
६ असार, धनगढी । कैलाली र कञ्चनपुरमा बुधबार साँझ चलेको हावाहुरीले पोल ढलेपछि केही स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, गौरीगंगा नगरपालिका लगायतका केही स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ ।
प्रादेशिक कार्यालयका प्रमुख जंगबहादुर चन्दले धनगढी उपमहानगरपालिका वडा नं १८, १९ को फूलबारी, वडा नम्बर १२ को जुगेडा र बजार क्षेत्रका केही स्थानमा विद्युत् सेवा अवरुद्ध भएको बताए ।
उनका अनुसार धनगढी वितरण केन्द्र अन्तर्गतको गौरीगंगा नगरपालिकाको मसुरिया, कैलारी गाउँपालिकाको हसुलिया क्षेत्रमा पनि विद्युत् सेवा अवरुद्ध भएको छ ।
विद्युत् सेवा अवरुद्ध भएका स्थानमा मर्मत सम्भारको काम चलिरहेको चन्द बताउँछन् ।
धनगढी वितरण केन्द्रका प्रमुख मिथिलेसकुमार गोइग्वारले धनगढी, गौरीगंगा नगरपालिका क्षेत्रमा मात्र ६० वटा पोल भाँचिएको बताउँदै मर्मत सम्भारको काम जारी रहेको जानकारी दिए ।
उनका अनुसार धनगढी बजार क्षेत्र र गौरीगंगामा बिहीबार साँझसम्म विद्युत् सेवा सञ्चालनको तयारी गरिएको छ । फूलबारीमा भने बढी क्षति भएकाले शुक्रबारसम्म मर्मत सम्भारको काम सकिने छ ।
प्रादेशिक कार्यालयका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा मात्र हावाहुरीले २३ पोल ढलेका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने पुनर्वाससँगै लालझाडी, बेलौरी लगायतका क्षेत्रमा समेत सेवा प्रभावित भएको छ ।
प्रतिक्रिया 4