+
+

हिमालय क्षेत्रमा हिउँ कम, जल संकटको चेतावनी

जल तथा मौसम विज्ञान विभागको हिम सर्भे तथा हिमताल शाखाका अनुसार यस वर्षको हिउँदयाम सुक्खा हुँदा पनि हिमालयमा हिउँको मात्रा घटेको छ ।

विनोद घिमिरे विनोद घिमिरे
२०८१ असार ६ गते २२:५०

६ असार, काठमाडौं । वैज्ञानिकहरुले हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको मात्रा घट्दै गएकाले करोडौं जनसंख्या पानीको संकटमा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । वैज्ञानिकहरुले यसो हुनुमा मुख्यरुपमा जलवायु परिवर्तनको कारणलाई लिएका छन् ।

नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले हालै सार्वजनिक गरेको हिउँ अध्ययन अध्यावधिक रिपोर्ट २०२४ अनुसार हिमालय क्षेत्रमा सन् २०२४ को जाडो याममा सरदरभन्दा कम हिउँ परेको र जमिनमा हिउँ रहिरहने समय अवधि पनि घटेको छ ।

यसबाट हिउँमा निर्भर र हिमालय क्षेत्रबाट निस्कने नदीहरुको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई संकटमा पार्न सक्ने चेतावनी दिइएको छ ।

त्यसैले नेपालसहित चीन, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भुटान, म्यानमार जस्ता देशहरुलाई चेतावनी दिँदै इसिमोडले भनेको छ, ‘पानीको बहावको समय र तीव्रतामा व्यापक फेरबदलको संकेत देखिएको छ । यो शोधकर्ता, नीति निर्माता र तल्लो तटीय क्षेत्रमा रहने समुदायहरुका लागि खतराको घण्टी हो ।’

त्यसैले इसिमोडका वैज्ञानिकहरुले पानी अभाव, बाढी, खडेरी जस्ता प्राकृतिक प्रकोपबाट जोगिन सक्रिय कदम उठाउनुपर्ने र हरितगृह ग्याँस उत्सर्जन घटाउनुपर्नेमा जोड दिएका छन् ।

इसिमोडमा कार्यरत पाकिस्तानी वैज्ञानिक शेर मोहम्मदले हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको तहबारे अध्ययन गर्ने टोलीको नेतृत्व गरेका थिए । उनी भन्छन्, ‘हिमालमा हिउँ कम जम्मा भएको र त्यसको स्तर तल–माथि भएकाले विशेष गरी यसै वर्ष पानीको गम्भीर संकट हुनसक्छ ।’

उनका अनुसार यस वर्ष (सन् २०२४) मा हिउँको मात्रा विगत २० वर्षको औसतको तुलनामा १८.५ प्रतिशतले कमी आएको छ । सन् २०१८ मा हिउँको मात्रा सर्वाधिक कम थियो भने यसवर्ष २०१८ को तुलनामा ०.५ ले मात्रै बढी छ ।

त्यसो त हिमालय क्षेत्रमा हरेक वर्ष हिउँको मात्रा तलमाथि भरहन्छ । इसिमोडमा कार्यरत वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ अरुणभक्त श्रेष्ठ भन्छन्, ‘कुनै वर्ष धेरै नै हिउँ परेको र कुनै वर्ष कम परेको देखिएको छ । तर हरेक वर्ष घटिरहेको छ भन्न चाहिँ अझै सकिँदैन ।’

उनका अनुसार सन् २०१८ मा हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको मात्रा १९ प्रतिशत कम थियो । सन् २०१९ र २०२० का वर्षहरुमा हिउँको मात्रा सरदरभन्दा क्रमश: २८ र ३२ प्रतिशत बढी देखिएको थियो । सन् २०२२ मा १२.५ र सन् २०२३ मा ७.५ प्रतिशतले कम थियो ।

हिन्दुकुश हिमालय क्षेत्रको महत्व

हिन्दुकुश क्षेत्र पूर्वमा म्यान्मारदेखि पश्चिमको अफगानिस्तानसम्म ३५ सय किलोमिटर क्षेत्रमा फैलिएको छ । एसियाका १२ प्रमुख नदी प्रणालीहरुमध्ये एक चौथाइ नदी प्रणालीको पानीको मुख्य स्रोत हिन्दुकुश हिमालय क्षेत्र हो । यसमा गङ्गा, सिन्धु, एलो, मेकाङ्ग, इरावती लगायत छन् ।

नदी प्रणालीमा प्रवाह हुने पानीमा हिउँको योगदान भने एकनास छैन । मध्य एसियामा बग्ने अमुदार्या नदीमा प्रवाह हुने पानीमा ७४ प्रतिशत योगदान हिन्दुकुश हिमालय क्षेत्रको हिउँको छ । यसैगरी अफगानिस्तान हुँदै बग्ने हेलमन्ड नदीमा ७७ प्रतिशत र सिन्धु नदीमा ४० प्रतिशत पानीमा हिन्दुकुश हिमालय क्षेत्रको योगदान छ ।

हिमालय क्षेत्रको हिउँ यस क्षेत्रका करिब २४ करोड मानिसका लागि पानीको मुख्य स्रोत हो । त्यसका अलावा तटीय क्षेत्रमा रहने थप १.६५ अर्ब मानिस पनि यही स्रोतमा निर्भर छन् । यी प्रत्यक्ष र अप्रत्यक्षरुपमा अर्बौंका लागि भोजन, ऊर्जा, स्वच्छ हावा र आम्दानीका माध्यम बनेका छन् ।

तर विशेष गरी पश्चिमी हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको मात्रामा तीव्र गिरावट आएको छ, जहाँ पानीको आपूर्तिमा हिउँको योगदान सबैभन्दा बढी छ ।

रिपोर्टअनुसार हिन्दुकुश र हिमालय क्षेत्रमा ‘स्नो पर्सिस्टेन्स’ अर्थात् जमिनमा हिउँ रहीरहने समय मापन गरिएको थियो । यल्लो रिभर अर्थात् ह्वाङ हो नदीमा भने हिउँको स्तर करिब २० प्रतिशत वृद्धि देखिए पनि अन्यमा ह्रास आएको छ ।

भारतको नदी प्रणालीमा सबैभन्दा कम स्नो पर्सिस्टेन्स पाइएको छ, जुन औसतमा १७ प्रतिशत कम छ । सन् २०१८ मा यो आँकडा १५ प्रतिशत थियो । अर्थात् अहिलेको स्थिति विगतको भन्दा पनि खराब छ ।

अफगानिस्तानको हेलमण्ड, तरिम र अमुदर्या नदीमा ३०, सिन्धुघाटीमा २३.३, इन्दुस र गङ्गामा २० तथा तिबेतियन प्लेटु, याङ्गत्जी र ब्रह्मपुत्र नदी प्रणालीमा १५ प्रतिशत ह्रास आएको छ ।

किन घट्यो हिउँ ?

जल तथा मौसम विज्ञान विभागको हिम सर्भे तथा हिमताल शाखाका अनुसार यस वर्षको हिउँदयाम सुक्खा हुँदा पनि हिमालयमा हिउँको मात्रा घटेको हो ।

हिउँदयाम अर्थात् जाडो महिनाहरुमा भूमध्य सागरबाट आउने जलवाष्पयुक्त हावाले नेपालमा पानी पार्छ । उच्च हिमाली क्षेत्रमा भने हिउँ पर्छ । तर यस वर्ष पानी र हिउँ दुवै कम परेको छ । त्यसैले विगतमा सेताम्मे देखिने हिमालहरुमा यस वर्ष काला पत्थर देखिएका थिए ।

सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पनि यस वर्ष कम हिउँ परेको र हिमरेखा केही मिटर माथि सरेको अनुसन्धानकर्ताहरु बताउँछन् । हिम सर्भे तथा हिमताल शाखाका सिनिअर डिभिजनल हाइड्रोलोजिस्ट दिनकर कायस्थका अनुसार हिमरेखा भन्ने ठाउँहरू ५५ सयदेखि ५६ सय मिटरसम्म हुन्छ तर यसपालि खुम्बु क्षेत्रमा ६ हजार मिटरमा छ । उनका अनुसार पहिला हिमरेखा भन्ने गरिएको ठाउँमा अहिले हिउँ कम र चट्टान धेरै देखिन्छ ।

अमेरिकाको म्यासाचुसेट्सस्थित निकोलस कलेजका वातावरण विज्ञानसम्बन्धी प्राध्यापक मउरी पेल्टोले सगरमाथा क्षेत्रमा सन् २०२०–२०२१ मा गरेको एक अध्ययन रिपोर्टमा पनि सगरमाथाको हिमरेखा माथि सरेको उल्लेख गरेका छन् ।

हरितगृह ग्याँस उत्सर्जनका कारण विश्वव्यापी तापमान वृद्धि भइरहेको छ । सन् २०२३ ले हालसम्मकै सबैभन्दा बढी गर्मी वर्षको रेकर्ड राखेको छ । तापमान वृद्धिको असर हिमालमा पनि परिरहेको छ ।

सन् २०१७ मा जल तथा मौसम विज्ञान विभागले निकालेको रिपोर्टमा नेपालमा प्रतिवर्ष औसतमा ०.०५६ डिग्री सेल्सियसले अधिकतम तापक्रम बढिरहेको देखिएको छ र तापक्रम वृद्धिको अवस्था तराईको तुलनामा हिमालय क्षेत्रमा बढी देखिएको छ । त्यसले पनि हिउँ पगाल्न भूमिका खेलेको छ ।

हिउँ कम हुँदा के हुन्छ ?

आरोहीहरुका अनुसार हिमालमा हिउँ कम पर्दा पर्वतारोहण कठिन हुन्छ । किनकि आरोहणको क्रममा लगाइने विशेष प्रकारको जुत्ता हिउँ कम भएको ठाउँमा चिप्लिने डर हुन्छ । क्र्याम्पन्स भनिने त्यस्ता जुत्ताहरु बाक्लो र कडा बरफमा टेक्न मिल्ने गरी डिजाइन गरिएका हुन्छन् । यदि बरफ पग्लिएर कमलो भएमा त्यो जुत्ताले काम गर्दैन र दुर्घटनाको जोखिम रहन्छ ।

अर्कोतर्फ हिमालय क्षेत्रबाट पग्लिने हिउँ नदी प्रणालीको मुख्य स्रोत हो । तर हिमालमा कम हिउँ पर्नु र त्यसको स्तर तल–माथि हुनुले पानीको उपलब्धतामा कमीसँगै अन्य प्राकृतिक विपत्ती पनि सिर्जना हुनसक्ने वैज्ञानिकहरुको चिन्ता छ ।

वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ अरुणभक्त श्रेष्ठका अनुसार हिउँको कमीले मुख्य गरी पानीको स्रोत घट्छ र कृषि क्षेत्रमा पनि असर गर्छ । ‘हिमालय क्षेत्रमा हिउँ कम पर्नु भनेको मुख्य गरी पानीको उपलब्धतामा कमी हुनु हो,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘अर्को कुरा हिउँ पर्ने क्षेत्रमा पनि पानी पर्ने गरेको र वर्षा अनियमित भइरहेकाले कृषि क्षेत्र र तल्लो तटीय क्षेत्रमा बाढीजन्य प्रकोपको जोखिम पनि निम्त्याउन सक्छ ।’

निर्बल हिन्दुकुश हिमालय क्षेत्र

इसिमोडले हिन्दुकुश हिमालय क्षेत्रलाई दुई दशकभन्दा बढी समयदेखि निगरानी गर्दै आएको छ । प्राकृतिक स्रोतसाधनले धनी हिन्दुकुश हिमालय क्षेत्र विश्वकै अमूल्य सम्पदा मानिन्छ । तर जलवायु परिवर्तनका असर, वातावरण मैत्री नभएका विकास निर्माण लगायतका कारण यो क्षेत्र खतरामा परेको छ । विश्वकै स्वास्थ्य जाँच्न मिल्ने हिन्दुकुश हिमालय क्षेत्र निर्बल भएको इसिमोडका वैज्ञानिकहरुको निष्कर्ष छ ।

जलवायु परिवर्तनको असर हिमालय क्षेत्रमा पनि परिरहेकाले वर्षा अनियमित भइरहेको छ र हिउँ पर्ने ठाउँमा पनि पानी परिरहेको छ । त्यसैले नेपालका मुस्ताङ लगायतका जिल्लाहरुमा माटाका छाना हटाएर स्थानीयले जस्ताले घर छाउन थालेका छन् ।

‘हिउँ पानीजस्तो नचुहिने भएकाले मुस्ताङतिरका घरहरुमा माटो, ढुंगाका छाना हुन्थे । तर अहिले पानी बढी पर्ने र चुहिने गरेकाले स्थानीयले जस्ताले घर छाउन थालेका छन्,’ इसिमोडका वैज्ञानिक अरुणभक्त श्रेष्ठ भन्छन्, ‘हिउँको मात्रा हरेक वर्ष तलमाथि हुने गर्दछ । हिउँ कम पर्नु र हिउँ पग्लिने दर पनि बढ्नु चाहिँ चिन्ताको विषय हो ।’

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?