+
+

सन्धिखर्क–तम्घास १३२ केभी प्रसारण लाइन र तम्घास सबस्टेसन निर्माण सकियो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते १२:३९

६ असार, काठमाडौं । अर्घाखाँची सन्धिखर्क नगरपालिका–६ फुदवाङदेखि गुल्मी रेसुङ्‍गा नगरपालिका–७ उनायचौर (तम्घास) सम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सकिएको छ ।

त्यसैगरी सोही प्रसारण लाइनअन्तर्गत उनायचौरमा १३२ केभी तम्घास सबस्टेसन पनि निर्माण पूरा भएको छ । नेपाल विद्युत् प्राधिकरणले सन्धिखर्क–तम्घास करिब १६ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र १३२ केभी तम्घास सबस्टेसन पूरा गरी बुधबारबाट सञ्चालनमा ल्याएको हो ।

उक्त सबस्टेसनमा १३२/३३ केभी, ३० एमभीए र ३३/११ केभी, १६ एमभीए क्षमताका पावर ट्रान्सफर्मर छन् । प्रसारण लाइनबाट करिब २ सय मेगावाट विद्युत् प्रवाह हुन सक्छ ।

सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्ति गर्न तीन वटा ३३ केभीका र चार ११ केभीका फिडर निर्माण गरिएका छन् । त्यसमध्ये ३३ र ११ केभीका दुई/दुई फिडर सञ्चालनमा ल्याई स्थानीय रूपमा विद्युत् आपूर्ति गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि मुख्यगरी गुल्मीको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनुका साथै प्राविधिक चुहावट पनि कम हुने बताए ।

‘३३ केभी लाइन धेरै लामो हुँदा छिनछिनमा लाइन विच्छेद (ट्रिपिङ) हुने, कम भोल्टेज लगायत समस्या थियो । अब १३२ केभी प्रसारण लाइन र सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्ति हुन थालेपछि समस्या समाधान भई आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुनेछ,’ उनले भने ।

घिसिङका अनुसार सोही प्रसारण लाइनबाट विद्युत् प्रवाह हुने गरी ४० मेगावाटका सौर्य आयोजनाका लागि टेन्डर गरिएको छ । अन्य निजी क्षेत्रका जलविद्युत् आयोजनाहरू पनि जोडिने हुँदा यो प्रसारण लाइन त्यस क्षेत्रको ट्रंक लाइन हो ।

बुटवलबाट ३३ केभी प्रसारण लाइनमार्फत पाल्पा, अर्घाखाँची र गुल्मीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । ३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा लाइन ट्रिप भएर झ्याप्प झ्याप्प बत्ती जाने र भोल्टेज समस्या साथै प्राविधिक चुहावट पनि थियो ।

कपिलवस्तु मोतीपुरबाट अर्घाखाँची सन्धिखर्कसम्मको १३२ डबल सर्किट प्रसारण लाइन र १३२ केभी सन्धिखर्क सबस्टेसन निर्माण गरी चैत २०७८ बाट सञ्चालनमा आएपछि सोही सबस्टेसनबाट गुल्मीमा विद्युत् आपूर्ति हुँदै आएको थियो ।

बुटवलभन्दा सन्धिखर्क सबस्टेसनबाट लगिएको ३३ केभी लाइन केही छोटो भए पनि गुल्मीको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुन सकिरहेको थिएन । अब तम्घास सबस्टेसनबाट विद्युत् आपूर्ति दिँदा लाइन छोटो हुने र त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने प्राधिकरणले जनाएको छ ।

बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत सन्धिखर्क–तम्घास प्रसारण लाइन र तम्घास सबस्टेसन निर्माण गरिएको हो ।

आयोजना अन्तर्गत नै कपिलवस्तु बाणगंगा नगरपालिका–७ स्थिति १३२ केभी मोतीपुर सबस्टेसन, सोही सबस्टेसनबाट सन्धिखर्कसम्मको लाइन तथा सन्धिखर्क सबस्टेसन निर्माण पूरा भई सञ्चालनमा आइसकेका छन् ।

आयोजना अन्तर्गत तम्घासबाट पाउदी अमराई हुँदै बाग्लुङ बुर्तिबाङसम्म १३२ केभी प्रसारण लाइन र पाउदी अमराइ तथा बुर्तिबाङ सबस्टेसन निर्माणाधीन छन् ।

दुवै सबस्टेसन निर्माण अन्तिम चरणमा छ । रुख कटान समस्याका कारण प्रसारण लाइन निर्माण प्रभावित भइरहेको आयोजना प्रमुख मनोज चौधरीले बताए ।

उनले तम्घास–पाउदी अमराई प्रसारण लाइनका सबै टावर निर्माण भइसकेको र रुख कटानको स्वीकृति नपाउँदा तार तान्न नसकिएको उल्लेख गरे । यसले गर्दा पौदी अमराई सबस्टेसन सञ्चालनमा ल्याउन नसकिएको चौधरीले बताए ।

बुर्तिवाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजनाको अनुमानित लागत ३ करोड ९५ लाख अमेरिकी डलर छ । सरकार र प्राधिकरणको लगानीमा आयोजना सुरु गरिएको थियो ।

उक्त प्रसारण लाइनमा जोड्ने गरीे निजी क्षेत्रका सात जलविद्युत आयोजनासँग १ सय ३० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?