+
+

यस्तो बन्यो कांग्रेसको पुस्तकालय  

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ५ गते २०:०४

५ असार, काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले डेढ दशकअघि पार्टीका ऐतिहासिक दस्तावेजहरुलाई एकत्रित गरेर पुस्तक निकाल्ने सोंच बनाए ।

ऐतिहासिक दस्तावेजहरु संकलनका लागि पहिलो स्रोत केन्द्र स्वभाविक रुपमा पार्टी कार्यालय हुन्छ । तर, उनले २०४८ साल अघिका अभिलेख तथा दस्तावेजहरु केन्द्रीय कार्यालय सानेपामा प्राप्त गर्न सकेनन् । त्यसपछि ऐतिहासिक दस्तावेजहरु खोज्नका लागि उनले दोस्रो अर्को विकल्प खोजे । पुस्तकका लागि ऐतिहासिक दस्तावेज संकलनका लागि प्रताप पौडेल, शंकर तिवारी, कृष्ण रिजाल लागिपरे ।

नेताहरु प्रदीप गिरी, नरहरि आचार्यकहाँ दस्तावेज खोज्न पटक पटक पुगे । पुरुषोत्तम बस्नेत, यज्ञ अधिकारीकहाँ धाइरहे । कांग्रेससँग जोडिएको अभिलेख खोज्न भारतसम्म पुगे । पार्टी केन्द्रीय कार्यालय स्रोतकेन्द्र बन्न नसकेपछि अन्यत्र धाउनु परेको थियो ।

महामन्त्री थापा प्रधान सम्पादक रहेको ‘नेपाली कांग्रेसको ऐतिहासिक दस्तावेजहरु’ २०६६ सालमा प्रकाशनमा आयो । ‘नेपाली कांग्रेसको ऐतिहासिक दस्तावेज प्रकाशन गर्ने सोंच बनिसकेपछि पार्टीले पारित गरेका आधिकारिक दस्तावेजहरु खोज्न केन्द्रीय कार्यालय सानेपा पुगियो,’ दस्तावेज संकलक मध्येका एक पौडेल भन्छन्, ‘पुस्तकालयको नाम दिइएको कोठा त थियो । दस्तावेजहरु थिएनन् । उपलब्ध भएकाहरु छरपष्ट राखिएको थियो ।’  अभिलेखीकरणमा कांग्रेस कमजोर रहेको यस परिघटनाले स्पष्ट पार्दछ ।

अभिलेख र दस्तावेजहरु खोजेर भेट्न सहज थिएन । कांग्रेसको इतिहाससँग जोडिएका पुस्तकहरु संकलन गरेर व्यवस्थित राख्ने पद्दति समेत पार्टीले बसाएन । करिब आठ दशकको इतिहास बोकेको दलको महाधिवेशन, महासमिति, पार्टी नेताहरुसँग जोडिएका पुस्तक, विभिन्न कालखण्डमा कांग्रेसले नै प्रकाशन गरेका पुस्तकहरु एकत्रित रुपमा कहिं पनि छैन ।

पार्टीको लेखन, दस्तावेजीकरणलाई व्यवस्थित बनाएर राख्ने कार्य भएन। अभिलेखीकरणमा कांग्रेस चुकेको थियो ।

अब के हुँदैछ?

करिब ८ दशक पार गरेको दल व्यवस्थित पुस्तकालयसँगै स्रोत केन्द्र बनाउन बल्ल जुर्मुराएको छ । गत साउनमा बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाले वार्षिक क्यालेण्डरमा ‘पार्टी साहित्य तथा दस्तावेजहरुको अभिलेख, अध्ययन गर्न पार्टी कार्यालयको पुस्तकालयलाई व्यवस्थित बनाउने’ प्रस्ताव ल्याए । थापाको प्रस्तावलाई केन्द्रीय समितिले निर्णय गर्‍यो ।

अत्याधुनिक पुस्तकालय र पार्टीको स्रोत केन्द्र बनाउने उद्देश्यले भौतिक संरचना निर्माण गरी सञ्चालनको अन्तिम चरणमा पुगेको छ । ४२ औं बीपी स्मृतिको दिवसमा ६ साउनमा पुस्तकालय एवं स्रोतकेन्द्र सञ्चालनमा आउनेछ । पुस्तकालय र स्रोत केन्द्रले कांग्रेसको मुख्यालयलाई चलायमान गराउने पार्टीले उद्देश्य राखेको छ । पुस्तकालयले खोज अनुसन्धानकर्तालाई समेत मद्दत पुग्ने अपेक्षा कांग्रेसको छ ।

‘पार्टीसँग रुचि भएकाहरु त पुस्तकालय जान्छन् नै । अध्येता, अनुसन्धानकर्ता पुस्तकालयमा जाने अवस्था रहन्छ । विद्यालय वा विश्वविद्यालयका शिक्षक तथा प्राध्यापकका लागि पनि स्रोतकेन्द्र पुस्तकालय हुनेछ,’ पौडेल भन्छन् । पार्टी कार्यालयलाई बैठक गर्न र प्रशासनिक कामका लागि मात्रै नभएर त्यहाँ पुग्दा केही समय अडिएर खोजी, अनुसन्धान गर्ने थलोको रुपमा विकास गर्न लागिएको महामन्त्री थापा बताउँछन् ।

पुस्तकालयको अतिरिक्त महिनाको कम्तिमा एकपटक संवाद श्रृङ्खला राखिने भएको छ । विज्ञसँग संवाद वा मन्थनका रुपमा श्रृङ्खला चल्नेछ । संवाद श्रृङ्खला इस्युका आधारमा हुनेछ । पार्टी कार्यालय आइडियाहरुको केन्द्र हुनुपर्ने बताउँदै महामन्त्री थापा बताउँछन् । कांग्रेसमा विगतमा हुने गरेको तर अहिले निरन्तरता पाउन नसकेको श्रृङ्खलावद्द बहसलाई पुस्तकालय र स्रोत केन्द्रको स्थापनासँगै सुरु गरिने महामन्त्री थापा बताउँछन् । ‘यसै थलोबाट विचार निर्माणका लागि पार्टीमा व्यवस्थित छलफल गरिराख्न सकिन्छ । विचार निर्माणलाई पुस्तकालयसँग जोड्न सकिन्छ,’ महामन्त्री थापा भन्छन् ।

संवाद गर्ने, कुनै विषयमा रहेर विचार मन्थन गर्ने पार्टीभित्रको परपाटी हट्दै गएकाले त्यो शैलीलाई मर्न नदिन बहस श्रृङ्खला सुरु गर्न लागिएको छ । ‘बीपी देखि सुरु भएर पछिसम्मका अग्रजहरुले व्यक्तिहरु बोलाउने, कुनै विषयमा विचार विमर्श गरिरहनु हुन्थ्यो । त्यो परम्परा पछिल्लो समय पार्टीमा हुन छोडेको छ,’ पौडेल भन्छन्,‘त्यस बेलाको अवस्थालाई पुर्नजागृत गराउन चाहन्छौं । पार्टी कार्यालय भेटघाट गर्ने मात्रै थलो होइन । अध्ययन केन्द्र पनि हो ।’ कोही व्यक्तिले लेखेको पुस्तकमा छलफल गर्न आवश्यक देखिए पार्टी मुख्यालयमा बहस गर्न सकिने महामन्त्री थापा बताउँछन् ।

पुस्तकालयमा राजनीतिक विषयवस्तुका पुस्तकहरुको संख्या अन्यको तुलनामा बढी हुनेछ । नेपाली कांग्रेसको स्थापनापूर्व देखिका विभिन्न कालखण्डका दस्तावेज, हुनेछन् । संस्थापक नेताहरुको राजनीतिक जीवन, बीपी कोइरालासँग जोडिएका दस्तावेज, कोइरालाले लेखेका साहित्यिक पुस्तकहरु हुनेछन् । संविधान, कानुन, राजनीति शास्त्र, दर्शनशास्त्र, अर्थ राजनीति लगायतका पुस्तकहरु उपलब्ध हुनेछन् ।

केन्द्रीय अभिलेखमा नभएका तर तल्लो तहमा रहेर कांग्रेसलाई योगदान गरेका व्यक्तिहरु माथि लेखिएका पुस्तकहरु पनि अब भेटिने महामन्त्री थापा दाबी गर्छन् । कम्युनिस्ट विचारधारामा आधारित पुस्तक समेत पुस्तकालयमा रहने छन् । ‘पार्टी सदस्यका लागि मात्रै पुस्तकालय होइन । सबैका लागि खुला रहने पुस्तकालयमा जो कोही व्यक्तिले कांग्रेसको लाइब्रेरीको रिसोर्स प्रयोग गर्नसक्नु हुन्छ,’ महामन्त्री थापा भन्छन् ।

पुस्तकालय निर्माण पछि पार्टीका दस्तावेजहरु खोज्न अन्यत्र भौतारिनु पर्ने अवस्थाको अन्त्य हुने अपेक्षा राखिएको छ । समसामयिक विषयमा संवाद समेत राखिने हुँदा पार्टीलाई नीति निर्माण तहसम्म जोड्न मद्दत पुग्ने नेताहरुको दाबी छ ।

पुस्तकालयको भौतिक संरचनाका निर्माणपछि सञ्चालनमा आइपुग्दा करिब ७० लाख रुपैयाँ खर्च हुने आकलन गरिएको छ । पुस्तकका लागि भने पार्टीले ठूलो धनराशी खर्च गर्नु नपर्ने भएको छ । पुस्तकालय र स्रोत केन्द्र बनाउनका लागि पार्टीका नेता कार्यकर्ताबाट आर्थिक संकलन गर्न छुट्टै खाता सञ्चालनमा ल्याइएको छ । पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकले सहयोग पुस्तकालयका लागि रकम सहयोग गरिरहेका छन् ।

पुस्तक प्रकाशन गृह, संकलनकर्ता लगायतबाट अधिकांश पुस्तक संकलन हुने भएको छ । जर्मनस्थित ‘दी फेडरिक एबर्ट फाउण्डेसन’ ले पनि कांग्रेसलाई पुस्तकहरु प्रदान गर्ने भएको छ । केही पुस्तक भने पार्टीले आफ्नै कोषबाट किन्ने भएको छ ।

प्रत्येक किताबलाई कोडिङ गर्ने व्यवस्था गरिएको छ । लाइब्रेरीको व्यवस्थापनका लागि तालिमप्राप्त व्यक्तिलाई खटाउने कांग्रेसले जनाएकोे छ ।

तस्वीरहरुः आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?