+
+

पुल्चोक क्याम्पसका ११ विद्यार्थीले इन्टर्न गर्दा न्यूनतम पारिश्रमिक पाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते १९:५२

६ असार, काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत ११ जना विद्यार्थीलाई विभिन्न कम्पनीमा इन्टर्नसिप गरेवापत न्यूनतम पारिश्रमिक दिने सम्झौता भएको छ ।

बिहीबार नेपाल विद्यार्थी संघ (नेविसंघ)को पहलमा ५ वटा कम्पनीसँग इन्टर्नसिप गर्ने विद्यार्थीलाई न्यूनतम १५ हजार पारिश्रमिक दिने सम्झौता भएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए ।

सम्झौता अनुसार एरोनोटिकल इन्जिनियरिङ अध्ययनरत ३ जना विद्यार्थीलाई समिट एयरमा, सिभिल इन्जिनियरिङ पढ्ने २ जनालाई रसुवा कन्स्ट्रक्सनमा, सिभिल इन्जिनियरिङकै २ जनालाई पीएस कन्स्ट्रक्सनमा पारिश्रमिकसहित इन्टर्नको सम्झौता गरिएको छ ।

त्यस्तै गोल्डेन गुड्स एन्ड शेर्पा कन्स्ट्रक्सनमा सिभिल इन्जिनियरिङ पढ्ने २ जनाले, रोहित एन्ड छिरिङ कन्स्ट्रक्सनमा सिभिल इन्जिनियरिङ पढ्ने १ जनाले र मेकानिकल इन्जिनियरिङ पढ्ने १ जनाले यही वर्षदेखि लागू हुने गरी इन्टर्न गर्दा न्यूनतम पारिश्रमिक पाउने भएका हुन् ।

पुल्चोक इन्जिनियरिङ क्याम्पस प्रमुख इन्द्रप्रसाद आचार्य, कम्पनीका प्रतिनिधि, नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, केन्द्रीय सदस्य तथा इन्टर्नसिप संयोजक पारस बस्नेतबीच पुल्चोक क्याम्पसमा सम्झौता भएको छ । सम्झौता अनुसारको विद्यार्थी संख्या क्याम्पसले प्राथमिकताको आधारमा छनोट गरेर पठाउनेछन् ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसले सबै विषयका विद्यार्थीलाई ६ महिना अनिवार्य इन्टर्न गर्नुपर्ने व्यवस्था गरेको छ । क्याम्पस प्रमुख इन्द्रप्रसाद आचार्यले अहिलेसम्म विद्यार्थीले निःशुल्क इन्टर्न गर्नुपर्ने बाध्यता रहेकोमा नेविसंघले लिएको यो पहलकदमी सकारात्मक भएको बताए ।

उनले भने, ‘अधिकांश हाम्रा विद्यार्थी सामान्य खाजाको भरमा इन्टर्न गर्दै आएका थिए । छिटफुट कम्पनीले ५, ७ हजार दिन्थे तर अब केही विद्यार्थीले न्यूनतम १५ हजार पाउनु हाम्रो लागि पनि खुसीको कुरा हो ।’

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको अनुसार आगामी आइतबार विभिन्न ल फर्म, उपत्यकाका विभिन्न स्थानीय तहका वडा तथा ललितपुर महानगरपालिकासँग नेपाल ल क्याम्पसका विद्यार्थीको इन्टर्न पारिश्रमिकबारे सम्झौता हुने बताए । उनले अहिलेम्म ६६ जनाको लागि सहमति भएको र त्यहीअनुसार आइतबार सम्झौता हुने जानकारी दिए ।

शेर्पाले विश्वविद्यालय क्याम्पसमा एमबीएस अध्ययनरत विद्यार्थीका लागि बैंक तथा बीमा र रूरल डेभलपमेन्ट अध्ययनरत विद्यार्थीका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग करिब १०० जना विद्यार्थीका लागि सोमबार सम्झौताको तयारी भएको बताए ।

पहिलो चरणमा पाइलट प्रोजेक्टको रूपमा यी तीन क्याम्पसका विद्यार्थीको लागि काम गरिरहेको नेविसंघले जनाएको छ ।

शेर्पाले भने, ‘६ महिनाभित्र ६ सय जना विद्यार्थीलाई पेड इन्टर्नसिप गराउने हाम्रो प्रतिवद्धता हो । त्यसका लागि कम्पनीहरूसँग निरन्तर छलफल गरिरहेका छौं ।’

पुल्चोक इन्जिनियरिङ क्याम्पसका अझै धेरै विद्यार्थीको इन्टर्नको लागि विभिन्न कम्पनीसँग छलफल भइरहेको शेर्पाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?