+
+

सूचना प्रविधि क्षेत्रको १० वर्षे गुरुयोजना बनाउछौं : मन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ८ गते १८:३९

८ असार, धनगढी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन सूचना प्रविधि दशक अभियान सञ्चालन गर्ने बताएकी छन् ।

सरकारले कार्यदल गठन गरी सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन दश वर्षे गुरुयोजना निर्माणको गृहकार्यमा अघि बढेको समेत बताइन् ।

प्रेस सेन्टर कैलालीले शनिबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले सूचना प्रविधि दशक अभियानले निजी क्षेत्र उत्साहित भएको बताउदै सूचना प्रविधिलाई व्यवस्थित बनाउन सकिने विश्वास व्यक्त गरिन् ।

सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सकेमा अर्बौं राजश्व भित्र्याउन सकिने पनि उनको भनाइ छ । अहिले मिडिया काउन्सिल ऐन संसदमा रहेको बताउदै मन्त्री शर्माले सामाजिक सञ्जालसम्बन्धी विधेयक, आमसञ्चार विधेयक दर्ता प्रक्रियामा रहेको जानकारी दिएकी छन् ।

साथै दूरसञ्चार ऐनको मस्यौदा तयार भएको पनि उनले बताइन् । प्रचण्ड नेतृत्वको वर्तमान सरकारले सुशासन, समृद्धि, सामाजिक न्यायका पक्षमा काम गरिरहेको दाबी मन्त्री शर्माले गरिन् ।

ललिता निवास प्रकरण, भुटानी शरणार्थी, सुन काण्ड जस्ता प्रकरणमा सरकारले काम गरेर संलग्न जोसुकै पनि सजायँको भागीदार हुन्छ भन्ने स्थापित गरिदिएको उनको भनाइ छ ।

फरक प्रसंगमा बोल्दै मन्त्री शर्माले बाहिर चर्चा चलेजस्तो वर्तमान गठबन्धनमा कुनै समस्या र विकल्पको खोजी नभएको दाबी गरिन् ।

कतिपयले कांग्रेस-माओवादीकै पुरानो गठबन्धन ब्यूँतिने आशंका गरिरहेका बेला शर्माले मुद्दा विशेषमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुमा मतभिन्नता देखिनुलाई अन्यथा लिन नहुने र अहिलेको सहकार्य लामो समय चल्ने बताएकी छन् ।

प्रधानमन्त्रीले सत्ता साझेदार दल नागरिक उन्मुक्ति र जनमत पार्टीलाई समेत सरकारमा सहभागी गराउने उल्लेख गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?