+
+

चिहानको तारिफ

सुरेश राई सुरेश राई
२०८१ असार ८ गते ६:२०

बूढी !

कुनै चिहान डाँडामा होइन

तैंले नै पसिनाले मलजल गरेको

तँलाई सबैभन्दा मन परेको

घरछेउको टारबारीमा

तेरो यो सुन्दर चिहान बनेको छ

 

म,

खोला तर्दा एउटा बगेर

एउटा बाँकी रहेको एक्ले चप्पल

यसपालि बर्खामा

हल छुटेको एक्ले गोरु

जोडी टुटेको बूढो अभागी ढुकुर

आँसु खसाल्दै र पुछ्दै आज

तेरो चिहान छेउ टुक्रुक्क बसिरहेछु

बाँचुन्जेली तेरो तारिफ गर्न सकिनँ

आज तेरो चिहानको तारिफ गरिरहेछु

 

सिमेन्ट, बालुवा र इँटका पर्खालहरु

संगमरमरका चिल्ला भुइँ र भित्ताहरु

आकाशे नीलो रंग पोतिएको आवरण

हर किनारामा कुँदिएका सुन्दर बुट्टाहरु

तेरो शिर पारेर रोपिएका नौ थरी फूलहरु

तेरो पाउ पारेर झ्याङ्गिरहेका नील काँढाहरु

सबै सबै सुन्दर छन् सबै सबै

 

बटुवाहरु भन्छन्

तेरो यो भव्य महल

पारि डाँडाबाट पनि छर्लङ्गै देखिन्छ रे

पोहोर साल खसेकी

पल्लाघरे साहिंलीको भन्दा फराकिलो,

हावा खेल्ने खुल्ला मैदान

चारै दिशाको आकाश देखिने

खोलानाला र हिमाल देखिने

निःसन्देह मेरी बूढी!

टोल छिमेक र पूरै गाउँभरि

सबै भन्दा सुन्दर छ तेरो चिहान !

 

मलाई याद छ बूढी

हाम्रो बिहेपछि

शनिबारे हाट जानुअघि

तेरो प्यारो सन्दुकबाट

सफा गुन्यू चोली निकालेर लाएपछि

मतिर एक पटक  पुलुक्क हेर्थिस्

राते झारको पात माडेर ओठमा पोतेपछि

अथवा राते झारको गेडी

नङ्ग्रामा दलेपछि

मेरो अघिपछि त्यसैत्यसै परी हिंड्थिस्

अफसोस्!

तेरो सुन्दरतामा कहिल्यै पनि मैले

दुई शब्द बोल्न सकिनँ

 

मलाई याद छ

जब कहाली लाग्दो सुत्केरी व्यथालाई जितेर

जुम्ल्याहा नानीहरुलाई जन्म दिएपछि

सन्तुष्ट सिंहिनी जस्तो

शिर ठाडो पारेर

चहकिला आँखाहरुले

मतिर सगर्व हेरेको थिइस्

जरुर मबाट केही बोलियोस् भन्ने चाहन्थिस्

अफसोस् !

तेरो साहसमा

मेरा ओठहरु खोल्न सकिनँ

 

मलाई यो पनि याद छ बूढी

प्रौढ शिक्षाको कक्षागत परीक्षामा

प्रथम भएको  दिन

तैंले पुरस्कारमा पाएको ‘पेन्सिल र कापी’

मैले देखोस् भनेरै

मेरो सिरानीमाथिको खोपीमा राखिस्

अफसोस् !

तेरो प्रगतिमा कहिल्यै पनि

मेरा बोलीहरु खर्चन सकिनँ

 

मलाई माफ गर बूढिया!

यो पुरुष अहम्‌को

वजनै विनाको पत्थरले थिचिएर

बाँचुन्जेली तेरो तारिफ गर्न सकिनँ

आज तेरो चिहानको तारिफ गरिरहेछु

हो म आज

तेरो चिहानको तारिफ गरिरहेछु !

 

बाम्राङ, खोटाङ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?