+
+

बुटवलको डेल्टा मार्टको आगलागीबाट ४० करोड बढी क्षति अनुमान

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते ७:५९

७ असार, बुटवल । बुटवल मिलनचोकको डेल्टा एजसकेसन मार्टमा बिहीबार भएको आगलागी ५ घण्टापछि नियन्त्रणमा आएको छ । साँझ ७ बजेतिर लागेको आगो मध्यरातमा बल्ल नियन्त्रणमा आएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी मनोहर भट्टका अनुसार फलामै फलामबाट बनेको भवनको तेस्रो तलाबाट सुरु भएको आगलागी निभाउन बुटवल उपमहानगरपालिका, गौतमबुद्ध विमानस्थल, रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका १० वटा दमकल प्रयोग गरिएको थियो ।

मार्टको तेस्रो तलामा किताब, कापीसहित स्टेशनरी सामान र खेलकुदका सामान, दोस्रो तलामा कपडा तथा स्कुल कलेजका विद्यार्थीका तयारी ड्रेस र भुईं तलामा नेपाली कम्पनीका जुत्ता र ग्रोसरी सामान थिए । आगलागीबाट सबै तलाका सामान जलेर नष्ट भएका प्रहरीले जनाएको छ ।

१० वटा दमकलसँगै नेपाल प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगलागी अन्यत्र फैलिनबाट राति नै नियन्त्रणमा आएपनि मार्टको भुईं तलाको आगो भने बिहान ७ बजेसम्म दुई वटा दमकलले निभाइरहेका डीएसपी भट्टले बताए । मार्टको आसपासमा घना वस्ती र पेट्रोल पम्प समेत नजिकै भएकाले आगलागी वस्तीमा फैलिने डरले स्थानीयहरु भयभीत भएका थिए ।

मार्टका सञ्चालकले विद्युत सर्किट सर्ट भई आगलागी भएको अनुमान गरेपनि प्रहरीले अहिले नै यही कारणले हो भन्ने पत्ता नलागेको बताएको छ । मार्टका सञ्चालकहरुले करिब ४० करोडको क्षति भएको जानकारी दिए पनि डीएसपी भट्टले भने क्षतिको यकिन अझै नभएको बताए ।

६ वर्ष अघि बुटवलका ठूला निजी र सरकारी विद्यालयका सञ्चालक तथा शिक्षकसमेतको लगानीमा सबैखाले शैक्षिक सामग्रीहरु र विद्यार्थी ड्रेस समेत एउटै ठाउँट बिक्री गर्ने गरी मार्ट सञ्चालनमा आएको थियो ।

विद्यालय सञ्चालक र प्रिन्सिपलहरुकै लगानीमा मार्ट सञ्चालनमा आएपछि सानो लगानीमा चलेका पुस्तक तथा स्टेशनरी व्यवसायी र साना सिलाई व्यवसायीहरु मार्टका कारण विस्थापित हुने अवस्था आएको भन्दै पटक पटक आन्दोलनमा समेत उत्रिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?