+
+

११ महिनामा प्राइम र नबिलको व्यवसाय आक्रामक, सम्हालिँदै प्रभु

आर्थिक वर्ष सकिन एक महिना बाँकी हुँदा मौद्रिक नीति लक्ष्यभन्दा आधा पनि कर्जा विस्तार हुन सकेको छैन । २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४८ खर्ब ७८ अर्ब थियो । ३२ जेठ २०७९ मा ५१ खर्ब ३२ अर्ब पुगेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते २०:०५

५ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा वाणिज्य बैंकहरूले ४ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा २ खर्ब २४ अर्ब मात्रै कर्जा प्रवाह गरेका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आवका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत निजी विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११.५ प्रतिशतले विस्तार हुने अनुमान गरेको थियो ।

आव सकिन एक महिना बाँकी हुँदा मौद्रिक नीति लक्ष्यभन्दा आधा पनि कर्जा विस्तार हुन सकेको छैन । २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४८ खर्ब ७८ अर्ब थियो । ३२ जेठ २०७९ मा ५१ खर्ब ३२ अर्ब पुगेको राष्ट्र बैंक सहायक प्रवक्ता डिल्लीराम पोखरेलले बताए ।

मौद्रिक नीतिले ११.५ प्रतिशतको कर्जा विस्तार लक्ष्य लिए पनि आव सकिन एक महिना मात्रै बाँकी हुँदा कुल कर्जा विस्तार ५.२१ प्रतिशत मात्रै छ ।

मौद्रिक नीति लक्ष्य अनुसार कर्जा विस्तार हुँदा चालु आव करिब ५ खर्ब ६७ अर्ब कर्जा विस्तार हुनुपर्ने थियो । तर, जेठसम्म २ खर्ब ५४ अर्बले मात्रै बढेको हो ।

जसमध्ये वाणिज्य बैंकहरूले २ खर्ब २४ अर्बले कर्जा विस्तार गरेका छन् । २०८० असार मसान्तमा ४३ खर्ब १८ अर्ब रहेको वाणिज्य बैंकहरूको कुल कर्जा लगानी २०८१ जेठ मसान्तमा ४५ खर्ब ४२ अर्ब पुगेको छ ।

मौद्रिक नीति लक्ष्य अनुसार कर्जा विस्तार हुन नसके पनि निक्षेप वृद्धिदर भने उच्च देखिन्छ । यस्तै २०८० असारमा स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशत निक्षेप गणना भइरहेको थियो । तर, वैशाखदेखि त्यसलाई निक्षेप गणना गर्न नपाइने व्यवस्था हुँदा गत असारमा बैंकहरूले निक्षेप गणना गरिरहेको १ खर्ब स्रोत चालु आवबाट निक्षेपमा गणना गर्न नपाइने व्यवस्था भयो ।

यति हुँदा पनि चालु आव बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४ खर्ब ७० अर्बले वृद्धि भएको छ । गत असार मसान्तमा ५७ खर्ब ७१ अर्ब रहेको कुल निक्षेप जेठ मसान्तमा आउँदा ६२ खर्ब ४१ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ ।

४ खर्ब ७० अर्ब निक्षेप बढ्दा वाणिज्य बैंकहरूको मात्रै ४ खर्ब ५२ अर्ब बढेको छ । २०८० असार मसान्तमा कुल निक्षेपमध्ये वाणिज्य बैंकहरूको निक्षेप ५० खर्ब ८६ अर्ब थियो । २०८१ जेठ मसान्त आउँदा ५५ खर्ब ३८ अर्ब पुगेको छ ।

नबिलले मात्रै बढायो आधा खर्ब कर्जा

वाणिज्य बैंकहरूले सवा २ खर्ब कर्जा विस्तार गर्दा नबिलले मात्रै करिब आधा खर्बले कर्जा बढाएको छ । बैंकहरूमा पूँजीकोषमा देखिएको दबाब, अर्थतन्त्रमा देखिएको शिथिलताले कर्जा माग न्यून छ । कमजोर आर्थिक गतिविधिले कर्जा माग न्यून हुँदा पनि नबिल बैंक र प्राइम कमर्सियल बैंक भने कर्जा विस्तारमा आक्रामक देखिएका छन् । गत असार मसान्तमा ३ खर्ब ४१ अर्ब कर्जा रहेको नबिलको चालु आव ११ महिनामा ४७ अर्ब ९१ करोडले बढेर ३ खर्ब ८९ अर्ब पुगेको छ ।

बैंकिङ प्रणालीको कर्जा विस्तार ५ प्रतिशतमा सीमित हुँदा नबिलले भने १४ प्रतिशतले बढाएको छ । नबिलभन्दा कर्जा विस्तारमा आक्रामक प्राइम बैंक देखिन्छ । गत असारमा १ खर्ब ६३ अर्ब मात्रै रहेको प्राइमको कुल कर्जा जेठ मसान्तमा १८.२३ प्रतिशतले बढेर १ खर्ब ९३ अर्ब पुगेको हो ।

उसको कर्जा ११ महिनामा ३० अर्बले बढेको छ । यस्तै एभरेस्ट बैंकको कर्जा १०.५६ प्रतिशतले बढेर १ खर्ब ८५ अर्ब ८८ करोड पुग्दा, कृषि विकास बैंकको १०.०८ प्रतिशतले बढेर २ खर्ब २ अर्ब र नेपाल बैंकको १०.०६ प्रतिशतले बढेर २ खर्ब ५ अर्ब पुगेको छ ।

यस्तै सिटिजन्स बैंकले पनि कर्जा ९.२७ प्रतिशतले बढाएर १ खर्ब ५७ अर्ब पु¥याएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकसहित प्रभु बैंक र लक्ष्मी सनराइज बैंकको कर्जा भने गत असारको तुलनामा घटेको छ ।

स्ट्यान्डर्ड चार्टर्डको कर्जा ९५ अर्बबाट ७.३२ प्रतिशतले घटेर ८८ अर्बमा झरेको हो । त्यस्तै प्रभुको कर्जा २.२३ प्रतिशतले घटेर २ खर्ब ३७ अर्बमा आउँदा लक्ष्मी सनराइजको कर्जा ०.२३ प्रतिशतले घटेर २ खर्ब ५७ अर्बमा झरेको छ । जेठ मसान्तमा ग्लोबल आईएमई बैंकको सबैभन्दा धेरै ३ खर्ब ९० अर्ब कर्जा लगानी छ ।

राष्ट्रिय वाणिज्य बैंकको निक्षेप ८२ अर्ब बढ्यो

चालु आव ११ महिनामा राष्ट्रिय वाणिज्य बैंकले मात्रै ८१ अर्ब ६५ करोडले निक्षेप बढाएको छ । गत असार मसान्तमा ३ खर्ब २३ अर्ब रहेको उसको कुल निक्षेप २५.२८ प्रतिशतले बढेर ४ खर्ब ५ अर्ब पुगेको हो ।

यस्तै ग्लोबल आईएमई र नबिलले पनि निक्षेप ५० अर्बभन्दा धेरैले बढाएका छन् । ग्लोलब आईएमईको निक्षेप गत असारमा ४ खर्ब ३९ अर्ब रहेकोमा ५४ अर्ब ६३ करोडले बढेर ४ खर्ब ९४ अर्ब पुगेको छ । उसको निक्षेप १२.४३ प्रतिशतले बढेको हो ।

नबिलको निक्षेप गत असारमा ४ खर्ब २ अर्ब ६४ करोड रहेकोमा जेठ मसान्तमा ५२ खर्ब ८९ अर्बले बढेर ४ खर्ब ५६ अर्ब पुगेको छ । नबिलले १३.१४ प्रतिशतले निक्षेप बढाएको छ ।

यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको निक्षेप पनि १०.५२ प्रतिशतले बढेर ३ खर्ब ९७ अर्ब पुगेको हो । प्राइमको निक्षेप १७.७४ प्रतिशत, नेपाल एसबीआई १५.२५, कृषि विकास १४.४९, एभरेस्ट १३.९३ र नेपाल बैंकको निक्षेप ११.६८ प्रतिशतले बढेको हो ।

स्ट्यान्डर्ड चार्टर्ड, माछापुच्छ्रे र प्रभुले भने निक्षेप घटाएका छन् । स्ट्यान्डर्ड चार्टर्डको निक्षेप ६.०५ प्रतिशतले घटेर १ खर्ब १५ अर्बमा झरेको छ । अधिक तरलता र कर्जा लगानी गर्न नसकेको अवधिमा बैंकले ब्याजर घटाएको थियो भने निक्षेप समेत घट्दा लागत कम भएको छ ।

यस्तै पूँजीकोषको समस्या भएका माछापुच्छ्रे र प्रभले व्यवसाय बढाउन सकेका छैनन् । बैंकहरूको निक्षेप पनि घटेको छ । माछापुच्छ्रेको निक्षेप ५.४३ प्रतिशतले घटेर १ खर्ब ५० अर्बमा झरेको छ । त्यस्तै प्रभुको निक्षेप ४ प्रतिशतले घटेर २ खर्ब ८४ अर्बमा झरेको हो ।

निक्षेपमा उच्च वृद्धि र कर्जा लगानी हुन नसक्दा सीडी रेसियो पनि घट्दै गएको छ । जेठ मसान्तमा वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ८०.४२ प्रतिशतमा झरेको छ । बैंकहरूले अधिक तरलता भएर राष्ट्र बैंकमा सस्तोमा निक्षेप राख्नुपर्ने अवस्था छ भने सरकारी ऋणपत्रमा पनि लागतभन्दा कम ब्याजदरमा लगानी गरिरहेका छन् ।

अधिक तरलता भएर सीडी रेसियो कम भएका बैंकहरूलाई लागत व्यवस्थापन गर्न समेत चुनौती हुन्छ । उच्च निक्षेप बढे पनि कर्जा बढ्न नसक्दा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाािण्ज्य बैंकको सीडी रेसियो ६४.०६ प्रतिशतमा झरेको छ ।

राष्ट्र बैंकले तरलताका कारण बैंकिङ संकट नआओस् भन्दै बैंकहरूले न्यूनतम २० प्रतिशत तरल सम्पत्ति कायम गर्नुपर्ने र कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) अधिकतम ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । तर, बैंकिङ प्रणाली भने त्यसभन्दा धेरै सहज अवस्थामा छ ।

करिब साढे ६२ खर्बको कुल निक्षेप रहेको बैंकिङ प्रणालीमा २०८० जेठ मसान्तको औसत सीडी रेसियो करिब ८० प्रतिशत छ । यसका आधारमा बैंकिङ प्राालीमा ६ खर्बभन्दा धेरै लगानीयोग्य स्रोत रहेको देखिन्छ ।

गत असारसम्म पूँजीकोष प्रयोजनका लागि जारी ऋणपत्रको शतप्रतिशत सीडी गणना गर्दा स्रोतमा गणना गर्न सक्ने व्यवस्था रहे पनि पुसबाट ५० प्रतिशत मात्रै सीडी रेसियोमा गणना गर्न सक्ने व्यवस्था भयो ।

यस्तै स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशत निक्षेप गणना गर्न पाइनेमा बैंकहरूले ६० प्रतिशत हुँदै चैत अन्तिम साताबाट निक्षेपमा गणना गर्न नपाउने व्यवस्था भयो । जसले सीडी रेसियोमा स्रोतमा गणना भइरहेको करिब डेढ खर्ब स्रोतबाट हटाउँदा समेत बैंकिङ प्रणालीमा ६ खर्बभन्दा धेरै लगानीयोग्य स्रोत छ ।

तर, कर्जामा माग नभएर सीडी रेसियो तल आउँदा निक्षेपको लागत बढ्ने तर ब्याज आम्दानी सोही अनुसार बढ्न नसक्दा बैंकहरूको आम्दानी पनि प्रभवित हुन्छ ।

जेठमा राष्ट्रिय वाणिज्यपछि नेपाल एसबीआईको सीडी रेसियो ७४.०४ प्रतिशत छ । ८० प्रतिशभन्दा तल सीडी रेसियो हुने बैंकमा नेपाल बैंक ७४.३५, ग्लोबल आईएमई ७६.०९, स्ट्यान्डर्ड चार्टर्ड ७६.५२ र लक्ष्मी सनराइजको ७८.३९ प्रतिशत छ ।

यता सबैभन्दा धेरै सीडी रेसियो भने प्राइमको छ । उसको सीडी रेसियो ८७.०४ प्रतिशत छ । बैंकसँग कर्जा विस्तार गर्ने धेरै स्पेस छैन । त्यस्तै एनएमबीको ८५.८४ प्रतिशत र माछापुच्छ«ेको ८५.०५ प्रतिशत सीडी रेसियो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?