+
+

प्रेस युनियन र पत्रकार महासंघबीचको वार्ता काठमाडौंको सदस्यतामा अड्कियो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ९ गते १४:५१
सदस्यताको विवाद समाधान गर्न भन्दै महासंघ अध्यक्ष बिपुल पोखरेललाई २४ घण्टे अल्टिमेटमसहितको ज्ञापनपत्र बुजाउँदै प्रेस युनिनयनका पदाधिकारी।

९ असार, काठमाडौं । नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनको नेतृत्वबीच पत्रकार महासंघको सदस्यताको विवादका बिषयमा जारी वार्ता काठमाडौंको सदस्यतामा आएर अड्किएको छ।

काठमाडौं शाखाले कार्यसमिति बैठकबाट सर्वसम्मत रुपमा निर्णय गरी उपत्यका प्रदेश समितिमा सिफारिस गरेको ३३६ जनाको नयाँ सदस्यतालाई कायम गर्नु पर्ने युनियनले माग गरेको छ ।

काठमाडौं शाखाले आवेदन आएका ६४१ मध्ये ३३६ जनाको नामलाई सचिव महेश्वर गौतमको कार्यदलले अन्तिम रुप दिएको थियो । कार्यदलले अन्तिम रुप दिएको नामावलीलाई ९ भाद्र २०८० मा शाखाको कार्यसमितिबाट सर्वसम्मत रुपमा निर्णय गरि १० भाद्र २०८० मा अध्यक्ष सुर्य सुवेदीले उपत्यका प्रदेश अध्यक्ष सृजन झालाई बुझाएका थिए ।

तर, पछिल्लो समय पत्रकार महासंघको केन्द्रिय निर्वाचन समितिद्वारा सार्वजनिक गरिएको नामावलीमा काठमाडौं शाखाको नयाँ सदस्यता नआएपछि देशको सबैभन्दा ठूलो शाखा काठमाडौंमा निर्वाचन नहुने सम्भावना बढेको छ। यस्तै देशका अन्य शाखाहरुमा पनि सदस्यताकै बिबादका कारण अन्योलताको स्थिति छ।

प्रेस युनियनका कार्यबाहक अध्यक्ष प्रेम केसीले सदस्यता विवाद समाधान नगरे यथास्थितिमा महासंघको निर्वाचन असहज हुने बताए । प्रेस युनियन तोकिएकै मितिमा निर्वाचन गर्न तयार रहेको अवस्थामा सोही अनुसारको वातावरण महासंघ केन्द्रीय नेतृत्वले तयार गर्नु पर्ने केसीको भनाइ छ ।

महासंघ उपत्यका प्रदेशका अध्यक्ष झाले शुद्धीकरण अभियानको मर्मअनुसार नयाँ सदस्यको फाइल माग भएकोमा जिल्ला शाखाले नदिंदा केन्द्रमा नया सदस्यको नामावली पठाउन नसकिएको तर विधि र प्रक्रियाबाट आएका सदस्यता कायम हुनुपर्ने पक्षमा आफू रहेको बताए । झाले महासंघ केन्द्रले चासो राखेको अवस्थामा तत्काल आफू काठमाडौंको नामावली सिफारिस गर्न तयार रहेको बताए ।

प्रेस युनियनले शनिबार मात्रै सदस्यताको विवाद समाधान गर्न भन्दै महासंघ अध्यक्ष बिपुल पोखरेललाई २४ घण्टे अल्टिमेटम दिंदै ज्ञापनपत्र बुझाएको थियो ।

युनियनले जिल्ला र प्रदेशबाट विधि र प्रक्रिया पूरा गरेर आएका सदस्यता कायम गर्न, प्रक्रिया बाहिरबाट थपिएका नाम हटाउन, स्थानान्तरणका नाममा गलत प्रक्रियाबाट आएका नाम हटाउन तथा जिल्ला र प्रदेशले सिफारिस गरेका निर्णयलाई कार्यान्वयन गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?