+
+

सगरमाथामा मलमूत्र : लगियो थैलो, ल्याइएन फिर्ता

सगरमाथा आधार शिविरभन्दा माथिको भागमा मलमूत्रका थैलो यत्रतत्र छाडेको पाइएको सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पा बताउँछिन् ।

अच्युत पुरी अच्युत पुरी
२०८१ असार ७ गते १९:३५
फाइल तस्वीर

७ असार, काठमाडौं । सगरमाथा आरोही र सहयोगीले मलमूत्र फिर्ता गर्नुपर्ने नियम बने पनि कार्यान्वयन फितलो भएको पाइएको छ । सगरमाथा आरोही संघले स्थलगत अनुगमन गर्दै गरेको अध्ययनबाट यस्तो पाइएको संघकी अध्यक्ष माया शेर्पाले जानकारी दिइन् ।

यस वर्षको आरोहण सिजनमा सगरमाथा आधार शिविरभन्दा माथि मानवीय निकासलाई थैलोमा हाली आफूसँगै आधार शिविरमा फर्काउनु पर्ने नियम बनाइएको थियो ।

तर, आधार शिविरभन्दा माथिको भागमै यस्ता थैलोहरू यत्रतत्र छाडिएको शेर्पाले बताएकी छिन् । उनका अनुसार यस वर्ष संघका संस्थापक महासचिव दिवस पोख्रेलले आधार शिविर र सो भन्दा माथिको अवलोकन गरेका थिए ।

साथै संघका महासचिव शिवबहादुर सापकोटा, केन्द्रीय सदस्य तथा अन्य सदस्यले गरेको अध्ययनले यस्ता गतिविधिबाट सगरमाथा अझ फोहोर बन्दै गएको देखिएको संघले बताएको छ ।

सगरमाथा आधार शिविरमा पर्यटन विभाग, खुम्बु पासाङ ल्हामु गाउँपालिका, सुरक्षाकर्मीसहितको कमान्ड र सरोकारवाला संघसंस्था संलग्न अनुगमन टोली बनाए मात्र सगरमाथा आधार शिविर र सो भन्दा माथिको काम प्रभावकारी हुने समेत संघको अध्ययनको निष्कर्ष छ ।

यसअघि सगरमाथालाई मानव मलमूत्रविहीन बनाउँदै सफा राख्ने उद्देश्यले खुम्बु पासाङ ल्हामु गाउँपालिकाले खुला शौचमा रोक लगाएको थियो ।

आधार शिविर व्यवस्थापन कार्यविधि २०८० बनाएको गाउँपालिकाले आरोहीलाई ‘पुप ब्याग’ वितरण समेत गरेको थियो ।

के–के देखियो अध्ययनमा ?

संघले गरेको अध्ययनमा सगरमाथा आधार शिविरभन्दा माथि हेलिकप्टरको अनियन्त्रित उडान भइरहेको देखिएको छ ।

संघले सगरमाथा आधार शिविरभन्दा माथि हुने उडानमा सरकारले प्रभावकारी अनुगमन गर्नुपर्ने सुझाव दिएको छ । हेलिकप्टर कसरी र किन उडे भन्ने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुगमन बढाउनु पर्ने समेत संघको सुझाव छ ।

सगरमाथा क्षेत्रमा हेटिकप्टरको प्रयोगबाट झुटो उद्दार भइरहेको तर्फ समेत संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

उद्दारमा प्रयोग भएका हेलिकप्टरको आवश्यक बिल तथा भरपाइ नेपाल सरकार र सरोकारवाला निकायले निरीक्षण गर्नुपर्ने व्यवस्था मिलाउन समेत भनिएको छ ।

संघले हिमाल आरोहणलाई व्यवस्थित गर्न र आरोहणमा कडाइ गर्न समेत भनेको छ । मानवीय दुर्घटना बढ्दै गएको सन्दर्भमा आगामी दिनमा ८ हजार मिटरको हिमाल आरोहण गरेकालाई मात्र सगरमाथा आरोहणको अनुमति दिन समेत संघले सरकारलाई सुझाव दिएको छ ।

यस सिजनमा सगरमाथासहितका हिमालमा ९ जनाको मृत्यु तथा बेपत्ता भएको विवरण पर्यटन विभागले सार्वजनिक गरेको छ ।

सगरमाथा दोस्रो आधार शिविरमा प्रतिआरोही न्यूनतम ८ केजी र सोभन्दा माथि थप ८ केजी फोहोर जम्मा हुने गरेको समेत संघको अध्ययनबाट देखिएको छ । यस्तो फोहोर आरोही र सहयोगीले फिर्ता ल्याउनु पर्छ ।

तर, यस्तो अनुगमन नहुँदा फोहोर थुप्रिरहने समस्या हरेक वर्ष बढ्दै गएको देखिएको छ । हिमाल आरोहणमा गएका आरोहीले त्यस्तो फोहोर ल्याएको आधिकारिक प्रमाण पेस गरेपछि मात्र आरोहण सफल भएको प्रमाणपत्र दिनुपर्ने नियम बनाउन समेत संघले सरकारलाई सुझाव दिएको छ ।

सगरमाथा आरोही संघले सगरमाथा आधार शिविर वा सो भन्दा माथिबाट समाचार पठाउने व्यवस्थालाई कडाइका साथ पालना गर्नुपर्ने सुझाव समेत दिएको छ । समाचार सम्प्रेषण एकद्धार प्रणालीबाट नहुँदा अनावश्यक समाचारले सगरमाथाको गरिमा धमिल बनाइरहेको भन्दै सरोकारवालाको ध्यानाकर्षण समेत गराएको छ ।

यस वर्ष सगरमाथामा मात्र ४३ समूहका ४१९ जनाले आरोहण अनुमति लिएका थिए । यस वर्ष कुल ३० हिमालमा ९९१ जनाले आरोहण अनुमति लिएका थिए । हिमाल आरोहणबाट बसन्त ऋतुमा मात्र सरकारले ६८ करोड रुपैयाँ रोयल्टी संकलन गरेको थियो । जसमध्ये सगरमाथाबाट मात्र ५९ करोड रुपैयाँ संकलन भएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?