+
+
राजेन्द्र महतोसँग वार्ता :

‘सत्ताले फुटायो, मधेशी नेताले फुटेर सघायौं’

यहाँको संविधान बहुल राष्ट्रिय राज्य स्थापनाहेतु आन्दोलन हुनुपर्छ । यही हो विचार, जसले हिमाल, पहाड, तराई सबैतिर बस्ने बीच एकता गराउँदै संविधान सबैका लागि हुनुपर्छ । जुन नेपालको चरित्र हो, त्यही संविधानमा देखियोस् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते ७:००

९ असार, काठमाडौं । गजेन्द्रनारायण सिंहको प्रेरणाले सद्भावना पार्टीबाट राजनीति थालेका राजेन्द्र महतोबारे सर्वसाधारण बीच विभिन्न किसिमका छवि बनेका छन् ।

एकथरी उनलाई ३५ वर्षयता निरन्तर सक्रिय मधेशी राजनीतिकर्मी मान्छन्, अर्काथरी उत्तेजक अभिव्यक्ति दिने क्षेत्रीय नेता । मधेशीको पहुँच, प्रतिनिधित्वका लागि निरन्तर खटिइराख्ने महतोको इमेज त छँदैछ, उनलाई सत्तास्वार्थमा डुबेर सामुदायिक मुद्दा कमजोर पार्ने नेता मान्ने पनि उत्तिकै छन् ।

महतो कि त सडकमा हुन्छन्, कि सत्तामा । पछिल्ला तीन दशकमा उनी निष्क्रिय बसेको रेकर्ड छैन । अचेल राष्ट्रिय मुक्ति क्रान्तिको नाममा नयाँ राजनीतिक आन्दोलनको आह्वान गर्दै हिंडेका तिनै महतोले असार पहिलो साता सर्लाहीमा मधेशी पहाडी एकता सभामा सम्बोधन गरे । राष्ट्रिय मुक्ति क्रान्तिको चुरे शिवालिक ब्युरो र मधेश ब्युरोले संयुक्त रूपमा उक्त सभा आयोजना गरेको थियो ।

महतोको पृष्ठभूमिबारे विगतमा पहाडी समुदायका कतिपय नेताले मात्रै होइन, स्वयं मधेशकै अर्का नेता उपेन्द्र यादव समेतले प्रश्न उठाएका छन् । तीसको दशकमा विद्यार्थी भएर सर्लाहीबाट काठमाडौं आउँदादेखि हालसम्म महतोले बेहोरेको जीवन र अनुभव भर्खरै ‘अधुरा क्रान्ति : संघर्ष मातृभूमिका लागि’ किताबका रूपमा सार्वजनिक भएको छ ।

यो ‘अधुरा क्रान्ति : संघर्ष मातृभूमिका लागि’ पुस्तकमा महतोले आफ्नो पारिवारिक पृष्ठभूमि, राजनीतिमा आउनुपर्नाको कारण, विभिन्न समयमा उठबस गरेका नेता र प्रवृत्तिहरूको बारेमा लेखेका छन् । तीनवटै मधेश आन्दोलनको बेलीविस्तार छ । नेतृत्वमा भएका चुकहरूबारे कठोर आत्मसमीक्षा नगरे पनि कमजोरी औंल्याएका छन् । अनि अब मधेश भनेर मात्रै नपुग्ने, बरु समग्र पहाड मधेश जोडेर नयाँ राजनीतिक धार सिर्जना गर्नुपर्ने उनको तर्क छ ।

अनलाइनखबरका लागि बसन्त बस्नेतसँग कुराकानी गर्ने क्रममा महतो आफ्नो पुस्तकले उठाएका सन्दर्भहरूबारे कतै खुलस्त त कतै प्रतिरक्षात्मक बने । उनीसँगको भिडियो वार्तामा उल्लेख प्रमुख सन्दर्भहरू यहाँ प्रस्तुत छन् :

तपाईंले ‘अधुरा क्रान्ति : संघर्ष मातृभूमिका लागि’ किताब किन र कसरी लेख्नुभयो ?

सात वर्ष पहिले मेरो दिमागमा किताब लेख्ने कुरा आएको थियो । संविधानसँग असहमति राख्दै तेस्रो मधेश आन्दोलन भएको थियो । त्यो आन्दोलन सकिएपछि मैले काठमाडौं आएर सोचें, आगामी पुस्ताका लागि एउटा किताब लेख्नुपर्छ । अहिले २०–२५ वर्षमा रहेका युवाहरूलाई आजभन्दा ३० वर्षअघि के थियो भन्ने थाहा हुनुपर्छ । मेरो जीवन त यसै गयो । त्यसैले ३५ वर्षको राजनीतिक जीवनबारे लेख्ने विचार गरें ।

तपाईंको किताब पढ्दा थाहा हुन्छ, सुरुमा परैबाट सहयोग गर्ने सोच रहेछ, तर राजनीतिको केन्द्रमै आइपुग्नुभयो, होइन ?

सुरुमा राजनीतिमा लाग्ने सोच थिएन । मैले २०३६ सालमा जनप्रशासनबाट स्नातक गरें । वकिल, न्यायाधीश बनौं भन्ने थियो । पछि कर्मचारी बन्ने सोच पनि पलाएको थियो । विद्यार्थी जीवनमा मधेशी भएकाले भोगेका विभेदका कारण ममा केही गर्नुपर्छ भन्ने थियो । यी सबै कहानीहरू किताबमा लेखेको छु । राज्यबाट भएका उत्पीडन, शोषण, भेदभावबाट पीडितमध्ये एक जनता म पनि भएकाले मेरा त्यसै किसिमका अनुभव थिए । लोकतन्त्र थिएन । निरंकुश व्यवस्थामा राजनीति गर्छु भनेर चिताउने कुरा भएन । बीपी कोइरालाका कुरा सुन्न चाबहिल जान्थ्यौं । पुतलीसडकमा रामराजाप्रसाद सिंहका कुरा सुनिन्थ्यो । शनिबार छुट्टीमा भएका बेला तराई हाउसमा गएर गजेन्द्रनारायण सिंहसँग भेट्थ्यौं ।

कसका कुराले बढी छुन्थ्यो ?

लोकतन्त्रका कुरा गर्ने भएकाले बीपीकै कुराले बढी छुन्थ्यो । उहाँ मधेशको हकअधिकार पाउनका लागि पनि लोकतन्त्र चाहिन्छ भन्नुहुन्थ्यो । रामराजा आर्थिक समानताको चिन्तन बढी गर्नुहुन्थ्यो । लोकतन्त्र आएपछि आ–आफ्ना अधिकारका लागि लड्न पाइन्छ भन्ने बीपीको कुरामा हामी दम देख्थ्यौं ।

गजेन्द्रबाबु (गजेन्द्रनारायण सिंह) चाहिं आत्म स्वाभिमान, पहिचान, अधिकारको कुरा गर्नलाई पनि लोकतन्त्र चाहिन्छ भन्नुहुन्थ्यो । त्यस बेला हाम्रा आफ्नै खाले समस्या थिए । जस्तो कि नागरिकता । नागरिकता लिनलाई दशवटा झमेला गर्ने शासकीय मानसिकता थियो । मधेशी अनुहार देख्नेबित्तिकै भारतीय जस्तो व्यवहार गर्ने भइरहेको थियो । २०४० सालमा डा. हर्क गुरुङको बसाइँसराइ प्रतिवेदन आएपछि मधेश तरंगित भयो । त्यसलाई जलाउने र बहस गर्ने क्रमसँगै हक–अधिकारको कुरा उठ्यो ।

गजेन्द्रबाबुले मनका कुरा उठाइराख्नुभएको थियो । त्यसपछि हामी गजेन्द्रबाबुका कुरा सुन्न डिल्लीबजार जान थाल्यौं । पछि बानेश्वर सर्नुभयो । मेरो डेराबाट नजिकै हुनुभएकाले झन् बढी कुराकानी हुन थाल्यो । यसरी म राजनीतिको नजिकमा आएँ ।

तपाईंहरूले त्यस बेलादेखि भनेको संघीयता आयो होइन त ? स्थानीय सरकार यति बलिया भए । केन्द्रमा सत्ता साझेदारी, अनि स्थानीय तहमा आफ्नै नेतृत्व । कस्तो भइरहेको छ यो परिवर्तनको अनुभव ?

अधुरा क्रान्ति पुस्तक लेख्नुको कारण यो पनि हो । देशका समस्याको समाधान जुन लक्ष्य सहित गर्ने भनिएको थियो, त्यो लक्ष्य प्राप्ति नै भएन । अधुरो नै रह्यो । आन्दोलनबाट प्राप्त गरेको उपलब्धि अधुरो छ । संघीयताबारे गजेन्द्रबाबु जब भन्नुहुन्थ्यो : यो देश विभाजनको कुरा पो हो कि ! तर उहाँ भन्नुहुन्थ्यो, जो हामीमाथि अहिले आरोप लगाइँदैछ गलत हो । आफ्नो शासन–प्रशासन, सरकार, पहुँच हुनुपर्‍यो । केन्द्रीय शासनको विकल्प हुनुपर्छ । पछि माओवादीले पनि उहाँले भनेको जस्तो कुराहरू नै उठायो । अहिले मधेशले मात्रै होइन, पूरै देशले गजेन्द्रबाबुले भनेको जस्तो संघीयता पाइरहेको छैन ।

केन्द्रीय सरकारले चारवटा काम अर्थात् राष्ट्रिय सुरक्षा, सीमारक्षा गर्छ । मुद्रा छाप्छ । अन्तर्राष्ट्रिय सम्बन्ध राख्छ । राष्ट्रिय गौरवका केन्द्रीय योजना चलाउँछ । बाँकी सबै काम प्रान्तीय सरकारलाई दिनुपर्छ । यो गजेन्द्रबाबुले भन्नुभएको थियो । यस्तो संघीयता भएपछि मात्रै आफ्नो शासन प्रशासन हुन्छ भन्नुहुन्थ्यो । काठमाडौंमा सबैथोक केन्द्रित गर्दा हाम्रो पहुँच हुँदैन, तर प्रान्तीय हुनेबित्तिकै पहुँच र सन्तोष हुन्छ । आज देशले पाएको संघीयता उहाँले भनेको जस्तो होइन ।

तर नेपालमा जुन रक्तपात बेगर संघीयता कार्यान्वयनमा गयौं, यो उपलब्धि होइन ?

तपाईंले भनेको एक किसिमले सही हो । तर माओवादी युद्धदेखि पछिसम्म आउँदा २० हजारजति जनताका छोराछोरी त मारिए । संघीयता, स्वशासनका लागि नै थियो परिवर्तनको आन्दोलन । आज पनि एकल चिन्तनबाटै शासन चलिरहेको छ । औपनिवेशिक चिन्तन छ । कम रक्तपात भयो होला, तर रक्तपात भयो । सयकडौं मधेशीका सन्तानले कुर्बानी दिएका छन् ।

तपाईं पहिला पहाडिया शासकवर्ग भन्दै आक्रामक अभिव्यक्ति दिनुहुन्थ्यो, यो बीचमा मधेशका तपाइँलगायत नेताहरू धेरैपल्ट सत्तामा पुग्नुभयो । पहाडिया भनिएका दल जस्तै तपार्इंहरू पनि पटक–पटक फुट्नुभयो । अब सधैं पहाडलाई मात्रै दोष दिएर पनि भएन होला नि ?

जनतालाई अधिकार दिनु साटो फुटाएर राज गर्ने नीति हुन्छ । अंग्रेजमा भारतीयलाई टुटाएर शासन गर्ने सोच थियो, नेपाल कसैको उपनिवेश नभए पनि औपनिवेशिक चिन्तन, सोच अपनाए । कसैलाई विदेशी भने, कसैलाई मासिन्या मतवाली, कसैलाई कमलरी कमैया, के बनाए के बनाए । यहाँ पनि फुटाए । हामीलाई पनि दलहरू बीच पटक–पटक फुटाए ।

यो देशमा विगतमा धेरैले प्रयास गरे पनि विचारलाई अघि सारेर काम गरिएन । अब विचारलाई प्राथमिकता दिएर हामी राष्ट्रिय मुक्ति क्रान्तिबाट काम गर्छौं ।

तर तपाईंहरूले दल जुटाउनु पनि भयो, फुटाउनु पनि भयो नि ?

हाम्रो शासनसत्तामा बसेकाहरूको फुटाउ र राज गर नीतिलाई हामी मधेशी नेताले समेत आफैंमा फुटेर सहयोग गर्‍यौं । उत्पीडनमा परेका मधेशी र जनजाति एकजुट हुने हो भने यहाँ फुटाउने योजना सफल हुँदैन । पहाडी सत्ताले फुटायो, हामीले पनि फुटेर सहयोग गर्‍यौं । राजपा बनाएका थियौं । जसपा पनि बनायौं । लोसपा बन्यो । यसको विस्तारमा चर्चा यहाँ नगरौं किनभने किताबमा सबै लेखिसकेको छु ।

विगतमा सद्भावना, अनि लोसपा त तपाईंले पनि फुटाउनुभयो नि ?

लोसपाले लक्ष्यप्राप्तिका लागि काम नगरेपछि मैले राष्ट्रिय मुक्ति क्रान्तिको पहल गरें । लोसपामा कुनै लक्ष्य थिएन । अधुरा क्रान्ति त अघि बढाउनै पर्ने थियो । अनि म लोसपाबाट अलग भएको हुँ, मैले पार्टी विभाजन गरेको होइन । अहिले त मधेशी पहाडी एकता सभा गरिरहेको छु ।

महन्थ ठाकुर, उपेन्द्र यादव वा तपाइँहरूको बीचमा स्वीकारोक्तिको किन कमी हो ?

कसैको क्षमतामाथि प्रश्न उठाएको होइन । मेरो अधुरा क्रान्तिमा पनि यसको जवाफ दिइसकेको छु । नागरिकताबारे उपेन्द्रजीले उठाएका विषय पनि राखिसकेको छु किताबमा । लालबन्दीको सभाबाट मैले यसैमा सन्देश दिन खोजेको छु, एकअर्कालाई स्वीकारोक्तिको कमी नहोस् भनेरै । आफ्ना कुरा गर्‍यौं, तर शासक वर्गले देशलाई मधेशी र पहाडी दुई टुक्रामा बाँड्ने प्रयास गर्‍यो नि ! यसरी विभाजन नगरौं भनेर हामीले भनेको हो ।

तर संविधान निर्माणका बेला मधेशका माग सम्बोधन नभए पहाडिया शासक वर्गलाई देखाइदिने, काठमाडौंको दानापानी बन्द गर्ने लगायत उत्तेजनात्मक अभिव्यक्ति त तपाईंले नै दिएको हो नि ?

कतिपयले यसरी भन्छन् । नाकाबन्दीको कुरा यहाँले चर्चा गर्नुभयो । मैले रिपोर्टस् क्लबमा, राज्यले संविधानमा एकलौटी गर्न खोज्यो भने हामी काठमाडौंको दानापानी बन्द गर्छौं भनेको हो । तर राज्यलाई दबाब दिन त्यो भनिएको थियो । त्यसैले यहाँ बुझ्नुपर्छ कि काठमाडौंको दानापानी बन्द गर्ने चेतावनी राज्यलाई थियो, जनतालाई होइन । संसारमा एउटा जनता कहीं अर्को जनतासँग लड्छ र ? त्यो सिंहदरबारलाई चुनौती थियो । राज्यले भाष्य निर्माण गर्‍यो हाम्रो विरुद्धमा ।

आपूर्ति अवरोध गर्नकै लागि नाकामा बसेका थियौं । दबाब सुनेर हाम्रो लागि पनि संविधान बनाइदेओस् पो भनेको हो । केपी ओली जस्ता महान् राष्ट्रवादीले त्यसलाई अर्कै कुरा बनाएर राखे । दीपावली मनाइयो, काठमाडौंमा । त्यसपछि मैले पाँच वर्ष चिन्तन गरेको छु, यस देशलाई एकल राष्ट्रबाट बहुल राष्ट्र कसरी बनाउने ? यो देशमा विगतमा धेरैले प्रयास गरे पनि विचारलाई अघि सारेर काम गरिएन । अब विचारलाई प्राथमिकता दिएर हामी राष्ट्रिय मुक्ति क्रान्तिबाट काम गर्छौं ।

त्यो विचार के हो ?

यो एकल जातीय राष्ट्रिय राज्य हो । त्यसैले यहाँको संविधान बहुल राष्ट्रिय राज्य स्थापनाहेतु आन्दोलन हुनुपर्छ । यही हो विचार, जसले हिमाल, पहाड, तराई सबैतिर बस्ने बीच एकता गराउँदै संविधान सबैका लागि हुनुपर्छ । जुन नेपालको चरित्र हो, त्यही संविधानमा देखियोस् । त्यसैका लागि हामी अघि बढेका छौं । मैले किताबमा पनि उल्लेख गरेको छु ।

फोटो/भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?