+
+

एक महिनामै १ खर्ब ५० अर्बको वस्तु आयात

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते १७:३८

७ असार, काठमाडौं । नेपालमा एक महिनामा १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ २०८० मा मात्र १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । चालु आवको जेठ महिनासम्म १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

वैशाख मसान्तसम्म १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जेठमा आयात बढे पनि समग्र आयातको तथ्यांक गत वर्षको यसै अवधिको तुलनामा भने घटेको छ । जेठसम्म आयात १.८४ प्रतिशतले कम भएको देखिन्छ । अघिल्लो वर्ष जेठसम्म १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको तथ्यांकले देखाएको छ ।

यस वर्ष निर्यातमा समेत ठूलो उपलब्धि छैन । जेठसम्म १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३.०१ प्रतिशतले कम हो । अघिल्लो वर्ष जेठसम्म १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।

आयात र निर्यात दुवै घट्दा कुल वैदेशिक व्यापार र व्यापार घाटा दुवै खुम्चिएको छ । कुल वैदेशिक व्यापारको आकार १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा १.९५ प्रतिशत कम हो । अघिल्लो वर्ष जेठसम्म १६ खर्ब २४ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

व्यापार घाटा १३ खर्ब १४ अर्ब रुपैयाँमा खुम्चिएको छ । जुन अघिल्लो आवको तुलनामा १.७२ प्रतिशत कम हो । अघिल्लो वर्ष १३ खर्ब ३७ अर्ब रुपैयाँ बराबर व्यापार घाटा थियो । यस वर्ष जेठसम्म वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.२६ प्रतिशत र निर्यातको हिस्सा ८.७४ प्रतिशत रहेको छ ।

११ महिनामा ३ खर्बको पेट्रोलियम पदार्थ आयात

जेठसम्म ३ खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । नेपालको कुल निर्यातले आधा मात्र पेट्रोलियम पआर्थ किन्न समेत नपुग्ने अवस्था देखिन्छ । सवारी साधनको आयातमा ८० अर्ब ५८ करोड विदेशिएको छ । आइरन र स्टीलको आयात १ खर्ब ९७ अर्ब रुपैयाँको भएको छ । यसबीचमा तरकारीजन्य वस्तुको आयात मात्र २६ अर्ब रुपैयाँ बराबरको भएको छ । चिया र कफीको आयात १० अर्ब ४२ करोड रुपैयाँ बराबरको भएको छ ।

मुलुकअनुसार हेर्दा भारतसँग सबैभन्दा धेरै व्यापार भएको देखिन्छ । भारतबाट ९ खर्ब ८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । नेपालबाट भारततर्फ ९४ अर्ब रुपैयाँ बराबरको सामान निर्यात भएको छ । चीनबाट नेपालमा २ खर्ब ७२ अर्ब रुपैयाँको सामान आएको छ । नेपालबाट चीनतर्फ भने मात्र २ अर्ब ४० करोड रुपैयाँको मात्र व्यापार भएको छ ।

११ महिनाको वैदेशिक व्यापारको अवस्था

  • आयात : १४ खर्ब ५३ अर्ब
  • निर्यात : १ खर्ब ३९ अर्ब
  • कुल वैदेशिक व्यापार : १५ खर्ब ९२ अर्ब
  • व्यापार घाटा : १३ खर्ब अर्ब १४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?