+
+

अजिरकोटको नीति : घरेलु रक्सीको स्तर निर्धारण गर्ने

प्लाष्टिकको गिलास ग्लास र थालको सट्टा दुना टपरी

विकास मरहट्टा विकास मरहट्टा
२०८१ असार ५ गते १८:५५

५ असार, गोरखा । अजिरकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार भएको गाउँसभाको १५ औं अधिवेशनमा अध्यक्ष दीपक देवकोटाले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

आगामी आर्थिक वर्ष कोदोको रक्सीको स्तर निर्धारण गरी ब्राण्डिङ गर्ने पालिकाको नीति छ । खुर्पानीको जुस र वाइन उद्योग सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ ।

पानीअमला, काफल, एसेलु, चुत्रो जस्ता वनजन्य फलफूललाई उद्योगसँग जोड्न वाइन उत्पादन अध्ययन अनुसन्धान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । बोतलमा पाइने सस्ता मदिरा बिक्री वितरणमा रोक लगाउने र घरेलु मदिरालाई व्यवस्थित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

गुन्द्रुक उद्योगलाई निरन्तरता दिने, मस्यौरा, न्यूरो, टुसा जस्ता स्थानीय उत्पादनको बर्गीकरण र ब्राण्डिङ गर्ने योजना रहेको पालिका अध्यक्ष देवकोटाले बताए । कोसेली घर निर्माण गरी उक्त उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्ने नीति रहेको उनले सुनाए ।

‘नेपाली कागज र दुनाटपरी उद्योगको आवश्यक व्यवस्था गरिने छ’, उनले भने, ‘डोको, नाम्लो, डालो, नाङ्लो, मान्द्रो, भकारी, राडी र बख्खुको उत्पादन, प्रवर्द्धन र बजारीकरणका कार्यक्रमहरु सञ्चालन गर्छौं ।’

पर्यटन प्रवर्द्धनका लागि गोठ होमस्टे कार्यलाई प्रभावकारी ढंगले अघि बढाइने उनले बताए । नागेपोखरी ङार्कु हाइ अल्टिच्यूड साइक्लिङ रुट निर्माणले आगामी बर्ष पनि निरन्तरता पाउने भएको छ ।

विद्यालयमा हुनेले दिने–लिने कार्यक्रम सञ्चालन गरी विद्यार्थीको भरण पोषणसहित शैक्षिक सुधारमा खर्च गरिने नीति पालिकाले लिएको छ ।

सार्वजनिक र सरकारी पदमा रहेका नागरिकका छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरी अध्ययन गराउन प्रोत्साहन गरिने भनिएको छ ।

कृषि एम्बुलेन्स सञ्चालन गर्ने र उत्पादित कृषि उपजको बजार मूल्य निर्धारणसँगै बजारीकरण गर्ने नीति पालिकाले लिएको छ । एक वडा एक व्यवसायिक कृषि उत्पादन कार्यक्रमले निरन्तरता पाउने भएको छ ।

एक वडा एक नमूना गाउँको नीति पनि पालिकाले ल्याएको छ । कृषि अनुदानको दुरुपयोग गर्ने लाभग्राहीलाई तीन बर्षसम्म अनुदानबाट बञ्चित गराउने पालिकाले जनाएको छ ।

बाहिरबाट आयातित फलफूल तरकारीलाई निरुत्साहित गर्दै आवश्यकता अनुसार क्वारेन्टाइनको नीति अवलम्वन गर्ने नीतिमा उल्लेख छ ।

आगामी आर्थिक वर्ष पालिकाले भेडा, च्याङ्ग्रा, चौरी लगायतका पशु चौपायको व्यवसायिक पालनमा जोड दिने भएको छ । आलु, प्याज, लसुन, अदुवा, बेसार र खुर्सानीमा आत्मनिर्भर बन्ने नीति पालिकाले लिएको छ ।

पूर्ण रुपमा अपाङ्गता भएका र ८० वर्षमाथिका जेष्ठ नागरिक र शहीद परिवारको उपचारको लागि भच्चेक अस्पतालसम्म निःशुल्क एम्बुलेन्स सेवा कार्यले आगामी वर्ष पनि निरन्तरता पाउने भएको छ ।

स्थानीय कला, संस्कृति, भेषभूषा र रितिरिवाज झल्कने संग्रहालय खोल्ने योजना पालिकाको छ । आगामी आर्थिक वर्षभित्र पालिकाको सबै घरमा विद्युतको केन्द्रीय प्रशारण लाइन पुर्‍याउने नीति रहेको अध्यक्ष देवकोटाले बताए ।

पालिका र मातहतका कार्यालयमा रहेको प्लाष्टिकको ग्लास, थाल आदिलाई प्रतिबन्ध लगाइने र दुना टपरीको प्रयोगको व्यवस्था मिलाइने उनले जानकारी दिए । सेवा प्रवाह हुने कार्यालय र पर्यटकीय स्थलमा फ्री वाइफाइ जोन स्थापना गरिने अजिरकोटको नीति तथा कार्यक्रममा उल्लेख छ ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?