+
+

जेठमा आन्तरिक राजस्व विभागको राजस्व संकलन ११ प्रतिशतले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते १०:४२

७ असार, काठमाडौँ । जेठ महिनामा आन्तरिक राजस्व विभागले ४१ अर्ब १९ करोड राजस्व स‌ंकलन गरेको छ । गत वर्ष सोही अवधिको संकलन ३७ अर्ब थियो । जेठ महिनामा विभागले गत वर्षको सोही महिनाको तुलनामा ११.३० प्रतिशत बढी राजस्व संकलन गरेको हो ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आन्तरिक राजस्व विभागले कुल ४ खर्ब ४८ अर्ब राजस्व संकलन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९. ६४ प्रतिशतले बढी हो । गत वर्ष जेठ मसान्तसम्मको राजश्व असुली ४ खर्ब ८ अर्ब थियो । गत वर्षभन्दा चालु आर्थिक वर्षको यो अवधिसम्म ४० अर्बले राजस्व संकलनमा वृद्धि भएको विभागका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए ।

आयकर (भाडा र ब्याजजसमेत) बाट २ खर्ब ३२ अर्ब, मूल्य अभिवृद्धिकर (आन्तरिक) बाट १ खर्ब १२ अर्ब र अन्तशुल्कबाट ९५ अर्ब संकलन भएको छ । महानिर्देशक तिवारीका अनुसार स्वास्थ्य सेवा, शिक्षा र अन्यबाट ८ अर्ब राजस्व उठेको छ । हालसम्म कुल लक्ष्यमा राजस्व असुली ७८.५ प्रतिशत रहेको विभागले जनाएको छ । चालु आर्थिक वर्षको अन्तिम महिना असार अन्तिमसम्म लक्ष्य भेट्ने गरी संकलनमा तीव्रता दिइने तिवारीले बताए ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले राजस्व संकलनमा तीव्रता दिन निर्देशन दिएअनुसार विभाग सक्रिय भएको तिवारीले बताए । गत वर्षको सोही अवधिको तुलनामा राजस्व संकलनमा वृद्धि भए पनि सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको महत्वाकांक्षी लक्ष्य भने भेट्न सकेको छैन ।

राजस्व संकलनमा करदाता कार्यालयहरूमध्येको ठूला करदाता कार्यालयको योगदान करिब ४० प्रतिशत छ । यो कार्यालयले १ खर्ब ७५ अर्ब राजश्व उठाएको छ । ठूला करदाता कार्यालयको लक्ष्य २ खब ३८ अर्ब थियो । वार्षिक एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाताबाट ठूला करदाता कार्यालयले कर उठाउँछ ।

एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाता संख्या ५ सय ४५ छन् । कोरोना महामारीसहित विविध कारणले केही वर्षयता अर्थतन्त्रमा आएको सुस्तताका कारण राजस्व संकलनमा कमी आए पनि चालु आवको पछिल्लो अवधिमा अर्थतन्त्रमा आएको सुधारका कारण राजश्व संकलनमा वृद्धि भएको महानिर्देशक तिवारी बताउँछन् ।

यस्तै अन्त शुल्कमा बढाइएको निगरानी, धितोपत्र बजार र घरजग्गा व्यवसाय कारोबारमा भएको वृद्धि तथा सरकारले पुँजीगत खर्च बढाएका कारण पनि राजश्व संकलनमा सकारात्मक प्रभाव परेको उनले जनाए ।

तत्कालीन अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्ष ०८०/०८१ मा समग्रमा ४३ प्रतिशतको महत्वाकांक्षी राजस्व वृद्धिको लक्ष्य निर्धारण गरेका थिए । कुल लक्ष्यमध्ये कर प्रशासनका प्रमुख दुई निकाय आन्तरिक राजस्व विभाग र भन्सार विभागलाई ५०/५० प्रतिशत लक्ष्य दिइएको हुन्छ ।

लक्ष्यअनुसार राजस्व संकलन नभएपछि मध्यावधि समीक्षामार्फत डा महतले १२ खर्ब २ अर्बको लक्ष्य निर्धारण गरेका थिए । तर, आर्थिक वर्षको अन्तिम महिनासम्म लक्ष्यभन्दा धेरै कम अर्थात १० प्रतिशत हाराहारी मात्र राजस्व संकलन हुन सकेको छ । अपेक्षित रुपमा राजस्व संकलन हुन नसक्दा बाह्य सूचकको तुलनामा मुलुकको अर्थतन्त्रको आन्तरिक सूचकमा सुधार हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?