+
+

विदेशी रंगशालामा देखिएको डायस्पोराको शक्ति

डायस्पोरा कम्युनिटीलाई पूर्वाग्रहको दोषी चश्माबाट होइन कि काठमाडौंका शासकहरूले उनीहरूको क्षमता, दक्षता र राष्ट्रभावलाई नेपालको हितमा उपयोग गर्न सक्नुपर्छ।

गोविन्दराज केसी गोविन्दराज केसी
२०८१ असार ८ गते १९:५१
अमेरिकामा टी-२० विश्वकप अन्तर्गत नेपालको खेल हेर्न उपस्थित समर्थकहरु ।

जारी विश्वकप क्रिकेटको प्रारम्भिक चरणबाट नै नेपाल बाहिरिइसकेको छ। ब्याटिङ लाइनमा देखिएको केही कमजोरीका बाबजुद उत्कृष्ट बलिङको मद्दतले नेपालले विश्वस्तरीय क्रिकेटमा आफूलाई उभ्याउन सफल भएको छ। दक्षिण अफ्रिका जस्तो महारथीसँग १ रनको झिनो अन्तरले पराजित हुनु र बंगलादेशलाई १०६ रनमै समेट्न सक्नु नै नेपालको लागि यो विश्वकपको सर्वाधिक सफलता हो।

यस खेलको अर्को प्रशंसनीय पाटो भने विश्वको ध्यान आकृष्ट गर्न सफल हुनु हो, जुन बेहद खुशीको पाटो हो। विश्वकपबाट बाहिरिए पनि विदेशी रंगशालामा नेपाली दर्शकहरूको विशाल उपस्थितिले विश्वको मन जितेको छ। क्रिकेटले नेपालको नाम विश्वमा अझै बढी स्थापित गर्न मद्दत पुर्‍याएको छ। कमेन्टेटरहरूले समेत माउन्ट एभरेस्टको देश, राइनोको देश भनेर चिनिएको नेपाललाई क्रिकेटको अपार क्रेज रहेको देश भनेर स्थापित गरिदिएका छन्।

जून ४ मा अमेरिकाको डल्लासस्थित ग्रायण्ड प्रेयरी रंगशालामा हजारौं नेपाली दर्शकले कीर्तिपुरको झल्को मेट्ने गरी नेपाली राष्ट्रप्रेम पोखे। अमेरिकाको विभिन्न स्थानदेखि क्यानडा, अष्ट्रेलियासम्मबाट अमेरिका उडेका नेपालीको उपस्थितिले यता स्वदेशमा भने एकैपटक धेरै सन्देश दिन खोजेको भान हुन्छ। नेदरल्याण्डस्‌ले खेल जिते पनि विश्वको मन भने नेपालले जित्यो। त्यो स्तरको क्रेज र समर्पण नेपाली क्रिकेटका लागि आफैंमा विशेष उपलब्धि हो जुन अन्य एसोसिएट राष्ट्रहरूले विरलै प्राप्त गरेका छन्।

कतिपय महत्वपूर्ण खेलहरूमा समेत दर्शकको उल्लेख्य उपलब्धि नदेखिएको जारी विश्वकपबारे अनेकौं बहस चलेका थिए। तर सुन्दर संसार निर्माण गर्न अनेकौं हण्डर ठक्कर खाएर अमेरिका पुगेका नेपालीहरू देशको क्रिकेट टिमको हौसला बढाउन राम्रै डलर खर्चेर रङ्गशाला पुगे।

यस्तो देख्दा हरेक सचेत प्राणीलाई लाग्दो हो नेपाली विचित्र र अजीव छन्। उनीहरूलाई देशप्रतिको माया–मोहमा किञ्चित समस्या छैन। त्यसैले त विश्वले खुलेरै बोल्यो नेपालमा क्रिकेटको विशाल सम्भावना छ।

साँच्चिकै विश्वभरि छरिएर रहेका नेपाली डायस्पोराहरूले काठमाडौंलाई स्पष्ट सन्देश दिएका छन्- देशप्रतिको माया अगाध छ र हामीलाई देशको विकासमा परिचालन गर।

अब क्रिकेटको महासंग्रामलाई डायस्पोराको अर्को आर्थिक पाटोतिर बदल्ने चेष्टा गरौं।

डायस्पोरा भनेको आप्रवासीहरूको विश्वव्यापी समुदाय हो जसले आफ्नो मातृभूमिसँग भावनात्मक सम्बन्ध राख्दछ। त्यस्तै डायस्पोराबारे १८ मे, २०१६ को अन्तर्राष्ट्रिय मुद्राकोषको ब्लगमा पृथा मित्रा लेख्छिन्- डायस्पोराहरूले पनि आफ्नो देशहरूमा व्यापार अवसरहरू र सरकारी बन्धनहरूमा सीधा लगानी गर्छन्। पूँजीमा लगानीलाई समर्थन गर्नुका साथै डायस्पोराहरूले शिक्षा, तालिम र स्वास्थ्य सेवालाई कोष गरेर उत्पादकत्वलाई पनि समर्थन गर्छन्।

मित्राको अनुसार आफ्नो शिक्षा र तालिमको आधारमा, डायस्पोरा नेटवर्कहरूले विभिन्न माध्यमबाट उत्पादकत्व बढाउँदै ज्ञान र विशेषज्ञता प्रदान गर्छन्। त्यस्तै शैक्षिक पाठ्यक्रम र तालिमको डिजाइनमा योगदान दिएर, डायस्पोराहरूले आफ्नो देशमा शिक्षाको गुणस्तर बढाउन मद्दत गर्दछन्। तिनीहरूले प्रत्यक्ष रूपमा कठोर व्यावसायिक विकास र नेतृत्व प्रशिक्षण कार्यक्रमहरू पनि प्रदान गर्न सक्छन्। तिनीहरूको सीप, सम्पर्क, विश्वव्यापी अवसर र स्थानीय चलनहरूमा तिनीहरूको अन्तर्दृष्टिको साथ कसरी ज्ञानको संयोजन गर्दै, डायस्पोराहरूले आफ्नो मातृभूमिमा रहेका व्यवसायहरूलाई अवरोधहरू पार गर्न, दक्षता बढाउन र नयाँ बजारहरूमा विस्तार गर्न मद्दत गर्छन्।

सन् २००० देखि २०२२ सम्म विश्वव्यापी रेमिट्यान्स प्रवाहमा ६५० प्रतिशतभन्दा बढी वृद्धि भई १२८ अर्ब अमेरिकी डलरबाट ८३१ अर्ब अमेरिकी डलर पुगेको संयुक्त राष्ट्रसंघस्थित ‘आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन’ले प्रकाशित गरेको ‘वर्ल्ड माइग्रेसन रिपोर्ट’ले खुलासा गरेको छ।

प्रवासीहरू विदेशमा श्रम मात्र गर्दैनन्। उनीहरूले सीप, कला, क्षमता र दक्षताको समेत विकास गरेका हुन्छन्।

७ मे, २०२४ मा प्रकाशित उक्त प्रतिवेदनले ‘अन्तर्राष्ट्रिय आप्रवासन मानव विकास र आर्थिक वृद्धिको मूल संवाहक रहेको ठहर गरेको छ। धेरै विश्लेषकहरूको अनुमान विपरीत कोभिड-१९ का कारण रेमिट्यान्समा उल्लेख्य कमी आउने भविष्यवाणी गरे पनि रेमिट्यान्स प्रवाहमा वृद्धि निरन्तर जारी रहेको उक्त प्रतिवेदनले जनाएको छ।

८३१ अर्ब डलर रेमिट्यान्समध्ये ६४७ अर्ब आप्रवासीहरूले न्यून र मध्यम आय भएका देशहरूबाट पठाएका थिए। त्यस्तो रेमिटेन्सहरूले ती देशहरूको जीडीपीको एक महत्त्वपूर्ण भाग बन्न पुगेको छ।, र विश्वव्यापी रूपमा रेमिटेन्सको यस्तो प्रवाहले अब ती देशहरूमा प्रत्यक्ष वैदेशिक लगानीको हिस्सालाई उछिन्ने अवस्थामा पुगेका छन्।

नेपालमा यस्ता डायस्पोराहरूले पठाएको रेमिट्यान्सको हिस्साले देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याएको छ। वैदेशिक सञ्चितिको मुख्य हिस्सा रेमिट्यान्स नै हो। कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा रेमिट्यान्सको हिस्सा २०२२/२३ को वित्तीय वर्षमा २२.८ प्रतिशत रहेको भर्खरै प्रकाशित आर्थिक सर्वेक्षणले देखाएको छ। २०२१/२२ को वित्तीय वर्षमा यस्तो हिस्सा २०.२ प्रतिशत रहेको थियो।

टाट पल्टिने अवस्थामा पुगेको वैदेशिक मुद्रा सञ्चितिलाई उकासेर झण्डै १३ महिनाको लागि वस्तु तथा सेवा आयात गर्न पर्याप्त हुने मौज्दातको व्यवस्थाको लागि रेमिट्यान्स र डायस्पोराको भूमिका उत्तिकै महत्वपूर्ण छ।

भारतीयहरूले आप्रवासन वा बसाइँसराइलाई राष्ट्रिय हितमा उपयोग गर्न हरसम्भव प्रयत्न गरिरहेका छन्। अमेरिकामा अहिले झण्डै ५० लाख भारतीय रहेको अनुमान गरिन्छ। तर तिनीहरूले भारत र अमेरिका बीचको दुईपक्षीय कूटनीतिक सम्बन्धमा निकै ठूलो भूमिका खेलेका छन् भने रेमिटेन्सको प्रवाहमा समेत उत्तिकै भूमिका रहेको छ।

अमेरिकाको ठूलाठूला बहुराष्ट्रिय कम्पनीदेखि सुरक्षा, कूटनीति, व्यावसायिक र प्राज्ञिक क्षेत्रमा उच्च तहमा रहेर काम गर्नेहरूको ठूलो सूची नै तयार हुन्छ। यद्यपि यो मामलामा नेपालीहरूको पहुँच नभए पनि अर्को पुस्तामा पुग्दा संख्यात्मक र गुणात्मक उपलब्धि हात पार्न सक्छ।

त्यसैले डायस्पोरा कम्युनिटीलाई पूर्वाग्रहको दोषी चश्माबाट होइन कि काठमाडौंका शासकहरूले उनीहरूको क्षमता, दक्षता र राष्ट्रभावलाई नेपालको हितमा उपयोग गर्न सक्नुपर्छ। यसमा कुनै वादको लेपन लगाउन खोजियो भने त्यसले गम्भीर समस्या र शंका पैदा गर्छ।

प्रवासीहरू विदेशमा श्रम मात्र गर्दैनन्। उनीहरूले सीप, कला, क्षमता र दक्षताको समेत विकास गरेका हुन्छन्। हुनत अमेरिका यसै पनि आप्रवासीहरूको देश हो।

५ अक्टोबर, २०२३ को फोर्ब्स पत्रिकामा स्टुआर्ट एण्डरसनका अनुसार- सन् २०२३ मा चिकित्सा, रसायन र भौतिकशास्त्रमा नोबेल पुरस्कार प्राप्त गरेका ६ जना अमेरिकी मध्ये चार जना आप्रवासीको रूपमा अमेरिका आएका थिए। नयाँ अनुसन्धानले देखाउँछ कि आप्रवासीहरूले अमेरिकामा वैज्ञानिक क्षेत्रहरूमा उल्लेखनीय योगदान पुर्‍याएका छन्, विशेष गरी विगत दुई दशकहरूमा।

‘नेशनल फाउन्डेसन फर अमेरिकन पोलिसी’ ले गरेको विश्लेषण अनुसार सन् २००० देखि रसायन, चिकित्सा र भौतिकशास्त्रमा अमेरिकीहरूले जितेका नोबेल पुरस्कारमध्ये ४० प्रतिशत, वा ११२ मध्ये ४५ जना आप्रवासीहरूले पाएका छन्। ‘सन् १९०१ र २०२३ को बीचमा, रसायनशास्त्र, चिकित्सा र भौतिकशास्त्रमा अमेरिकीहरूले जितेका नोबेल पुरस्कारहरूमध्ये ३६ प्रतिशत वा ३१९ मध्ये ११५ आप्रवासीहरूलाई प्रदान गरिएको छ।

डायस्पोराको तागतबारे बुझ्न जारी इजरायल-प्यालेस्टाइन युद्धतिर एक नजर लगाउनु उपयुक्त हुन्छ। जब हमासको प्रतिकारमा इजरायलले गाजामा हवाई हमला सुरु गर्‍यो त्यसको मानवीय हताहती भीमकाय थियो। तर विश्वभरि छरिएका प्यालेस्टिनीहरूले जब इजरायली आक्रमणको निशानामा परेका सर्वसाधारणको जीवन रक्षाको लागि विश्वव्यापी प्रदर्शन गरे जन्मभूमि प्रतिको आस्था र अति संवेदनशील समयमा विश्वव्यापी समर्थन जुटाउन त्यसले गर्ने सहयोगलाई स्पष्ट पार्छ।

लण्डनमा झण्डै ५ लाख मानिसहरूले युद्धको विरुद्ध र प्यालेस्टाइनको पक्षमा ऐक्यबद्धता जाहेर गरे। अमेरिकामा पनि लाखौंको संख्यामा प्रदर्शन गरिएको थियो। अझ महत्वपूर्ण पाटो अमेरिकाका मुख्यः विश्वविद्यालयहरूमा गरिएको प्रदर्शन स्मरणयोग्य छ।

चीन र भारतको चेपुवामा रहेको नेपाल पनि भूराजनीतिक कोणबाट संवेदनशील स्थानमा रहेको छ। महाशक्तिको धुन बजाइरहेका दुवै छिमेकीहरूले आफ्नो आन्तरिक स्वार्थ र सुरक्षालाई केन्द्रमा राख्ने हुँदा नेपालमा हुने स-साना गतिविधिमा समेत उनीहरू ध्यानकेन्द्रित गरी प्रत्यक्ष वा परोक्ष हस्तक्षेपको नीति अपनाइरहेका छन्।

कथंकदाचित नेपालमाथि हस्तक्षेप गरेको खण्डमा विश्वभरि छरिएर रहेका नेपाली डायस्पोराहरूले प्यालेस्टिनीहरूले जस्तो संसारका कुनाकुनाबाट आवाजहरू बुलन्द गर्न सक्छन्। यसलाई महत्वपूर्ण सम्पत्तिका रूपमा सत्तासीनहरूले बुझ्न जरुरी छ।

१२ कक्षा उत्तीर्ण गरेपछि विदेशिनेहरूको लर्कोले पछिल्ला केही वर्षयता तीव्रता पाएको छ। करोड रुपैयाँसम्म तिरेर तल्लो बाटो अमेरिका जान लालायित पश्चिम नेपालका युवाहरूको लर्कोले आजको नेपालको यथार्थता गजबले चित्रण गरिरहेको छ। छिटोछिटो पैसा कमाउनुपर्छ, पैसा विना यो देशमा अब केही पनि गर्न असम्भव छ भन्ने मनोविज्ञान चौतर्फी व्याप्त छ।

सत्तासीन र राजनीतिक पहुँच भएकाहरूले राज्यस्रोतमा गरेको दोहन र आफूसँग क्षमता हुँदाहुँदै पनि दैनिक निरीह बन्नु परिरहेको कटु यथार्थताले दैनिकजसो युवाको घाँटी रेटिरहेको छ। यस्तो विषम परिस्थितिको सामना र अनावश्यक जोखिम लिएर नेपालमा केही गर्नुभन्दा जेजसरी पनि विदेशिनु उपयुक्त छ भन्ने निष्कर्षमा आजको युवा पुस्ता पुगेको छ। विमानस्थलमा दैनिक हजारौं युवाको बहिर्गमनले यो तर्कलाई पुष्टि गर्न बल पुर्‍याइरहेको छ।

यसले देशका जनताको मनोवैज्ञानिक पक्ष डिप्रेसनमा छ भन्ने देखाउँछ। जुन निकै डरलाग्दो पक्ष हो। यद्यपि देशमा केही पनि विकास नभएको, सबै ध्वस्त भएको, कुनै भविष्य नभएको भन्ने होइन। यो गलत भाष्य हो भनेर लेखकले बारम्बार भनिरहेको छ। केही वर्ष अगाडि १६ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने देशमा अहिले झण्डै ४००० मेगावाट विद्युत् उत्पादन सुरु हुन थालेको छ भने ९५ प्रतिशत बढी नेपालीले बिजुली पाएका छन्।

देश सुरुङ युगमा प्रवेश गरेको छ। मुख्य सडक मार्गहरू चाक्लो बनाउने अभियानले तीव्रता पाएको छ। मोटरबाटो, खानेपानी, इन्टरनेट, स्मार्ट फोन, केबल, टेलिभिजन सेटदेखि सामान्य स्वास्थ्य सेवा र औषधिमूलो गाउँगाउँसम्म पुगेको छ। तर जनताले यसलाई आफैं हुने विकास मानेको छ। तीव्र आर्थिक विकास (एक्स्पोनेन्सियल) र रोजगारीको उपलब्धता विना डिप्रेसनले गाँजेको देशलाई सहजस्थितिमा ल्याउन निकै गाह्रो पर्छ।

अर्थतन्त्रमा डिप्रेसनले गाँजेपछि पुनर्संरचना विना देश तङ्ग्रिन सक्दैन। त्यसको लागि कृषि वा निर्माणमा आधारित अर्थतन्त्रलाई सेवा क्षेत्र वा अन्वेषण र प्रवर्धनमा आधारित उच्च प्रविधियुक्त क्षेत्रमा रूपान्तरण गर्नुपर्छ। त्यस्तै देशका जनताको मनोविज्ञान मन्दीले छोप्दा उकास्ने भनेको तीव्र आर्थिक वृद्धि र स्वदेशमा नै गुणस्तरीय रोजगारीको सृजना हो।

अन्यथा चरम भूमण्डलीकरण (हाइपरग्लोबलाइजेशन) ले गहिरो गरी छोएको नेपाली समाजमा विदेशिने ट्रेण्डलाई पनि सहजतापूर्वक ग्रहण गर्नुपर्छ। यसलाई वैश्विक समस्याभन्दा पनि विश्व अर्थतन्त्रको मुख्य विशेषताको रूपमा लिनुपर्छ।

यसरी देश छोड्ने युवापुस्तको बाढीले त्रिभुवन विमानस्थल ढाके पनि त्यसले देशका शासकलाई कुनै असर गर्दैन। झन् फाइदा पुर्‍याइरहेको हुन्छ। किनकि सरकारप्रति रोष प्रकट गर्ने र आन्दोलन गर्ने समूह नै देशमा नभएपछि निष्फिक्री र निर्लज्ज सत्तासीनहरू देशमा आगो लाग्दा पनि रोमको शासक निरो जस्तो बाँसुरी बजाइरहन्छन्।

नेपालमा रहँदा विभिन्न राजनैतिक दलमा विभाजित भएर सामाजिक सञ्जालदेखि भौतिक हिसाबले भिडन्तमा उत्रने नेपाली युवा अमेरिकी रंगशालामा भने त्यस्ता निकृष्टता सबै थन्काएर क्रिकेट टिमको हौसला बढाउन हजारौं माइल टाढाबाट हजारौं डलर खर्च गरेर आएका थिए।

खेलभन्दा बढी नेपाली दर्शकहरूको उपस्थिति र मनोविज्ञानले विश्वभरका मिडियामा चर्चा पायो। यसले नेपाली क्रिकेटको क्रेज र गरिमा मात्र बढाएन नेपालीहरूको देशप्रेमलाई पनि विश्वसामु छताछुल्ल पारिदियो। काठमाडौंका शासकहरूले यसलाई कसरी लिन्छन् त्यो छुट्टै कुरा हो, यसलाई देश विकासमा उपयोग गर्न चुक्न हुन्न भन्ने मुख्य सन्देश हो।

साहित्यकार बालकृष्ण समले नाटक ‘मुकुन्द-इन्दिरा’मा देशभक्तिबारे भनेका छन्, ‘देशभक्ति त मर्दैन, चुत्थै देश भए पनि।’ राजनीतिक दल र तिनका नेताहरू चुत्थो हुनसक्छन् तर देश चुत्थो हुन्छ हुँदैन बहसको अर्को पाटो हो। तर अमेरिकामा पोखिएको नेपालीपन वास्तविक देशभक्ति भाव हो। अघिपछि राजनैतिक दल र नेताहरूको पक्षमा आरोप–प्रत्यारोपमा ओर्लने नेपालीहरू त्यसदिन सबै पाटा–पक्षलाई पोको पारेर खेलाडीहरूको मनोबल वृद्धिका लागि रङ्गशालामा उपस्थित भएका थिए।

काठमाडौंबाट १२ हजार किमीभन्दा टाढा रहेको अमेरिकामा टनाटन नेपाली जर्सी लगाएका मानिसहरूको सागरले धेरैलाई अचम्मित पारेको हुनुपर्छ। रोजगारी र श्रमका लागि आएका नेपालीहरूको त्यस्तो समर्पण भावले कसको मन छुँदैन होला र ? नेपालीले विश्वलाई देखाइदिए कि देश गरिब होला तर नेपालीको मन विश्वमा सबैभन्दा उँचो छ।

लेखकको बारेमा
गोविन्दराज केसी

त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरिरहेका लेखक भू-अर्थ राजनीतिमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?