याउरेमा अहिलेका खेलकुदमन्त्रीको पीडा सम्झाउने गीत प्रचलनमा रहेको उनले सुनाए । ‘पहाडमा झ्याउरे गीत गाउँछन्, थुकम भने गाईंको दूध, निलम् भने रम’, केसीले भने, ‘सरकारमा बस्नुपरेको छ, बजेट यस्तो भेदभावपूर्ण छ ।’

उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट देखेपछि एमालेले बजेटमा कुन हदसम्म मनपरी गरेको रहेछ भन्ने खुलेको बताए ।

‘सत्ता पक्षकै सांसदले बजेट फलानो पार्टीमा मात्रै गयो भन्दै गरेको सुन्दा त त्यस्तो भएछ क्यारे जस्तो लागेको थियो । हिजो (मंगलबार) यहाँ (संसदमा) ठ्याक्क कुरा आउँदा थाहा भयो– त्यो त अरुले विरोध नगरुन् भनेर पहिल्यै मुख टालिएको रहेछ । बुझियो नि त कुरा’, सांसद केसीले भने ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटमाथि छलफल थियो ।

सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले धनुषामा आफ्नो र पत्नी जुलीकुमारी महतोको निर्वाचन क्षेत्रका साथै एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा धेरै बजेट विनियोजन गरेको भन्दै आलोचना गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले त भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका नै च्यातेका थिए । कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले मन्त्री महासेठले दार्चुलाको खलंगा–तिंकर सडकलाई बजेट नदिएको भन्दै मौन धारण गरेका थिए ।

कांग्रेसकै सांसद रामहरि खतिवडालाई मन्त्री महासेठका लागि भन्दै रोष्ट्रममा पाँच रुपैयाँ छोडेका थिए । एमालेकै सूर्य थापाले भालुवाङ प्युठान सडकमा बजेट नदिएकामा आक्रोश पोख्दै सद्वुद्धि पलाउँछ कि भन्दै मन्त्री महासेठलाई स्वर्गद्वारी भ्रमणको निम्तो दिएका थिए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले संसदको मंगलबारको दृश्यले एमालेले आफ्नो विरोध रोक्न मात्र माओवादीलाई आरोपित गरेको पुष्टि हुने टिप्पणी गरे ।

एमालेको नाम नलिएर सांसद केसीले ब्यङ्ग्य गरे, ‘भित्र ढिँडो बाहिर भात, बुझिम साहेब तपाईंका बात ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?