+
+

एउटै गाउँको ३०० बिघामा आँप, हरेक किसानको बगैंचा

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ असार ६ गते १३:४८

६ असार, जनकपुरधाम । साढे ३ बिघा बगैंचामा लटरम्म फलेको आँप पाक्न सुरु भएपछि धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरका कमल महतोलाई भ्याइनभ्याई छ । अहिले उनी पाकेका आँप टिप्ने र बेच्ने हतारोमा छन् ।

बुधबार दिउँसो उनको घरमै जिप लिएर सर्लाहीका व्यापारी आएका थिए । कमलले सरही आँप (प्रजाति नखुलेको आँप) प्रतिकिलो २१ रुपैयाँका दरले बेचे ।

‘बजारमा यो आँप किलोको ३० रुपैयाँ भन्दा बढीमा बिक्री हुन्थ्यो । घरमै व्यापारी आइपुगेपछि किलोको २१ रुपैयाँकै दरले बेचिदिएँ’, कमलले भने ।

कमलको बगैंचामा बम्बई, मालदह, दशहरी, कलकतिया, जर्दा, लालगुलाब, मल्लिका, आम्रपाली, गुलाबखास लगायत जातका आँप छ । उनका अनुसार बम्बई आँप किलोको प्रतिकिलो ५० रुपैयाँसम्म बिक्री हुन्छ ।

मालदह ३५, दशहरी ४० रुपैयाँ, प्रजाति नखुलेको आँप २५ रुपैयाँसम्म बिक्री हुने गरेको छ । उनको आँप ढल्केबर, महेन्द्रनगर, बडहडी, सखुवा, सीतापुर, बटेश्वर, राजपुर, लोहारपट्टी लगायतको बजारमा बिक्री हुन्छन् ।

साढे ३ बिघामध्ये १२ कठ्ठामा फलेको आँप उनले वार्षिक ६० हजारको दरले ५ वर्षसम्मका लागि एक व्यापारीलाई बेचिसकेका छन् । बाँकी आँप भने उनी आफैंले बजार लगेर बेच्छन् ।

बजार पुर्‍याएर बेच्न आफूसहित ३ छोरा गजेन्द्र, दीपेन्द्र र जितेन्द्र खटिन्छन् । सबै आँप बेचिसक्न डेढ महिना लाग्ने र एक सिजनमा ४ लाख रुपैयाँसम्म कमाइ हुने कमल बताउँछन् । ‘आँप खेतीमा धेरै लगानी मिहिनेत गर्नै पर्दैन । त्यसअनुसार आँपको आम्दानी राम्रो हो नि !’, उनले भने । सिँचाइ नहुँदा अरु बाली खेती गर्न अप्ठेरो हुने उनको भनाइ छ ।

कमलकै छिमेकी उदयकान्त महतोको पनि साढे ४ बिघा (९० कठ्ठा) बगैंचामा लटरम्म आँप फलेको छ । उदयकान्तलाई भने कमलको जस्तो आँप बेच्न चिन्ता छैन । उनले आँप व्यापारीलाई बगैंचाका सबै आँप सालाखालामै बेचिसकेका छन् ।

उदयकान्तको साढे ३ बिघाको एउटा र १ बिघाको अर्को गरी दुईवटा आँपको बगैँचा छ । साढे ३ बिघाको बगैँचाको आँप ५ वर्षका लागि वार्षिक ३ लाख १५ हजार रुपैयाँका दरले ठेक्कामा दिइसकेका छन् ।

एक बिघाको बगैंचाको आँप यो वर्षको लागि १ लाख ५० हजार रुपैयाँमा बेचेको उदयकान्तका छोरा धर्मानन्द महतो बताउँछन् । उनको बगैंचाबाट व्यापारी आफै आँप टिपेर बजार पुर्‍याउने गर्छन् ।

३ लाख १५ हजारमा वार्षिक ठेक्कामा बेचेको आँप बगैंचाको भने यसपटक व्यापारीले २ लाख ३५ हजार रुपैयाँ मात्र दिने भनेको छ । समयमा वर्षा नहुँदा यो बगैंचामा पोहोर जस्तो आँप फलेको छैन ।

‘मजर (आँपको चिचिला लाग्ने) को बेला पानी नै परेन । सिँचाइको समस्या छ । त्यस कारण १५ वटा आँपको बोट नै सुक्यो । चाहेजस्तो फल नलागेर व्यापारीले रिक्वेस्ट गरेपछि मनन् गरेर ८० हजार घटाइदियौं’, धर्मानन्द भन्छन् ।

आँप खेतीलाई वर्षमा दुईपटक जोत्ने र चिचिलाको बेला किराबाट जोगाउन औषधि छर्किने गर्नुपर्छ । मिहिनेत र लगानी कम लाग्दा आम्दानी मनग्य भएकाले उदयकान्तको परिवार सन्तुष्ट नै छ ।

चित्रपुरकै राजकुमार महतोको ५ बिघाको बगैँचामा विभिन्न प्रजातिको आँप लटरम्म छ । उनले पनि ५ वर्षका लागि ३० लाख रुपैयाँमा रुखबाटै आँप बेचिसकेका छन् ।

२०४७ सालदेखि आँप खेती गर्न थालेका राजकुमार भन्छन्, ‘अन्नबाली लगाउँदा समयमा पानी नपरे बाली सप्रिन्नथ्यो । पछि आँप खेतीतिर लागें । यसैबाट राम्रो आम्दानी हुन्छ ।’ उनले आँप बगैंचाभित्र तरुल उब्जाएर वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

चित्रपुरमा आँप बगैँचा नहुने किसान नै छैनन् । सबैको खेतबारीमा आँपको बगान छ । अधिकांश किसानले ठेकेदारलाई बगै‌ंचा नै व्यापारीलाई बिक्री गरेका छन् । यहाँका किसानको आम्दानीको मुख्य स्रोत नै आँप खेती हो ।

धनुषाकै जनकपुर, सिरहा, सप्तरी, सर्लाही, रौतहटसम्मका व्यापारीले आँपमा चिचिला लाग्ने बेलामा नै मूल्यांकन गरेर बगैंचा नै किन्ने गरेका किसान रामखेलावन महतो बताउँछन् ।

‘मजर लाग्ने बेलामै व्यापारीहरु आएर आँपको प्लट नै किन्छन् । मजर किराबाट जोगाउन र फल बचाउन किटनाशक औषधि छर्किन्छन् । किन्नेबेला व्यापारीले गर्नु पर्ने र किसानले गर्नुपर्ने कुरा लिखित सहमति हुन्छ’, उनी भन्छन् ।

चित्रपुरको आँप बगैंचाका ४० लाख रुपैयाँभन्दा बढीका आँप सिरहाको गोलबजारका व्यवसायी देवेन्द्र पुर्वे एक्लैले किनेका छन् । उनले किनेको आँप जिपमा ओसारपसार गर्छन् । ‘यहाँका आँप काठमाडौं, पोखरा, नेपालगञ्ज लगायत सहरहरुमा बेच्ने गरेको छु’, उनी भन्छन् ।

सर्लाहीका रामनगर गाउँपालिका-६ का जयलाल पासवान चित्रपुरबाट बर्सेनि आँप किनेर व्यापार गर्दै आएका छन् । ‘यहाँको आँप रसिलो छ । दश वर्षभन्दा बढी समयदेखि किनेर लग्ने गरेका छौं । सर्लाहीको विभिन्न बजारमा बेच्छौं’, उनले भने ।

करिब ३ सय बिघामा आँप खेती

चित्रपुरमा करिब ३ सय बिघामा आँप खेती हुने गरेको किसानहरुको अनुमान छ । यद्यपि, कति क्षेत्र फलमा आँप खेती छ र वार्षिक कति उत्पादन हुन्छ भन्ने सरकारी तथ्यांक छैन । बटेश्वर गाउँपालिका कार्यालयको कृषि शाखाकी कर्मचारी सिर्जना लामाले पालिकाले तथ्यांक नराखेको बताइन् ।

सरकारले बटेश्वर गाउँपालिकाको वडा नम्बर १ लाई आँपको पकेट क्षेत्र घोषणा गरिसकेको छ । तर, यो घोषणामा मात्र सीमित भएको वडाध्यक्ष अशोक कुमार महतोको गुनासो छ ।

‘घोषणअनुसारको सुविधा सरकारले किसानलाई उपलब्ध गराउँदैन । किराको प्रकोप, हवाहुरीबाट क्षति भइरहन्छ । उचित बजार भाउ पाइरहेको हुन्न’, वडाध्यक्ष महतो भन्छन् ‘एउटा सित भण्डारको व्यवस्था गरिदिए आँप टिकाउन र बजार भाउ पाउन सहज हुन्थ्यो ।’

बर्सेनि आँप खेतीमा पनि चिचिलाको बेला विभिन्न प्रकारका रोग लाग्ने र हावाहुरीले क्षति गर्दा किसानसँगै व्यापारीलाई पनि मार्का पर्ने गरेको छ । त्यसको लागि सरकारले आँप खेतीको बिमा गरिदिनु पर्ने स्थानीय किसानको माग छ ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?