+

थाइराइडले ल्याउन सक्छ यौन जीवनमा समस्या

२०८१ असार  ६ गते १६:१७ २०८१ असार ६ गते १६:१७
थाइराइडले ल्याउन सक्छ यौन जीवनमा समस्या

दाम्पत्य जीवनमा यौनले महत्वपूर्ण भूमिका खेल्छ । स्वस्थ यौन जीवनले दम्पतीबीचको सम्बन्धलाई अझ गहिरो बनाउँछ । तर यौन जीवन राम्रो नहुँदा वैवाहिक जीवनमा दूरी बढ्न सक्छ ।

यौन जीवन बिग्रिंदै जानुमा स्वास्थ्य समस्या पनि हुनसक्छ । जसमध्ये एक थाइराइड हो ।

मानव शरीरमा घाँटीमा रहेको पुतलीको आकारको ग्रन्थीलाई थाइराइड ग्रन्थी भनिन्छ । यो ग्रन्थीले हर्मोन उत्पादन गर्छ, जसको काम हाम्रो शरीरमा हुने सबै प्रक्रियाको गतिलाई नियन्त्रण गर्ने हो । यही ग्रन्थीले नै मेटाबोलिज्म र ऊर्जा सन्तुलनको नियमनका लागि आवश्यक हर्मोन उत्पादन गर्छ ।

यो ग्रन्थीले राम्ररी काम गर्न सकेन भने हाइपोथाइराइडिज्म र हाइपर थाइराइडिज्मको समस्या हुन्छ । यी समस्याका कारण महिला वा पुरुषमा अन्य धेरै स्वास्थ्य समस्यासँगै यौन जीवनमा पनि समस्या देखिन्छ ।

पीडादायी यौनजीवन 

महिलालाई यौनसम्पर्क गर्दा दुखाइ महसुस हुन्छ भने यो थाइराइडको कारण हुनसक्छ । वास्तवमा थाइराइडका कारण योनीमा लुब्रिकेन्ट (चिल्लोपना) कम हुन्छ । यस्तो हुँदा लिङ्ग योनीमा प्रवेश गर्न गाह्रो हुन्छ ।

यस्तोमा बलपूर्वक प्रयासका कारण महिलालाई दुखाइ हुने हुँदा यौन इच्छा घट्न सक्छ । जबकि यौन सम्बन्धमा आनन्द दिन लुब्रिकेन्टले मद्दत गर्छ ।

थाइराइड छ र यौन जीवनमा प्रभाव पारिरहेको छ भने एक पटक चिकित्सकसँग परामर्श लिन आवश्यक हुन्छ । यदि थाइराइड छैन भने पनि एक पटक जाँच गराएर द्विविधा कम गर्न सकिन्छ ।

शीघ्र स्खलन

पुरुषलाई थाइराइड हुँदा समयपूर्व वा ढिलो वीर्य स्खलन हुन्छ । थाइराइडका कारण पुरुषले स्खलन (लिङ्गबाट वीर्य निस्कने) समस्याको सामना गर्छन् ।

हाइपोथाइराइडिज्म भएमा ढिलो वीर्य स्खलन हुन्छ भने हाइपर थाइराइडिज्म भएमा समयअगावै लिङ्गबाट वीर्य निस्कन्छ । दुवै अवस्थामा यौन जीवनमा प्रतिकूल असर पर्न जान्छ ।

किनकि पुरुषको वीर्य चाँडै बाहिर निस्कन्छ भने महिला र पुरुष दुवैले यौन सम्पर्कको आनन्द अनुभूति गर्न सक्दैनन् ।

लामो समयसम्म वीर्य स्खलन भएन भने यौनक्रिया दिक्कलाग्दो हुन्छ, त्यसमा कुनै उत्तेजना र उत्साह रहँदैन ।

टेस्टोस्टेरोन हर्मोन

थाइराइडले टेस्टोस्टेरोन हर्मोनको स्तर पनि घटाउँछ । यौन इच्छा बढाउनेमा टेस्टोस्टेरोन हर्मोन पनि पर्छ । जब यो हर्मोन कम हुन्छ, यौन इच्छा स्वतः घट्छ ।

टेस्टोस्टेरोनलाई पुरुष हर्मोन मानिएपनि महिलामा पनि यो हर्मोन सन्तुलित मात्रामा उत्पादन हुन्छ । यदि यो हर्मोन उत्पादन हुँदैन वा कम उत्पादन हुन्छ भने यौन इच्छा कम हुन्छ ।

लिङ्ग उत्तेजित नहुनु

थाइराइडको समस्याका कारण पुरुषमा लिङ्ग उत्तेजित नहुने (विशेष प्रकारको कडापन नहुनु) समस्या हुन्छ । जसलाई ‘इरेक्टाइल डिसफन्सन’ पनि भन्ने गरिन्छ ।

वास्तवमा थाइराइडका कारण हर्मोनल असन्तुलन हुन्छ, जसकारण चाहनाले यौनक्रिया गर्न खोज्दा पनि लिङ्ग उत्तेजित हुँदैन । र, यस्तोमा यौन सम्बन्ध राख्न सम्भव हुँदैन ।

यस्तो अवस्थामा पुरुषको आत्मविश्वास पनि घटाउँछ । यस समस्याले चिन्तित हुनुको सट्टा उपचार गर्नुपर्छ । किनभने यो समस्या सजिलै समाधान गर्न सकिन्छ ।

थकान

जब थाइराइडको समस्या हुन्छ, थकान जस्ता समस्या धेरै देखिन्छन् । थकानका कारण कुनै पनि सामान्य काम गर्न गाह्रो हुन्छ । साथै, सधैं आरामको आवश्यकता महसुस हुन्छ । यदि यस्तो थकान लगातार रहन्छ भने थाइराइड स्तर हेर्नुपर्छ ।

किनभने थकान भइरहँदा यौन इच्छा नजाग्न सक्छ र सक्रिय रहन गाह्रो हुन्छ ।

मानसिक समस्या

हाइपर थाइराइडिज्म अनियन्त्रित भएमा मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पार्छ । यस्तोमा थाइराइड हर्मोनले स्नायु प्रणालीलाई अति सक्रिय बनाउन सक्छ, चिन्ता, ‘नर्भस’ हुने र झिंजो लाग्ने जस्ता लक्षणहरू देखिन्छन् । यस्तोमा केही कुरामा रुचि नहुने र शान्तसँग पनि बस्न नसक्ने कारण डिप्रेसन हुनसक्छ ।

यी सबै समस्या भएमा यौनमा रुचि स्वभाविक रुपमै नहुन सक्छ ।

उपचार सम्भव छ ?

यदि कुनै पनि दम्पती थाइराइडकै कारण यौन समस्याबाट ग्रसित छन् भने चिन्ता लिइराख्नु पर्दैन । किनकि यी समस्या थाइराइड हुनेबित्तिकै देखिने होइन, अनियन्त्रित भएर देखिने हो ।

यदि थाइराइडको समयमै उपचार गरी औषधि सेवन गरेर नियन्त्रणमा राखियो भने लगभग सबै यौन समस्या कम हुँदै निको हुनसक्छ । कुनै समस्या छ भने थाइराइडको परीक्षण तथा उपचार गर्ने क्रममा खुलेर चिकित्सकलाई भन्नुपर्छ । ताकि चिकित्सकले थाइराइडसँगै यौन समस्याको उपचार गर्न सकुन् ।

हर्मोन थेरापी

कतिपय अवस्थामा हर्मोनको स्तरलाई सामान्य स्तरमा ल्याउन ‘हर्मोन रिप्लेसमेन्ट थेरापी’को मद्दत लिन सकिन्छ । यसले पनि यौनसम्बन्धमा आएको समस्यालाई बिस्तारै समाधान गर्न सक्छ ।

डा. ऋत पौडेल थाइराइड यौन जीवन

धेरै कमेन्ट गरिएका

डा. ऋत पौडेल
लेखक
डा. ऋत पौडेल
मनोचिकित्सक तथा यौनविद्

डा. पौडेल काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल र क्लिनिक नेपालमा कार्यरत छन्। उनले मनोचिकित्सामा एमडी र फेलोसिप साइको-सेक्सुअल मेडिसिन मा गरेका छन्। नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९९२० हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय