+
+

नेपाल-अमेरिका फिल्म फेस्टिभल सुरू

अख्तर भन्छिन्– नेपाललाई अमेरिकाले मुख्य प्राथमिकतामा राखेको छ

विष्णु शर्मा विष्णु शर्मा
२०८१ असार ७ गते १९:३९

७ असार, मेरिल्याण्ड (अमेरिका) । नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ७औं संस्करण सुरु भएको छ । नेपाली डायस्पोराको बाक्लो बसोबास रहेको उक्त राज्यमा ४ दिने महोत्सव सुरू भएको हो ।

एएफआई सिल्भर थिएटर हलमा नवीन सुब्बा निर्देशित नेपाली कथानक ‘गाउँ आएको बाटो’ स्क्रिनिङसँगै सुरू महोत्सवको औपचारिक सुरुवात भयो । नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन अख्तरले महोत्सव उद्घाटन गरिन् ।

अमेरिकी विदेश मन्त्रालयमा सुरक्षा र अन्तरराष्ट्रिय मामिला कार्यालय समेत हेर्ने अख्तर धेरै पटक नेपाल आइपुगेकी छन् । सिनेमाले छरिएका विविधता र अन्तरसंस्कृतिक विश्वलाई जोड्न सक्ने बताउँदै अख्तरले एकअर्काको दृष्टिकोणलाई सम्मान गर्न सक्ने बताइन् ।

‘गाउँ आएको बाटो’ फिल्मले युनिभर्सल कथा बोकेको र एकअर्काको संस्कृतिलाई जोड्ने बताउँदै उनले अमेरिकी विदेश मन्त्रालयले यसतर्फ काम गरिरहेको बताइन् । समावेशी र खुला समाज निर्माणतर्फ फिल्ममेकरले योगदान दिने बताउँदै उनले यसका लागि अमेरिकाले सरकारमात्र नभएर फिल्म निर्मातासँग पनि सहकार्य गर्ने बताइन् ।

अमेरिकाले नेपालसँगको सम्बन्धलाई मुख्य प्राथमिकतामा राखेको बताउँदै अख्तरले नेपालसँगको ७७औं कूटनीतिक वर्षगाँठको सम्बन्धलाई मनाउन पाउँदा आफूहरुले गर्व महसूस गरिरहेको उनको भनाइ छ ।

अमेरिकाले नेपालको आर्थिक वृद्धि र विकास, मानवअधिकार र लोकतन्त्र प्रवद्र्धन तथा दुई मुलुकका नागरिकबीच बलियो सम्बन्ध हेर्न खोजेको उनको भनाइ छ । ‘यी तत्व दुई मुलुकको सम्बन्धका बलिया स्तम्भ हुन्’ अख्तरले भनिन् । नेपाली डायस्पोराका राजनीतिज्ञ, फिल्ममेकर, फेसन डिजाइनरले नेपाली समाजमा वास्तविक प्रभाव पार्न सकेको उनले बताइन् ।

फिल्म हेरिसकेपछि अनलाइनखबरसँगको कुराकानीमा अख्तरले नेपाली गाउँको यो कथाले आफ्नो हृदय छोएको बताइन् । ‘वास्तवमै सुन्दर र मर्मस्पर्शी फिल्म छ’ उनले भनिन्, ‘म जति पटक नेपाल जान्छु, उति पटक त्यहाँको पहाड र मान्छे मनपर्छन् ।’

अभिनेता राईले नेपाल अमेरिका फिल्म फेस्टिभलले अमेरिकामा नेपाली फिल्मको प्रवर्द्धनमा महत्वपूर्ण भूमिको खेलेको बताए । मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले पछिल्लो समय अमेरिकामा दक्षिण एसियाली समुदायको बलियो उपस्थिती रहेको बताउँदै यस्ता फेस्टिभलले महत्वपूर्ण भूमिका खेलेको बताए ।

फिल्म स्क्रिनिङपछि निर्देशक सुब्बा र अभिनेता राईले दर्शकसँग प्रश्नोत्तर गरेका थिए । उनीहरुले फिल्म निर्माणको अनुभव सुनाउँदै दर्शकको जिज्ञासा शान्त पार्ने प्रयास गरे ।

समारोहमा राई समुदायले साकेला प्रस्तुति समेत दिए । फेस्टिभल समापन फिल्मको रुपमा ‘द रेड सुटकेस’ स्क्रिनिङ हुनेछ । भेनिस फिल्म फेस्टिभलमा विश्व प्रिमियर भैसकेको यो फिल्मलाई फिडेल देवकोटाले निर्देशन र रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् ।

मेरिल्याण्ड राज्यमा जुन २० देखि २३ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरि ३५ फिल्म स्क्रिनिङ हुनेछन् ।

४ दिनसम्म चल्ने महोत्सवलाई नेपाल अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको हो । एएफआई सिल्भर थिएटर र ग्रीनबेल्ट थिएटरमा फिल्म प्रदर्शन र छलफल कार्यक्रम हुनेछन् । महोत्सवमा सहभागि हुन नेपाल, जर्मनीसहित मुलुकका फिल्ममेकर भेला भएका छन् ।

अमेरिकी डायस्पोराका कलाकार, व्यवसायी र नेपाली समुदायको पनि उद्घाटन समारोहमा बाक्लो उपस्थिती देखियो । फेस्टिभल आयोजक प्रमुख पूर्णसिंह बराइलीले महोत्सवलाई भव्य र प्रभावकारी बनाइएको र दर्शकसँग जोड्न काम भैरहेको बताए ।

महोत्सव अवधिभर फिल्म र संस्कृति, महिला ‘प्यानल’मा छलफल, फिल्म निर्माणबारे मास्टरक्लास पनि संचालन हुने जनाइएको छ । मेरिल्याण्ड राज्यको ‘पाक्र्स तथा योजना आयोग’को सहयोगमा उक्त छलफल हुने जनाइएको छ । सन् २०१७ देखि प्रत्येक वर्ष महोत्सव आयोजना हुँदै आएको छ ।

‘गाउँ आएको बाटो’ शुक्रबारदेखि नै अमेरिकाका ३० भन्दा बढी सहरका हलमा रिलिज भएको छ ।

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?