+
+

गोरखा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ समस्याग्रस्त घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते २२:२१

६ असार, काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले ललितपुरको गोरखा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको छ ।

सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले संस्थालाई समस्याग्रत घोषणा गरेको हो ।

मन्त्रालयले सहकारी ऐनको दफा १०४ अनुसार समस्याग्रस्त घोषणा गरी सम्पत्ति तथा दायित्व राफसापको लागि सोही ऐनको दफा १०५ अनुसार गठन भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाएको छ ।

तत्कालीन गोरखा डेभलपमेन्ट बैंक घोटालमा संलग्न डम्बरबहादुर बम्जन तामाङ (डीबी) र उनका दाजु तेजबहादुर तामाङ सहित सञ्चालक र पूर्वसञ्चालकले आफ्न्त र विभिन्न व्यक्तिका नाममा लिएको ऋण वर्षाैंदेखि भुक्तानी नगर्दा सहकारीमा समस्या देखिएको थियो ।

बम्जन र उनीसँगै संस्थाको कार्यकारी भूमिकामा रहेका करिब डेढ दर्जन व्यक्तिले हालीमुहाली गर्दा बचत र सेयरसहित सर्वसाधारणको साढे ४ अर्ब अपचलन भएको थियो ।

डीबी र उनका दाइ तेजबहादुरले लिएको १ अर्ब ३२ करोड ५३ लाख रुपैयाँभन्दा बढी ऋण नतिरेको स्रोतको दाबी छ । बम्जन सहकारीका संस्थापक हुन् भने इच्छाराजपछि लामो समयसम्म बम्जनकै नेतृत्वमा सहकारी सञ्चालन भएको थियो ।

सहकारीमा सेयर सदस्यसमेत नरहेका तेजबहादुरले २०६७ सालमा विभिन्न शीर्षकमा लिएको ऋणको साँवा तथा ब्याज र जरिवानासमेत २०८० चैत मसान्तमा आउँदा ७६ करोड ९७ लाख ७९ हजार पुगेको स्रोतको दाबी छ । तेजबहादुर शिवशिखर बहुउद्देश्यीय सहकारीका सचिव हुन् । उनीविरुद्ध उक्त सहकारी ठगीमा पक्राउ पुर्जी जारी भए पनि फरार छन् ।

सहकारीका तत्कालीन अध्यक्ष डीबीले नै उनका दाजु तेजबहादुरको नाममा कर्जा दिएर दुरुपयोग भएको हो । यस्तै डीबी आफैंले लिएको ऋणको साँवा तथा ब्याज जरिवानासमेत ५५ करोड ५५ लाख ३७ हजार पुगेको छ ।

डीबीकी श्रीमती कुमारी तामाङले लिएको ३ करोड ६ लाख ५३ हजार ऋण भुक्तानी नभएको पाइएको छ । संस्थाबाट विभिन्न कित्ताका जग्गा धितो राखी लिएको कर्जा नतिरेपछि जग्गा लिलाम बिक्री गर्दा ऋणको साँवा–ब्याज भुक्तानी गर्न २ करोड ५६ लाख ३९ हजार ७ सय ५० रुपैयाँ असुल हुन नसकेको सहकारी स्रोतले जनाएको छ । सोही रकमलाई पुन: ऋणमा देखाइएको र उक्त ऋणको साँवा–ब्याजसमेत ३ करोड ६ लाख ५३ हजार पुगेको हो ।

१४ वर्षदेखि सहकारीबाट लिएको ऋण नतिरेको बम्जन परिवारले उक्त ऋणका लागि गोर्खाज् फाइनान्स (तत्कालीन गोरखा डेभलपमेन्ट बैंक) को सेयर धितो राखेको पाइएको छ ।

सहकारी संकटग्रस्त अवस्थामा पुगेर अनुसन्धान सुरु भएपछि भने सहकारीले धितो राखेको सेयर लिलामीमा निकालेको छ । बम्जन परिवारले सहकारी संस्थाबाट करिब डेढ अर्ब अपचलन गरेको भए पनि धितो बिक्रीबाट भने केही करोडभन्दा असुल हुने अवस्था देखिंदैन ।

संस्थाका वर्तमान र पूर्वपदाधिकारी तथा तिनका आफन्तहरूले ७० प्रतिशतभन्दा धेरै ऋण तिरेका छैनन् । अन्य साधारण सेयर सदस्यले लिएको ऋणको हिस्सा सानो छ । उक्त ऋण उठाउन सकिए पनि वर्तमान र पूर्वपदाधिकारीले ऋण भुक्तानी नगर्दासम्म बचतकर्ताको रकम फिर्ता गर्न सक्ने अवस्था छैन ।

गोरखा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ ब्रिटिस गोर्खा ग्रुपद्वारा प्रवर्धित संस्था रहेको भन्दै सुरुमा प्रचारप्रसार हुँदै आएको थियो । सोही ग्रुपले सञ्चालमा ल्याएको सिभिल सहकारी यसअघि नै समस्याग्रस्त भइसकेको छ ।

ब्रिटिस गोरखा ग्रुपबाट प्रवर्द्धन गरेको भन्दै देशका विभिन्न स्थानमा सहकारी संस्था स्थापना भएर सर्वसाधारणबाट बचत संकलन गरी यसैगरी अपचलन हुँदै आएको थियो । गितेन्द्रबाबु (जीबी) राई संलग्न रहेका कतिपय सहकारीसमेत सोही समूहले स्थापना गरेको हो ।

संस्थामा वास्तविक र डमी रूपमा खडा गरिएका ३० ठूला ऋणीले कुल ऋणको ७० प्रतिशतभन्दा बढी प्रयोग गरेको र कुनै पनि ऋण नियमित छैन । वर्षौंदेखि साँवा मात्रै नभएर ब्याजसमेत भुक्तानी भएको छैन ।

चैत मसान्तमा सहकारीमा करिब साढे ७ हजार सेयर सदस्यको ४ अर्ब २७ करोड ८९ लाख ८६ हजार ५ सय २५ रुपैयाँ बचत दायित्व छ ।

सेयर पुँजी १५ करोड ३ लाख १८ हजार ३ सय र जगेडा कोषमा ९० लाख ४० हजार ९ सय २७ रूपैयाँ छ । उक्त अवधिमा संस्था ३७ करोड ४ लाख ३२ हजार ६ सय रुपैयाँ सञ्चित घाटामा रहेको देखिन्छ ।

उक्त अवधिमा संस्थाको उठ्न बाँकी रहेको कुल ऋण ४ अर्ब ५६ करोड ८५ लाख ४४ हजार ४ सय २० रुपैयाँ छ । यस्तै तिर्नुपर्ने बाह्य ऋण दायित्व १२ करोड २८ लाख १ हजार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?