+

खेलकुद मन्त्रीको १०० दिन : ध्यान खिच्न सफल

२०८१ असार  ६ गते १९:२३ २०८१ असार ६ गते १९:२३
खेलकुद मन्त्रीको १०० दिन : ध्यान खिच्न सफल

६ असार, काठमाडौं । २३ फागुन २०८० मा युवा तथा खेलकुद मन्त्रीको पदभार ग्रहण गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विराजभक्त श्रेष्ठले अब यो मन्त्रालय पहिले जस्तो गुमनाम नहुने प्रतिक्रिया दिएका थिए ।

‘यो मन्त्रालय मौन खालको मन्त्रालय हो, एउटा कुनामा बस्ने, तर यो मन्त्रालयले आवाज गर्छ, हिपहिप हुर्रे भनेर देशलाई अन्तर्राष्ट्रिय जगतमा पनि चिनाउँछ,’ उनले प्रतिक्रिया दिएका थिए ।

यो भनाइ र सांसदका रूपमा उनले बनाएको छविका कारणले पनि युवा तथा खेलकुद मन्त्रालयमा श्रेष्ठले केही उल्लेख्य काम गर्नेमा धेरैले आशा गरेका थिए ।

कार्यभार सम्हालेको १०० पूरा गरेको अवसरमा आइतबार २१ बुँदे उपलब्धि सार्वजनिक गर्दा भने उनले कुनै चर्चायोग्य काम समावेश गर्न सकेनन् । मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघ लगायतका संस्थाले गरेको नियमित कामलाई नै उनले आफ्नो उपलब्धिका रूपमा सार्वजनिक गरेका छन् ।

त्यसैले टी–२० विश्वकपमा नेपालको सहभागिता, कीर्तिपुर मैदानमा डिजिटल स्कोर बोर्ड राख्ने सम्झौता हुनु, फ्लडलाइट खरिद प्रक्रिया अघि बढाइनु, मूलपानी रंगशालाको डीपीआर तयार हुनु पनि उनले आफ्नो उपलब्धिमा राखेका छन् ।

३ महिना अवधिमा ४४ वटा राष्ट्रिय खेलकुद प्रतियोगिता र ११ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता हुनु, विभिन्न १० खेलका खेलाडीको प्रशिक्षण कार्यक्रम सञ्चालन हुनुलाई पनि उनले आफ्नो उपलब्धिमा राखे ।

उनले आफूले कार्यभार सम्हालेको १००औं दिनमा नै १९औं एसियन गेम्सका पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान गरेर आफ्नो उपलब्धि पुष्टि गरे ।

राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव रमेश सिलवाल सरकारले घोषणा गरेको पुरस्कार पाउनु नै अहिलेका खेलकुदमन्त्रीको मुख्य उपलब्धि भएको बताउँछन् ।

‘उहाँ आएर भएको काम भनेको खेलाडीलाई यसअघि घोषणा भएको पुरस्कार रकम वितरण गरियो । त्यसबाहेक नीतिगत सुधारको पक्ष, भौतिक पूर्वाधार विकास तथा संरचनागत विकासको पक्ष भने लगभग शून्य नै छ,’ उनले अनलाइनखबरसँग भने ।

श्रेष्ठ मन्त्री भएको साढे दुई महिनापछि नै सरकारले सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्‍यो । चालु आर्थिक वर्षमा २ अर्ब ८७ करोडको बजेट कार्यान्वयन गरिरहेको मन्त्रालयले आगामी वर्षका लागि ३ अर्ब ५० करोड बजेट पाएको छ । यो गत वर्षभन्दा ६३ करोड रुपैयाँ बढी हो ।

मन्त्री श्रेष्ठले कनिका छरेझै बजेट नछर्ने भनेका थिए । चालु आर्थिक वर्षको बजेटमा ३३ वटा खेल पूर्वाधारमा बजेट विनियोजन गरिएकामा २१ वटाको हालसम्म खर्च हुन सकेको छैन । यसपटक २९ वटा खेल पूर्वाधारमा मात्र बजेट विनियोजन भएको छ र एउटा खेल पूर्वाधारमा कम्तीमा २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

‘बजेट अंकमा बढेर आए पनि खेलकुद कार्यक्रमका लागि छुट्टिएर आएको हुनाले अंक गणितीय हिसाबमा बढे पनि पुँजीगत खर्च भने बढेको छैन,’ पूर्व सदस्य सचिव सिलवालले भने ।

यस वर्षको बजेटको ठूलो अंश अर्थात ७० करोड १०औं राष्ट्रिय खेलकुद र पहिलो पारा राष्ट्रिय खेलकुदको लागि विनियोजन भएको छ ।

खेलकुद मन्त्रालयले पहिलो पटक पारा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दै बजेट विनियोजन गर्नुलाई खेल क्षेत्रका जानकारहरूले असल अभ्यास भनेका छन् ।

यसले निकट भविष्यमा पनि अन्य मन्त्री तथा सरकारलाई यस्ता प्रतियोगिता सञ्चालन गर्न बजेट विनियोजन गर्न मार्गदर्शन गर्नेछ ।

यस पटक खेलकुद मन्त्रालयले गणेशमान सिंह स्मृति प्रतिष्ठानद्वारा सञ्चालित कार्यक्रमलाई १० लाख र मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई २ करोड बजेट दिएको छ ।

श्रेष्ठ मन्त्री भएको केही दिनमा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरू पनि खेलाडीसँगै विदेश भ्रमण गएकामा जवाफ मागेको थियो । समयमा जवाफ नदिएको भन्दै पुनः ताकेका पनि गरेको थियो । मन्त्रीले खेलकुद क्षेत्रमा देखिएका अनियमितता रोक्न निरन्तर निगरानी राख्छन् कि राख्दैनन् भन्ने प्रश्न उनीमाथि छ ।

राखेप बोर्ड बैठक

मन्त्री श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक (कार्यकारी समिति) बोलाउन पनि पहल नगरेको आरोप लागेको छ । राखेपको बजेट बोर्ड बैठकले बजेट पारित गर्ने कानुनी व्यवस्था भए पनि बोर्ड बैठक बस्न सकेन । हुनत कार्यकारी समितिको संयोजक राखेपका सदस्य सचिव हुन्छन्, तर यसमा मन्त्रीको पहलले अर्थ राख्ने पूर्वसदस्य सचिव सिलवाल बताउँछन् ।

मन्त्री श्रेष्ठले भने बोर्ड बैठकका लागि सदस्य सचिव जिम्मेवार हुने बताए । ‘यसभन्दा अगाडिको सदस्य सचिव पदमुक्त हुनुको कारण पनि बोर्ड बैठक नबसेका कारण हो । यो पालि हामीले बोर्ड बैठकको लागि पत्राचार पनि गरेका हौं । तर समयको कमीका कारण त्यो हामीले भ्याएनौं,’ उनले १०० दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा भने ।

आर्थिक वर्ष २०८०/८१ को बजेटको १५ जेठसम्म २७ प्रतिशत मात्रै खर्च भएको छ ।

एकातिर खेलकुद मन्त्रालयमा बजेट कम पर्छ, तर त्यही रकम पनि खर्च हुन सकेको छैन । ‘धेरै बजेट परेर के गर्नु हाम्रो त्यस अनुसारको जनशक्ति नै छैन । बजेटको साइज ठूलो तर खर्च गर्न नसक्नु पनि असफलता हो,’ श्रेष्ठ भन्छन् ।

राजीनामा पत्र खल्तीमा

१०० दिन पूरा हुनु एक दिनअघि खेलकुद मन्त्री श्रेष्ठले राजीनामा पत्र खल्तीमा बोकेर हिंडेको टिप्पणी गरे । ‘हाम्रो राजीनामा पत्रमा मिति मात्र लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हिंडेका छौं,’ उनले भनेका थिए ।

यो विषयले नेपालको राजनीति तरंगित भएको छ । संसद्‌मा धेरै सांसदहरूले यो विषयमा प्रश्न उठाए, कसैले रास्वपा भित्रको आन्तरिक विषय भएको आशंका गरे, कसैले बजेट कम परेको पीडा व्यक्त गरेको बताए भने कसैले काम गर्न नसक्नुको उकुसमुकुस व्यक्त भएको टिप्पणी गरे ।

मन्त्री श्रेष्ठ भने यो राजनीतिक वक्तव्य भएको बताए । ‘सुशासनको लागि हामी सरकारमा आएका थियौं । मैले राजीनामा बोकेर हिंडेको छु भन्दै गर्दा यो एउटा सकारात्मक दबाब हो,’ उनले आफ्नो १०० दिनको अवसरमा आयोजित कार्यक्रममा भने ।

खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय