+

जन्डिसबारे केही भ्रम र सत्य (भिडियो)

२०८१ असार  ६ गते ७:०० २०८१ असार ६ गते ७:००
जन्डिसबारे केही भ्रम र सत्य (भिडियो)

जन्डिस भनेको रोग हो भन्ने मान्छेलाई लाग्छ । तर जन्डिस रोग नभएर रोगको लक्षण हो । जसरी विभिन्न रोगको लक्षणको रुपमा ज्वरो आउन सक्छ, त्यसरी नै जन्डिस पनि कलेजो र कलेजोको नलीहरूको समस्याको एउटा लक्षण हो ।

शरीरमा बिलुरुबिनको मात्रा २.५ भन्दा बढी भयो भने जन्डिस देखा पर्छ । रगतमा भएको हेमोग्लोबिन नष्ट भएपछि सहउत्पादनका रुपमा बिलुरुबिन बन्छ । त्यस्तो बिलुरुबिन कलेजोले छानेर शरीरबाट बाहिर निस्कन्छ । तर कुनै कारणले रगतबाट कलेजोमा प्रवेश नपाउँदा वा कलेजोले छान्न नसक्दा शरीरमा यसको मात्रा बढ्छ र जन्डिस निम्त्याउँछ । आँखादेखि शरीरका विभिन्न भाग पहेंलो हुनु नै जन्डिस हो ।

जन्डिसको अन्य कारण

हेपाटाइटिस हुँदा पनि लक्षणको रुपमा जन्डिस देखाउँछ । हेपाटाइटिस ए, बी, सी, डी र ईमध्ये हेपाटाइटिस ए र ई प्रदूषित खाना र दूषित पानीले सर्छ भने बी, सी र डी रगतको संक्रमणबाट सर्छ । हेपाटाइटिसको समस्यामा कलेजो सुन्निन्छ । र, संकेतको रुपमा जन्डिस पनि देखिन्छ । अत्याधिक रक्सी पिउने व्यक्तिमा पनि कलेजो सुन्निएर जन्डिस देखिन सक्छ ।

त्यस्तै पित्तनली सुन्निएर वा त्यसमा अवरोध आई पित्त आन्द्रासम्म पुग्न नसक्ने अवस्थामा, पित्त नलीको क्यान्सर, लिभर सिरोरिस, कलेजोमा पिप जमेमा, खाना पचाउने नली सुन्निएमा, आमाशयको क्यान्सर, क्षयरोगको औषधि सेवन, सिटामोल धेरै मात्रामा प्रयोग गर्दा, जथाभावी आयुर्वेदिकको नाममा औषधि सेवन गर्दा कलेजो सुन्निन सक्छ, जसले गर्दा जन्डिस देखा पर्न सक्छ ।

जन्डिसको लक्षण

जन्डिस आफैंमा एक लक्षण हो । त्यसैले के कारणले जन्डिस भयो सोहीअनुसारको थप लक्षण चिन्ह देखा पर्छ । जन्डिस हुँदा खानामा अरुचि, दाहिने कोखा दुख्ने, आँखाको सेतो भाग पहेंलो हुने हुन्छ ।

जन्डिसको मात्रा बढ्दै गयो भने पिसाब पनि पहेंलिन थाल्छ । पित्त बहने नलीमा पत्थरीले गर्दा अवरोध भएको छ वा  पित्त नलीको क्यान्सरको कारण जन्डिस भएको हो भने दिसा खैरो हुने, शरीर चिलाउने जीउ दुख्ने, ज्वरो आउने हुन्छ । साथै तौल घट्ने, वाकवाकी लाग्नेजस्ता लक्षण देखिन्छ ।

औषधि प्रयोग गर्दा ध्यान दिनैपर्छ

आयुर्वेदिक औषधिको साइड-इफेक्ट हुँदैन भन्ने हामीले धेरै सुनेका छौं, तर आयुर्वेदिक औषधिको जथाभावी प्रयोगले कलेजोमा असर पर्छ । उदाहरणको रुपमा हामीले कोरोनाको बेला खाएको गुर्जोलाई लिन सक्छौं । त्यो बेला जथाभावी गुर्जोको सेवन गर्दा धेरैमा कलेजो सुन्निने समस्या देखा परेको थियो ।

कुनै पनि चीज हाम्रो शरीरले पचाउँदा त्यसबाट उत्पादित विकम, वस्तु बाहिर फाल्ने काम कलेजो र मिर्गौलाको हो । आयुर्वेदिक मात्र हैन, एलोपेथिक औषधिको जथाभावी प्रयोगले कलेजो सुन्निन सक्छ ।

जन्डिसबारे केही भ्रम

भ्रम : जन्मजात जन्डिस रोग हो

– खासमा जन्मजात जन्डिस रोग होइन । विश्वमा पाँचदेखि १० प्रतिशतमा जन्मजात रुपमा जन्डिसको समस्या देखा पर्छ । यसलाई गिलबर्ट सिन्ड्रोम भनिन्छ । यसमा आँखा पहेंलो हुन्छ, बिलिरुबिन ४-५ हुन्छ तर यसले बिगार गर्दैन । त्यसैले यसबाट डराउनु पर्दैन ।

भ्रम : जन्डिस दोहोरिन्छ

– दोहोरिने वा बारम्बार देखापर्ने जन्डिस सामान्य हुँदैन । कलेजोको क्यान्सर, पित्तथैलीमा पत्थरी, लिभर सिरोसिस आदिमा जन्डिस दोहोरिन सक्छ । धेरै रक्सी पिउने व्यक्तिमा कलेजो बिग्रिएर जन्डिस भयो, रक्सी छोडेपछि निको भयो तर फेरि रक्सी पिउन थाल्यो भने पनि जन्डिस दोहोरिन सक्छ । नत्र अरू कारणले भएको जन्डिस खासै दोहोरिंदैन ।

भ्रम : जन्डिस हुँदा बेसार र पहेलो कुरा खानु हुँदैन

– जन्डिसमा पहेंलो रङ्गको खानेकुरा खानु हुँदैन भन्ने गलत धारणा छ । पहेंलो खानेकुराले कुनै किसिमको हानि गर्दैन ।  जन्डिस हुने बित्तिकै मुख बार्नु पर्दैन । खानेकुरामा दाल, भात, तरकारी, फलफूल, अमिलो, पिरो, चिल्लो, नुन, तेल, बेसार र मसला सबै सन्तुलित मात्रामा खान सकिन्छ । तर तारेको, बोसोयुक्त खानेकुराले कलेजोको पित्तलाई असर गर्ने हुँदा नखानु राम्रो हुन्छ ।

उपचार

जन्डिसको विशेष खालको उपचार पद्धति छैन । के कारणले जन्डिस भएको सोहीअनुसार उपचार प्रक्रिया अघि बढ्छ ।  हेपाटाइटिस ए र ई स्वास्थ्यकर खानपान गरेमा आफैं ठीक हुन्छ । पित्तनलीमा पत्थरी भएमा त्यसलाई निकाल्ने, क्यान्सर भएमा त्यसको चरणलाई मध्यनजर गर्दै सम्भव भए शल्यक्रिया गर्ने गरिन्छ ।
त्यस्तै, कुनै औषधिको कारण जन्डिस भएको हो भने औषधि बन्द गर्दा स्वतः कम हुँदै जान्छ । हेपाटाइटिस बी र सी भएमा अस्पतालमा उपचारसँगै चिकित्सकको निर्देशनअनुसार औषधि खाएर मात्र निको हुन्छ ।
जन्डिस भएमा सन्तुलित खाना खानुपर्छ, जसले गर्दा शरीरको रोगसँग लड्ने क्षमता राम्रो हुन्छ । झोलिलो पदार्थ धेरै खानुपर्छ । सकेसम्म औषधि कम भन्दा कम खानुपर्छ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

जन्डिस स्वास्थ्य समस्या
डा. अवशेष भण्डारी
लेखक
डा. अवशेष भण्डारी
जनरल फिजिसियन, पेट तथा कलेजोरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १०८८४ अध्ययन : एमबीबीएस, एमडी (ग्यास्ट्रोइन्ट्रोलोजी) हाल काठमाडौंस्थित हेल्पिङ ह्याण्ड्स अस्पताल र ग्यास्ट्रो एण्ड लिभर फाउन्डेसनमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय