+
+

आन्दोलनरत लेखा अधिकृतहरूले अर्थमन्त्रीलाई बुझाए ज्ञापन पत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते १३:२२

७ असार, विराटनगर । प्रदेश निजामती सेवा ऐन, २०७९ संशोधनको मागसहित आन्दोलनमा उत्रिएका कोशी प्रदेशका लेखा अधिकृतहरूले आर्थिक मालिा तथा योजनामन्त्री रामबहादुर मगरलाई ज्ञापन पत्र बुझाएका छन् ।

आन्दोलनका क्रममा उनीहरूले शुक्रबार मन्त्री मगरलाई ज्ञापन पत्र बुझाएका हुन् ।

तह वृद्धिका लागि ऐनले विभेद गरेको भन्दै लेखा अधिकृतहरूले बिहीबारबाट आन्दोलन सुरु गरेपछि सरकारी भुक्तानी रोकिएको छ ।

प्रदेश लेखा समूह कोशी प्रदेशको ज्ञापन पत्र बुझ्दै मन्त्री मगरले कर्मचारीको माग सम्बोधनका लागि सरकार सकारात्मक भएको बताए ।

आन्दोलनमा उत्रिएका कर्मचारीहरूले चौथो तह, छैठौं तह र आठौं तहका कर्मचारीमाथि भएको विभेद अन्त्य गर्न माग गरेका छन् ।

आन्दोलनमा उत्रिएका लेखा अधिकृतहरूका अनुसार संघबाट समायोजन भएका छैठौं तहका अधिकृत बढुवामा छुटेका छन् भने समायोजन ऐन, २०७५ अनुसार नियुक्त भएका स्थानीय तहका कर्मचारी सातौं तहमा बढुवा भएका छन् ।

समायोजन भएर प्रदेशमा आएका सिनियर कर्मचारी छुटेका कारण कर्मचारीहरूले ज्येष्ठता कायम रहने गरी सातौं तहमा बढुवाको माग गरेका छन् ।

‘समायोजन ऐन अन्तर्गत नियुक्त जुनियर अधिकृत सातौं अधिकृत बन्नुभयो, हामी छौठौं नै छौं, ऐनले विभेद गर्‍यो,’ आन्दोलनरत एक अधिकृतले भने, ‘समायोजन भई आएका अधिकृत छैठौं तहका कर्मचारीलाई ज्येष्ठता कायम रहने गरी सातौं तहमा मिलान गर्नुपर्छ, त्यसपछि छैठौं तहबाट सातौं तहका लागि ५० प्रतिशत बढुवाको व्यवस्था गर्नुपर्छ ।’

आठौं तहका अधिकृतलाई नवौं तहमा प्रतिस्पर्धा गर्नका लागि समूह नछुट्याउन पनि उनीहरूले माग गरेका छन् । माथिल्लो तहमा प्रशासन र लेखा समूह समान हुन्छन् । तर प्रदेश ऐनले लेखा समूहलाई छुट्टै राखेका कारण प्रदेश लोकसेवा आयोगले खुलाएको नवौं तहको विज्ञापनमा प्रतिस्पर्धा गर्न नपाइएको उनीहरूको गुनासो छ ।

माथिल्लो तहमा लेखा र प्रशासन समूह समान हुने बताउँदै उनीहरूले नवौं तहमा प्रतिस्पर्धा गर्न दिने वातावरण बनाउनका लागि विज्ञापन तत्काल स्थगन गर्न पनि माग गरेका छन् ।

लोक सेवा आयोगको विज्ञापनमा प्रशासन सेवाको समूह उल्लेख भएको बताउँदै आन्दोलनरत कर्मचारीहरूले सबैलाई प्रतिस्पर्धा गर्न पाउनगरी प्रशासन सेवा मात्रै राख्न माग गरेका छन् ।

माग सम्बोधन नभएपछि आन्दोलनमा उत्रिएका कर्मचारीले राज्यले तत्काल सम्बोधनको प्रक्रिया अघि नबढाए आइतबारबाट सामूहिक बिदा बस्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?