+

काठमाडौंमा ओलम्पिक डे २०२४ मनाइयो

२०८१ असार  ८ गते १८:२८ २०८१ असार ८ गते १८:२८
काठमाडौंमा ओलम्पिक डे २०२४ मनाइयो

८ असार, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गतको स्पोर्ट्स फर अल कमिसनको आयोजनामा शनिबार नेपालमा अन्तर्राष्ट्रिय ओलम्पिक डे २०२४ मनाइएको छ ।

नेपाली सेनाको लगनखेलस्थित शैनिक शारीरिक तालिम तथा प्रशिक्षक केन्द्रमा रहेको कभर्डहलमा विभिन्न कार्यक्रममको आयोजना गरी ओलम्पिक डे मनाइएको छ ।

त्यस अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालको झण्डा झण्डोत्तोलन गरे । यस्तै ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डा झण्डोत्तोलन गरे । यसैगरी नेपालबाट विभिन्न खेलमा ओलम्पिकमा सहभागिता जनाएका खेलाडीहरुले ओलम्पिक टर्च लिएर कभर्ड हलमा प्रवेश गरेका थिए ।

अन्तर्राष्ट्रिय ओलम्पिक डे हरेक वर्ष जुन २३ मा मनाइँदै आएको छ । नेपालमा भने जुनको पहिलो साता देखि नै विभिन्न कार्यक्रम गरिँदै आएको थियो । जुन ८ मा ओलम्पिक डे को औपचारिक सुरुवात भएको थियो । शनिवार ओलम्पिक डे २०२४ को औपचारिक समापन सहितको कार्यक्रम आयोजना गरिएको हो ।

ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले त्यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरी ओलम्पिक डे मनाइएको उल्लेख गर्दै यसले नेपाली खेलकुदमा भातृत्व बढ्ने बताए ।

ओलम्पिक डे २०२४ को समापनको अवसरमा नेपाल बक्सिङ संघ, नेपाल जुडो संघ, नेपाल फेन्सिङ संघ, नेपाल कराते महासंघ र नेपाल उसु संघद्वारा आ-आफ्नो खेल प्रदर्शन गरिएको थियो ।

यस्तै डिलाइट स्कुल, ब्राइट फ्युचर स्कुल, एभीएम स्ल र नाइटिङ्गल स्कुलका छात्रा छात्राहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

यसैगरी दधिकोटा विद्यालयका विद्यार्थीले बाँसुरी धुन प्रस्तुत गरेका थिए । नेपाली सेनाको ब्याण्डले पनि विभिन्न प्रस्तुती दिएको थियो ।

कार्यक्रममा विश्वकै सर्वोच्च शिखर सगरमाथाको आरोहणमा सबैभन्दा छिटो शिखरमा पुग्ने महिलाको कीर्तिमान राख्न सफल फुन्जो लामालाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाकले ओलम्पिक डे २०२४ को अवसर पठाएको सन्देश नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष ज्योती राणाले वाचन गरेकी थिइन् ।

कार्यक्रममा स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक डेको महत्वबारे प्रकाश पार्दै यसको विविध पक्षका बारेमा आफ्नो धारणा राखेका थिए । ‘ओलम्पिक डे एक दिनको कार्यक्रम भएपनि हामीले यो महिनाको सुरुवातदेखि नै विभिन्न कार्यक्रमहरु गर्दै ओलम्पिक डे मनाउँदै आएका थियौँ । यस पटक पनि देशैभर सातवटै प्रदेश, राष्ट्रिय खेल संघ संस्थाहरु, विभागीय टोली प्रिस्कुलहरुसँग सहकार्य गरेर ओलम्पिक डेको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्‍यौँ,’ अध्यक्ष विष्ठुगोपाल श्रेष्ठले भने, ‘मलाई एकदमै खुशी लागेको छ कि हामीले विभिन्न क्षेत्रका व्यक्तिहरुसँग यस कार्यक्रम गर्दा ओलम्पिकको विविध पक्षबारे जानकारी गराउने अवसर पायौँ ।’

श्रेष्ठले स्कुलमा पढ्ने विद्यार्थीहरुलाई सानै देखि सही मार्गमा डोर्‍याउन र खेलकुदको बारेमा जानकारी गराउन यस किसिमको कार्यक्रम गरिएको बताए । शिक्षा र खेलकुद क्षत्रेको सही तालमेल मिलाउन र स्कुलदेखि नै साना बालबालिकालाई खेलकुदको विविध पक्षमा बुझाउनका लागि यस खालको कार्यक्रम आयोजना गरिएको कमिसनले जनाएको छ ।

ओलम्पिक डे को अवसरमा ओलम्पिक कमिटीका पदाधिकारीहरु, ओलम्पियनहरु लगायत विभिन्न खेल संघका पदाधिकारीहरु खेलाडीहरुको उपस्थिती थियो ।

नेपालमा सन् २०११ देखि प्रत्येक वर्ष ओलम्पिक डे मनाउँदै आएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको स्थापना भएको दिन २३ जुनको अवसर पारेर नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरेर ओलम्पिक डे मनाइन्छ ।

‌ओलम्पिक डे खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय