+
+
मुसहर बस्तीको पीडा :

खोला किनारको जग्गा विवादमा मारिए हरिलाल

हरि अधिकारी हरि अधिकारी
२०८१ असार ८ गते १७:३३

७ असार, विराटनगर । सुनसरीको बर्जु गाउँपालिका– १ मा पर्ने झोरा खोला किनारमा रामप्रसाद ऋषिदेवको परिवार बसेको वर्षाैं भयो ।

बर्खामा मात्रै पानी बग्ने खोलाको आसपसाको जग्गा ऐलानी हो, ऐलानी जग्गामा मुसहर समुदायको बस्ती छ । सडकको सुविधा पनि नभएको यो बस्तीलाई एकान्त टोल नाम दिइएको छ ।

यो टोल र आसपासको मुसहर बस्ती २५ जेठयता शोकमा छ । जग्गा विवादमा एक समूहले गाउँका वृद्धको हत्या गरेपछि बस्ती शोकमा डुबेको हो ।

रामप्रसादका अनुसार खोलासँग जोडिएको खाल्डो पुरेर उनले बास, पराल र कर्ची प्रयोग गरेर अस्थायी टहरो बनाएका थिए । उनले टहरा बनाएको जग्गालाई स्थानीय बर्जु–१ कै जागेश्वर यादवले आफ्नो भएको दाबी गरे ।

आफूले वर्षाैंदेखि भोगचलन गरेको जग्गा छाड्न रामप्रसाद तयार भएनन् । २५ जेठ विहान जागेश्वरले १५–१६ जनाको समूह लिएर रामप्रसादले बनाएको घरमा पुगे । माटो पुरेर बासको खाबो र परालको छानो र बासकै कर्चीको टाटी लगाएको छाप्रो भत्काए । रामप्रसादका बुबा आमासहित गाउँलेलाई कुटपिट गरे । उनका अनुसार १५ जेठमा सोही समूहले घरमा आगो लगाउने प्रयास गरेको थियो ।

२५ जेठमा लाठी, खुकुरीसहित जागेश्वरको समूह मुसहर बस्तीमा आएको थियो । रामप्रसादसहित गाउँलेमाथि आक्रमण हुँदै गर्दा छिमेकी ६० वर्षीय हरिलाल ऋषिदेव झगडा नगर भन्दै आइपुगे ।

आक्रोशित भिडलाई बसेर छलफल गर्न आग्रह गर्दा उनीमाथि बासको भाटा प्रहार भयो । झगडा मिलाउन आएका हरिलाललाई आक्रोशित समूहले लखेटी लखेटी कुटे, गम्भीर घाइते अवस्थामा अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भयो ।

‘घर भएको ठाउँ हामीले पुरेको हो, पहिले खाल्डो थियो’, जागेश्वरको समूहले भत्काएको घर देखाउँदै रामप्रसादले भने, ‘खाल्डो पुरेपछि ऐलानी जग्गा मेरो हो भन्दैछन्, तर उनको जग्गाको सीमा खाल्डोसम्म पुग्दैन ।’

रामप्रसादले घर भत्काएको स्थानमा झोरा खोलाको पानी बगिरहेको छ । जागेश्वरको समूहले टहरा भत्काएपछि रामप्रसाद आमाबुबाको घरमा बसिरहेका छन् ।

स्थानीयका अनुसार हरिलाल साधु सन्त हुन् । उनी गाउँमा मागेर छाक टार्थे । हरिलालमाथि आक्रमण हुँदा उनका छोरा भने विराटनगरमा मजदुरी गर्दैथिए । उनी निर्माण मजदुर हुन् । विहान घरबाट आउँदा सकुशल रहेका बुबालाई उनले बाटोमा मृत अवस्थामा भेटे ।

‘काममा हुँदै गर्दा फोन आयो, घर आउदै थिएँ बुबालाई लिएर जादै गरेको गाडी बाटोमा भेटे’, बुबाको अन्तिम संस्कार गरिरहेका छोरा हेमकुमारले भने, ‘बुबा सन्त मान्छे, दिउँसै एकैपटक शव देख्न पर्‍यो ।’

घटनामा स्थानीय ३७ वर्षीय रामप्रसाद ऋषिदेव, ४२ वर्षीय बिनोद ऋषिदेव, ४७ वर्षीय चन्द्रलाल ऋषिदेव, २६ वर्षीया गर्भवती कल्पना ऋषिदेव घाइते भएका छन् ।

उक्त दिनको घटनापछि गाउँमा अहिले त्रास छ । खोलाको डिलमा रहेका अरु घर पनि भत्काइने हो कि भन्ने डर गाउँलेहरुमा छ । अर्काे ठूलो डर त हरिलाललाई कुटी कुटी हत्या गर्नेहरुलाई कारबाही नहुने हो कि भन्ने पनि छ ।

‘तिमीहरुको मुद्दा केही पनि हुँदैन हेर्दै जाउ मान्छे छुटिहाल्छ भन्छन्’, रामप्रसादले भने, ‘माथि बोल्ने मान्छे नहुँदा छुटिहाल्छ र ?’

स्थानीय अगुवा दीपेन्द्र मेहताका अनुसार घटनापछि हरिलालको हत्या आरोपमा १५ जनाविरुद्ध इलाका प्रहरी कार्यालय दुहवीमा किटानी जाहेरी परेको छ । प्रहरीले जागेश्वर र उनकी श्रीमतीलाई पक्राउ गरेको छ । अन्य फरार छन् । ‘प्रहरीले घटनामा संलग्न अरुलाई पक्राउ गरेको छैन, एक खालको राजनीतिक दबाब पनि छ’ उनले भने, ‘आरोपीहरु सम्पन्न र पार्टीमा पहुँच भएकाहरु छन् ।’

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नविनकृष्ण भण्डारीले तीन जनालाई पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेको बताउँछन् । मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि खुल्ने उनले बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?