+
+

तिलोत्तमाको नीति : म गर्छु कृषि, कहीँ जान्न देश बिर्सी

सहकारी नाफाको १० प्रतिशत कृषिमा लगानी अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते १९:३८

५ असार, बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम नगर सभामा प्रस्तुत गरेको छ ।

दोस्रो नगर सभाको पाँचौं अधिवेशनमा नगर प्रमुख रामकृष्ण खाणले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा कृषिलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

नगरपालिकालाई कृषिमा आधुनिकीकरण, व्यावसायीकरण गर्दै कृषि उत्पादनमा आत्मनिर्भर बनाउन आवश्यक रणनीति निर्माण गरिने कार्यक्रममा उल्लेख छ ।

‘बरू म गर्छु कृषि, कहीँ जान्न देश बिर्सी’ भने नारालाई आत्मसात् गर्दै स्वदेशमै कृषि उद्यम गर्न चाहनेलाई प्रोत्साहित गर्न कृषि फर्मको दर्तामा शत प्रतिशत छुट दिने नीति लिएको छ ।

नदी आसपास क्षेत्रमा रहेको खाली जग्गामा सामूहिक कृषि गर्ने, युवा तथा कृषक समूहलाई प्राथमिकताका साथ जग्गा उपलब्ध गराउने नीति छ ।

यस्तै सहकारी संस्थाले गरेको सञ्चालन मुनाफामध्ये कम्तीमा १० प्रतिशत रकम सहकारी खेती, सहकारी उद्योग वा सहकारी व्यवसायमा लगाउनुपर्ने नीति बनाइ कडाइका साथ लागू गरिने नगर प्रमुख खाणले बताए ।

साथै बिउँ उत्पादन, भण्डारण र वितरण स्थानीय कृषि तथा बहुउद्देश्यीय सहकारीमार्फत गर्ने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

तिलोत्तमा १० स्थित तिलोत्तमा उद्योग ग्रामलाई शीघ्र निर्माण सम्पन्न तथा सञ्चालन गर्न प्रदेश सरकार र संघ सरकारसँग पहल गरिने जनाइएको छ ।

प्राङ्गारिक खेती प्रणालीलाई प्रबद्र्धन गर्न प्राङ्गारिक मल र जैविक विषादी प्रयोगमा मापदण्ड बनाइ अनुदान दिइने, गहुँ, मकै, तरकारी बिउँ, फलफूलका बिरुवा, घाँसका बिउँ, साना सिंचाइ, फूलखेती, व्यावसायिक तरकारी खेती, बाली तथा पशु बीामा दिएको अनुदानलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरपालिकाभित्र उत्पादन हुने हरियो तरकारी, ताजा फलफूल तथा अन्नको सुरक्षित भण्डारण गर्न तिलोत्तमा नगरपालिका, प्रदेश सरकार, संघीय सरकार एवम् दातृ निकायको सहयोग र सहकार्यमा वडा नं. १७ मा शीत भण्डारण गृह निर्माण गरिने, किसानलाई उपलब्ध गराइने विभिन्न प्रकारका कृषि अनुदान, मल, सिंचाइ लगायतलाई व्यवस्थित गराउन मापदण्ड निर्माण गरी तिलोत्तमा किसान कार्ड लागू गरिने योजना ल्याइएको छ ।

नीति तथा कार्यक्रममा ‘नगर प्रमुख किसान कार्यक्रम’लाई थप प्रभावकारी बनाइने, सिंचाइ सुविधा विस्तार गर्ने, फलफूल बिरुवाको आपूर्तिका लागि नगरपालिकाभित्र सामुदायिक वनसँग साझेदारी गरी गाउँघर नर्सरी स्थापना गरिने जनाइएको छ ।

विषादी विश्लेषण परीक्षण प्रयोगशाला स्थापना गरिने, माटो परीक्षण शिविर, पशु उपचार शिविर, विविध कृषि उत्पादन तालिम सञ्चालन गरिने र कृषि शाखा भलबारीलाई नमूना कृषि प्रदर्शनी स्थलका रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कृषि औजार हायरिङ सेन्टर स्थापना, तिलोत्तमा १४ मा पशु हाटबजार स्थापना गरी सञ्चालन, धान खेतीमा हाँस पालन गर्ने किसानलाई अनुदानमा विशेष जातका हाँसका चल्ला उपलब्ध गराउने व्यवस्था मिलाइने नीति ल्याइएको छ ।

पर्यटनतर्फ आठ धाम, एकै ठाम भन्ने नाराका साथ निर्माणाधीन मोक्षधामलाई पूर्णता दिन पहल गर्ने, कुन्जपार्कमा रात्रीकालीन उद्यानमा लेजर लाइट सहितको म्यूजिकल वाटर फाउन्टेन निर्माण गरिने नीति नगरपालिकाले ल्याएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई नगरक्षेत्र भित्रका सम्पदा संरक्षणका कार्यमा आबद्ध गरिने, उद्यम ज्ञान रोजगार तथा सूचना प्रविधि मेला सञ्चालन गरिने, महिला तथा फरक रूपमा सक्षकहरूले मात्र सञ्चालन गरेका लघु उद्यमलाई व्यवसाय करमा ७५ प्रतिशत छुट दिइने जस्ता प्रोत्साहन कार्यक्रममा समेटिएको छ ।

शिक्षातर्फ नगर प्रमुख शैक्षिक सुधार कार्यक्रम लागू गरिने, नगरभित्र टिनको छानो भएका सामुदायिक विद्यालयमा फल्स सिलिङ राखिने, विद्यार्थी करियर गाइडेन्स, एक विद्यालय एक सिर्जनशील कार्यक्रम, सिर्जनशील शुक्रबार कार्यक्रम, च्यालेन्ज फण्ड, अन्वेषण तथा नवप्रवर्तन कार्यक्रमलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

आगामी शैक्षिक सत्रदेखि नगर क्षेत्रमा एक महिला विद्यालय सञ्चालन गरिने र पढ्दै कमाउँदै कार्यक्रम लागू गरिने छ ।

स्वास्थ्यतर्फ स्वस्थ नागरिक सम्वृद्ध तिलोत्तमा नारालाई सार्थक बनाउन ज्येष्ठ नागरिकलाई निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, मधुमेह रोगको निःशुल्क शिविर, पाठेघरको मुखको क्यान्सर शिविर, आँखाको मोतीबिन्दु पत्ता लगाउने निःशुल्क स्वास्थ्य शिविर साथै आधारभूत स्वास्थ्य सेवाका औषधि नियमित रूपमा वितरण गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।

आगामी आवमा पनि गर्भवतीसँग उपमेयर कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

तिलोत्तमा नगरपालिकालाई घरमा सुत्केरी शून्य पालिका घोषणा गरी मातृ मृत्युदरलाई शून्यमा झारिने, सम्पूर्ण स्वास्थ्य संस्थामा स्तनपान कक्ष निर्माण गरिने, आनन्दवन र सेमरा बजार स्वास्थ्य चौकीबाट भिडियो एक्सरे सेवा नगरवासी गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क गरिने भएको छ ।

त्यस्तै अति विपन्न, असाहय, एकल महिला, सूचीकृत रोगी पूर्ण अपांगता भएका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

खेलकुदतर्फ प्रत्येक विद्यालयमा खेलकुद शिक्षक व्यवस्था, शिक्षकहरूलाई खेलकुद सम्बन्धी तालिमको व्यवस्था र तिलोत्तमा म्याराथुन कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

मानव सेवा आश्रमसँगको सहकार्यमा यसै वर्ष नगरपालिकालाई सहयोगापेक्षी सडक आश्रीत मानवमुक्त नगरपालिका घोषणा गरिने, नगरपालिकालाई लैंगिकमैत्री नगरपालिका घोषणा गरिने र दलित ज्ञान उत्सव कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

तिलोत्तमा लगानी सम्मेलनमा निजी क्षेत्रद्वारा प्रस्ताव गरिएको तिलोत्तमा ट्राम रेल तथा दुग्ध प्रशोधन परियोजनालाई सञ्चालनमा ल्याउन सहजीकरण गरिने, खरको छानोमुक्त नगरपालिका बनाइने, ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमाको नारालाई सार्थक बनाउन पार्कहरूको स्तरोन्नति गरिने, एक सामुदायिक वन एक जडीबुटी उत्पादन कार्यक्रम लागू गरिने पनि कार्यक्रम ल्याइएको छ ।

यस्तै एकल बिन्दु सेवा केन्द्रको स्थापना गरी सेवा प्रवाहलाई सरल र व्यवस्थित बनाइने, गरिव तथा विपन्न नागरिकका लागि निःशुल्क कानुनी सहायता दिन छुट्टै कक्षको स्थापना गरिने भएको छ ।

नगर प्रमुख नवप्रवर्तन प्रोत्साहन कार्यक्रम सञ्चालन, डिजिटल तिलोत्तमा कार्यक्रमलाई निरन्तरता, भ्रष्टाचारजन्य क्रियाकलापप्रति शून्य सहनशिलताको नीति अवलम्बन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?