+
+

चितवनमा गोही र बाघलाई पेटभरि खुवाउन छैन बजेट

सुवास पण्डित सुवास पण्डित
२०८१ असार ६ गते २०:०७

६ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिकै विश्वकै दुर्लभ घडियाल गोहीको प्रजनन केन्द्र छ । निकुञ्ज भ्रमण गर्ने अधिकांश पर्यटक यो प्रजनन केन्द्र अवलोकनमा जाने गर्छन् ।

बाहिरबाट हेर्दा प्रजनन् केन्द्र जति राम्रो लाग्छ, भित्र भने यसको वेदना दर्दनाक छ । प्रजनन केन्द्रमा राखिएका घडियालका माउ र बच्चालाई आहारा खुवाउनै समस्या छ । घडियाललाई आहाराका रूपमा दिइने माछा किन्न पैसाको अभाव छ । बर्षेनी यस्तै हालतबाट गुज्रिरहेको छ निकुञ्ज ।

चालु आर्थिक बर्षमा सरकारले घडियाल गोहीको आहाराका लागि ३० लाख रुपैयाँ छुट्याएको थियो । अघिल्लो बर्ष ३५ लाख छुट्याएकामा चालु आर्थिक वर्षमा ५ लाख घटेर आएको छ ।

आगामी आर्थिक बर्ष २०८१/८२ मा झनै रकम घटाउने सुन्नमा आएको निकुञ्जका एक अधिकृतले जानकारी दिए । घडियालको आहाराको रुपमा प्रयोग हुने माछाका लागि मात्रै बर्षेनी ५५ लाख रुपैयाँ खर्च हुने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

प्रजनन केन्द्रमा भाले र पोथी गरेर ७७३ घडियाल गोही छन् । यो संख्या थपघट भइरहन्छ । बजेट अभावकै कारण प्रजनन केन्द्र विस्तार गर्न पनि सकिएको छैन । राप्ती तथा नारायणी नदीको किनारबाट घडियालका अण्डा संकलन गरेर केन्द्रमा ल्याएर उचित तापक्रममा बच्चा कोरल्ने गरिन्छ ।

केन्द्रमा नै रहेका पोथीहरूले पार्ने अण्डाबाट समेत बच्चा निस्कन्छन् । भालेको भने अभाव देखिन थालेको छ । निकुञ्जका अनुसार बर्षेनी २ सयदेखि ३ सय घडियालका बच्चाहरु उत्पादन गरेर राप्ती, नारायणी लगायतका देशका विभिन्न नदीहरुमा वंश विस्तारका लागि छाड्ने गरिएको छ ।

घडियाल प्रजनन केन्द्रमा गत आर्थिक बर्ष २०७९/०८० मा ६३ हजार ७११ पर्यटकले भ्रमण गरेका थिए । केन्द्र अवलोकनका लागि नेपाली विद्यार्थीबाट ३०, अन्यबाट ५०, विदेशी पर्यटकबाट १ सय रुपैयाँ टिकटबाट शुल्क लिने गरिएको छ ।

पर्यटकबाट मात्रै गत बर्ष ४४ लाख जति रकम संकलन भएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाकी लेखा अधिकृत पूजा खनालले जानकारी दिइन् । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले आफ्ना कर्मचारीहरु राखेर टिकटबाट रकम उठाउने गर्दै आएको छ ।

यसरी उठेको केही रकम कोषले निकुञ्जलाई दिने गर्छ । सो रकमबाट केन्द्रको टिकट काउन्टरका कर्मचारीको तलब, आहाराको व्यवस्थापन, प्रजनन केन्द्रमा गोहीको बासस्थान व्यवस्थापन, नदी किनारमा पुगेर अण्डाहरुको संकलन, ह्याचिङ जस्ता काममा खर्च हुँदै आएको छ ।

‘हरेक बर्ष सरकारले केन्द्रका लागि बजेट घटाउँदा त्यसको प्रत्यक्ष मार घडियाल प्रजनन केन्द्रमा परेको छ’, निकुञ्जका सूचना अधिकृत तिवारीले भने, ‘दुर्लभ जीव घडियालको महत्व बुझेर यसको अझै विस्तार र व्यवस्थापनमा पर्याप्त रकम पठाउनुपर्छ भन्ने लाग्छ ।’

बजेट अभावमा आफूले चाहेर पनि थप काम गर्न नसक्ने अवस्थामा पुगेको तिवारीले गुनासो गरे । उनले अर्को वर्षको बजेटमा मिलाउने गरी ठेकेदारलाई माछा किनेर ल्याउन भनिएको बताए । टिकटको मूल्य बढाउने र केन्द्रबाट थप रकम माग्ने बाहेक अरु विकल्प नभएको उनको भनाइ छ ।

बाघलाई पनि छैन आहारा

मानिस माथि आक्रमण गरेर ज्यान लिएका तथा संकटमा परेका बाघहरुलाई चितवन राष्ट्रिय निकुञ्जमा खोर बनाएर राख्ने गरिएको छ । तर, घको आहाराका लागि भने निकुञ्जसँग बजेट छैन । कसरामा ३ र सौराहामा २ वटा बाघ राख्ने खोरहरु छन् । यी खोरमा राखिएका एउटा बाघलाई दैनिक ५ देखि ७ किलोग्रामसम्म मासु आवश्यक पर्छ । निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार सौराहामा दुबै खोर खाली गरेर मर्मत हुँदैछ भने कसराको खोरमा ३ र भरतपुर महानगरपालिका‐१३ देवनगरस्थित वन्यजन्तु उद्दार केन्द्रमा २ बाघ छन् ।

बाघका लागि बार्षिक २५ लाख रुपैयाँ जति बजेट खर्च हुन्छ । निकुञ्जले अन्य कार्यक्रमको बजेट तानेर बाघको आहाराका लागि खर्च गर्दै आएको छ । देवनगरमा बनेको वन्यजन्तु उद्धार केन्द्रमा राखिएका बाघलाई हेर्न टिकट काटेर पर्यटकसँग रकम उठाउने सोच निकुञ्जको भए पनि विभिन्न व्यक्तिहरूको विरोधका कारणले थप काम अगाडि बढन सकेको छैन ।

निकुञ्जले पर्यटकबाट उठाएको रकम बाघको आहारा व्यवस्थापनका लागि नै खर्च गर्ने गरी एक कार्यविधि बनाउने तयारी गरे पनि ठोस रुपमा अगाडि बढेको छैन । जसले गर्दा निकुञ्जलाई बाघको आहारा व्यवस्थापनमा धौ धौ परेको छ ।

‘बस्तीमा पुगेपछि बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्नुपर्छ, जनताको जीउधनको रक्षा पनि गर्नुप¥यो’, निकुञ्जका सूचना अधिकारी तिवारीले भने, ‘तर यसरी नियन्त्रणमा लिएका बाघलाई कसरी राख्ने र कसरी आहाराको व्यवस्थापन गर्ने भनेर कतै पनि छलफल भएको वा चासो राखेको पाइदैन ।’

निकुञ्ज ऐनको दफा १५ (२) मा भनिएको छ, ‘कुनै पनि व्यक्ति, संस्था वा स्थानीय तहले टुहुरा, असहाय, समस्याग्रस्त र उद्धार गरिएका वन्यजन्तुहरूको संरक्षण र व्यवस्थापनको लागि वन्यजन्तु उद्धार केन्द्र स्थापना गर्न सक्नेछ ।’ सोही व्यवस्था अनुसार भरतपुर महानगरपालिका समेतको सहयोगमा देवनगरमा केन्द्र त बनाइएको छ तर, त्यसलाई कसरी सञ्चालन गर्ने भन्ने अन्यौल छ ।

सन् २०२२ मा सार्वजनिक सर्भेक्षणमा नेपालमा बाघको संख्या ३५५ थियो । सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा, पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ रहेको सर्भेक्षणमा देखिएको थियो ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?